«

»

सम्पादकीय : असुरक्षित पत्रकार

‘संसारमा केवल दुई शक्ति छन्– तरबार र कलम । अन्तमा सधैं तरबारको हार भई कलमको विजय हुन्छ ।’ नेपोलियन बोनापार्टको यो भनाई नै काफी छ कलमको शक्ति कति हुन्छ भनेर । तर  यो कुरा सवैले जान्दा जान्दै पनि जनताका सूचनाका संवाहक कलमजीवी पत्रकारहरु विश्वमै असुरक्षित छन् । पत्रकारहरुमाथि विश्वमै क्रुर आक्रमण हुने गरेका तथ्य बाहिर आउने गरेका छन् । पछिल्लो एक तथ्याङ्क अनुसार विश्वमा प्रत्येक साता राज्य र गैर राज्य पक्षबाट एकजना पत्रकारको हत्या हुने गरेको सार्वजनिक भएको छ । सन् २०१२ मा मात्रै विश्वमा एक सय ४१ जना पत्रकारको हत्या भएको तथ्याङ्क आएबाट पनि पत्रकारहरु कति असुरक्षित छन् भन्ने बुझ्न कठीन छैन ।  
सूचना तथा समाचार प्रवाह गरेकै कारण पत्रकारहरुमाथि राज्य र गैर राज्यबाट लगातार आक्रमण हुने गरेका
छन् । राज्य र गैर राज्य पक्षले पत्रकारितालाई उपयोग गर्ने दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्तिले जनताको सूचनाको हकमाथि अंकुश लगाउने काम गरेको हुन्छ भने सर्सती हेर्दा पत्रकारिताको र सुक्ष्म हिसाबले भन्नुपर्दा राज्यकै विकासमा अवरोध पु¥याइरहेको हुन्छ । भनिन्छ– स्वतन्त्र पत्रकारिता रहेमात्र लोकतन्त्र जीवित रहन्छ । पत्रकारिताको विकासका लागि पनि लोकतन्त्र अपरिहार्य छ । तर त्यसका लागि देशमा लोकतन्त्र हुनुपर्ने मात्र होइन लोकतान्त्रिक चरित्र हुनु पनि अपरिहार्य हुन्छ । राज्य र गैर राज्य क्षेत्र पनि पत्रकारिताको विकासका लागि प्रतिवद्ध हुनु जरुरी हुन्छ । तर हामीकहाँ त्यस्तो छैन ।

पत्रकारिताको विकासमा सकारात्मक दृष्टिकोण राख्नेहरु अत्यत्नै कम छन् भन्दा अत्युक्ति नहोला ।
भलै आफुले गलत गरेकै किन नहोस् मिडियामा त्यसबारे समाचार आएपछि जो कोही पनि पत्रकारमाथि आक्रामक हुने प्रवृत्ति छ हाम्रो देशमा । समाचार लेखेकै आधारमा पत्रकारले ज्यान गुमाउनु परेको छ, आक्रमण र धम्की सहनुपरेको छ । कतिपय त पेशाबाटै विस्थापित समेत भएका छन् । यस्तो अवस्थामा पत्रकारहरुको पेशागत तथा व्यवसायिक सुरक्षाको विषय गम्भीर बन्दै गएको विश्लेषण गर्न थालिएको छ । झनै त्यसमाथि पत्रकारको हत्या तथा आक्रमणमा संलग्न भएकाहरुलाई कानुनी कठघरामा ल्याई कारवाही गर्न नसक्दा दण्डहीनता मौलाएको छ । नेपालको सन्दर्भमा लोकतन्त्रमै पनि पत्रकारितामाथि राज्यले सकेसम्म अंकुश लगाउन खोज्ने र गैर राज्य पक्ष तथा आपराधिक समूहहरुबाट हुने आक्रमणमा पत्रकारको संरक्षण र न्याय दिन नसक्ने कारणले पत्रकारहरु झन् झन् असुरक्षित बन्दै गएका छन् । पत्रकारहरु असुरक्षित भएर सिङ्गो समाज र लोकतन्त्र सुरक्षित हुन सक्दैन । तसर्थ राज्य र अन्य सवै पक्ष जनताको सूचनाको अधिकार संरक्षण, देशको विकास र लोकतन्त्रकै सुदृढिकरणका लागि पत्रकारहरुको सुरक्षा आवश्यक छ भन्ने महशुश गरि यस विषयमा गम्भीर बन्नु अति आवश्यक छ । आफै जलेर अरुलाई उज्यालो छर्ने मैनरुपी कलमजीविहरुलाई सिध्याएर आफु सुरक्षित हुन्छु भन्ने सपना कसैले नदेख्दा हुन्छ ।