«

»

सम्पादकीय ः बन्दप्रति जनआक्रोशको सन्देश

एकीकृत नेकपा (माओवादी)ले शनिवार अकस्मात चितवन, गोर्खा र राजधानी बन्द गरेपछि सर्वसाधारणमा स्वभाविक आक्रोश उत्पन्न भयो । सर्वसाधारणको त्यो आक्रोश सडकमै
पोखियो । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा प्रहरीले शुक्रवार एमाओवादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेपछि एकीकृत माओवादीले रातारात बन्द घोषणा ग¥यो । देशमा बन्दको छुट्टै क्यालेण्डर  बनाउनुपर्ने गरि ‘बन्द संस्कृति’ मौलाएको छ । आम नागरिकमा कतै जानुप¥यो भने बन्द छ कि छैन भनेर बुझेर हिंड्ने बानीको विकास नै भइसकेको छ । यो बिडम्बनाका बीच फुजेल घटनाको अभियोगमा रामप्रसाद पक्राउ परेको बिरोधमा एमाओवादीले शुक्रवार रातारात बन्द घोषणा ग¥यो । तीजको एउटा महत्वपूर्ण दिन ‘दरखाने’ दिनमा गरिएको बन्दप्रति सर्वसाधारणले सडकमै ओर्लिएर जनाएको बिरोध र आक्रोशले एमाओवादीलाई बन्द निल्नु न ओकल्नुको अवस्थामा पु¥यायो ।

दरखाने दिन अधिकांश चेलीहरु माइत जाने गर्दछन् । अघिल्लो राति सम्म भोलिपल्ट बन्द रहेको भन्ने खबर सुन्न नपरेपछि एका बिहानै रमाउँदै माइत हिंडेका र आफ्नो गन्तव्यतर्फ हिंडेकाहरु सबै बीच बाटोमै अलपत्र परे । मनमा खुसी र उमङ्ग बोकेर हिंडेकाहरु मात्र होइनन् काम विशेषले गन्तव्यतर्फ जाँदै गरेकाहरु पनि जिल्ल परे, अकस्मातको बन्दले । बालबच्चा बोकेर गन्तव्यतर्फ हिंडेकाहरु बिना कसुर बीच बाटोमै रोकिनुपर्दा बढी आक्रोशित देखिन्थे । पूर्वपश्चिम जाने संगमको रुपमा रहेको नारायणगढको पुलचोक, सहिदचोक, मुग्लिङलगायतका स्थानमा सर्वसाधारण यात्रुहरुले बन्द आयोजकमाथि सडकमै आक्रोश पोख्दै तुरुन्तै बन्द खोल्न दवाव दिए । नारायणगढमा सर्वसाधारणले बन्द आयोजकहरुलाई घेराबन्दी नै गरेर बन्द खुलाउन दवाव दिइरहे । फलस्वरुप बन्द आयोजकले सर्वसाधारणको दवाव झेल्न सकेनन् र मध्यान्हदेखि बन्द खुलाउन बाध्य भए ।

प्रसङ्ग एउटा बन्दको भएपनि विषयवस्तु बन्द संस्कृतिको हो । सरकारले पनि कुनैपनि मागको समयमै सुनुवाई गर्न जरुरी हुन्छ । बन्द, हड्ताल, तोडफोड नगरुन्जेलसम्म कानमा तेल हालेर बस्ने सरकारको प्रवृत्ति झनै खतरनाक हो ।  सर्वसाधारणहरु बन्दको मारबाट कति आजित छन् र बन्दपं्रति उनीहरुको आक्रोश कति सम्म छ भन्ने एउटा सानो उदाहरण शनिवारको बन्दपछि आएको प्रतिक्रियालाई लिन सकिन्छ । बन्द आयोजकलाई सडकमा सर्वसाधारणले ¥याख¥याख्ती पारेबाट अबका दिनमा बन्द आयोजना गर्न तम्सिनेहरुले बन्द नगर्ने प्रतिवद्धता जनाउनु जरुरी देखिएको छ । मुलुकमा लोकतन्त्र छ, तर लोकतन्त्रमा कसैले केही कार्यक्रम राख्छ भने अरुको अधिकारमा त्यसले कति असर गर्छ भन्ने पनि विचार गर्न जरुरी छ । यसलाई लोकतान्त्रिक चरित्रसँग जोडेर हेर्ने गरिन्छ । बन्द गर्नु कुनै पनि समस्याको समाधान होइन भन्ने सवैले बुझेकै हो । वार्ता, सम्वाद र आवश्यक परे कानुनी प्रकृयाबाट समस्याको समाधान गर्ने पद्दतीको विकास गर्नुपर्छ । ‘जनता’ शव्द सवै राजनीतिक पार्टीहरुको मुखमुखमै झुण्डिएको छ । तर ‘जनता जनता’ भनेर जति चिच्याएपनि जनतालाई हलि गोठाला ठान्ने र उनीहरुलाई जे गरेपनि हुन्छ भन्ने गलत चिन्तनले जनताको टाउकोमा सधैं गिर खेल्ने काम मात्रै भएको छ । जनताको बिरोध हुँदाहुँदै राजनीतिक दलहरुमा हुर्केको बन्द संस्कृति यसैको उपज हो । जनतालाई सर्वोपरि ठान्ने र लोकतान्त्रिक चरित्र भएका राजनीतिक दलहरुले यसबाट पाठ सिक्नुपर्छ ।