«

»

माडीमा गस्तीको लागि प्रहरीलाई साइकल

New Image

गस्तीमा प्रहरी ः सोमबार बिहान ईलाका प्रहरी कार्यालय माडीमा साइकल हस्तान्तरण पछि साइकलमा गस्ती गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सहकुल बहादुर थापा (अगाडि), ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मलकुमार थापा (दोस्रो) र अन्य प्रहरीहरु । तस्विर ः आनन्द पोखरेल÷सञ्चारपत्र

माडी, २८ वैशाख
चितवनको माडी नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय माडीमा गस्तीको लागि राखिएको म्यान लामो समयदेखि बिग्रिएर थन्किएको छ । गत वैशाख ६ गते भएको नागरिक सुनुवाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय माडीले प्रभावकारी काम गर्न नसकेको जन गुनासो आएको थियो ।
प्रहरीले आफूहरुसँग गस्तीको लागि सवारी साधन नभएको कारण काम प्रभावकारी रुपमा गर्न नसकेको बताएका थिए । ईलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक निर्मल कुमार थापाले कार्यालयको गस्ती भ्यान बिग्रिएर थन्काइएका कारण प्रहरीले जन चाहना अनुरुप काम गर्न नसकेको गुनासो पोखे । ‘म असारमा आउँदा यो भ्यान थन्किएको थियो, चल्छ कि भनेर चलाउन खोजेँ’ थापाले भने, –‘स्टार्ट भएपछि भ्यानको रेडियटर तातेर फुट्ला जस्तो भएपछि स्टार्ट बन्द गरेर नचलाइ राखेँ ।’
गस्तीका लागि भ्यान नहुँदा माडीको आफ्नो क्षेत्रमा अप्ठेरो पर्दा पनि समयमा नै पुग्न नसकिएको थापाले बताए । सोमबार ईलाका प्रहरी कार्यालय माडीको लागि स्थानीय बासिन्दाहरुको सहयोगमा १५ वटा साइलक हस्तान्तरण गरिएपछि भने आफूहरुलाई थोरै भएपनि राहत मिल्ने थापाले बताए । उक्त साइकलमध्ये ६ वटा साइलक ईलाका प्रहरी कार्यालय माडीमा र अन्य नौ वटा साइकल तीन÷तीन वटाका दरले अन्य तीन वटा प्रहरी विटमा पठाइने थापाले बताए ।
आफूहरुले गस्तीको लागि सोमबार साइकल पाएपछि अब दैनिक रुपमा पालैपालो साइकलमा गस्ती गर्ने समेत थापाले बताए । ‘यो साइकलले हामीलाई जनताप्रति थप उत्तरदायी बनाएको छ’ थापाले भने, –‘गस्तीको लागि साइकल भएपछि आवस्यक ठाउँमा समयमा नै प्रहरी पुग्नेछ ।’ आफूहरुले दैनिक रुपमा साइकल गस्ती गर्ने समेत थापाले बताए ।
हाल ईलाका प्रहरी कार्यालय माडीमा दैनिक तीन वटा सम्म उजुरीहरु पर्ने गरेका थापाले बताए । माडी क्षेत्रमा चोरीको उजुरी नपर्ने गरेको तर सार्वजनिक अपराध सम्बन्धी उजुरी बढी पर्ने गरेको थापाले जानकारी दिए । ‘यहाँ चोरीका उजुरी पर्दैनन्’ थापाले भने, –‘कुटपीट, होहल्ला र पत्नी पोइला गएको उजुरी बढी पर्ने गरेको छ ।’
प्रहरीहरु सवारी साधन नभएर गस्तीमा जान नपाएको जानकारी पाएपछि आफूहरुले छलफल गरी प्रहरीको लागि साइकल हस्तान्तरण गरेको माडीका श्रीप्रसाद दवाडीले बताए । दवाडीको संयोजकत्वमा माडीका विभिन्न व्यक्तिहरुको सहयोगमा १५ वटा साइकल खरिद गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो । ईलाका प्रहरी कार्यालय माडीमा सोमबार बिहान औपचारिक कार्यक्रम गरी चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुल बहादुर थापा मार्फत उक्त साइकल हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रहरी उपरीक्षक थापाले जनताले प्रदान गरेको साइकलको सही सदुपयोग हुने बताए । ‘समाजमा हुने अपराध नियन्त्रणको लागि साइकल एउटा सिम्बोल हो’ थापाले भने, –‘यसलाई प्रहरीले वायुपङ्खी घोडाको रुपमा लिएर जनताको सेवामा लाग्ने विश्वास लिएको छु ।’ माडीका प्रहरीले जनताको भरोसालाई नतोड्ने र साइकल सही ठाउँमा सदुपयोग गर्नेमा आफू विश्वस्त रहेको थापाले बताए । सर्वसाधारणले प्रदान गरेको साइकललाई प्रहरीले राम्रोसँग सदुपयोग गर्दै नागरिकलाई लगानी सही ठाउँमा गरेका रहेछौँ भन्ने वातावरण बनाउन समेत थापाले माडीका प्रहरीलाई आग्रह गरे ।
उक्त कार्यक्रममा दाताको तर्फबाट श्रीप्रसाद दवाडीले समाजमा अपराध नियन्त्रण गर्नको लागि आफूहले प्रहरीलाई साइकल प्रदान गरेको बताए । वैशाख ६ गते भएको सार्वजनिक सुनुवाइमा प्रहरीले राम्रोसँग गस्ती गर्न नसकेको गुनासो आउँदा माडीका प्रहरीसँग सवारी साधन नभएको गुनासो आएपछि आफूहरुले साइकल प्रदान गरेको दवाडीले बताए । माडी प्रहरीसँग साइकल भएपछि समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी सक्षम हुनेमा आफू आशावादी रहेको दवाडीले बताए ।
स्थानीयबासीले प्रहरीलाई साइकल हस्तान्तरण गर्नु नागरिक प्रहरी हातेमालो कार्यक्रमको नमुना भएको समेत दवाडीले बताए । साइकल बुझेपछि सोमबारनै प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले साइकल मार्फत आफू र अन्य प्रहरीलाई माडी बजार परिक्रमा गराउँदै साइकल गस्तीको सुरुआत गरेका थिए ।
कार्यक्रममा एमाओवादीका प्रतिनिधि प्रभुप्रसाद महतो, काँग्रेसकी सविता बराललगायतले मन्तव्य राखेका थिए । भवानी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सूर्य पाठकले स्वागत मन्तव्य राखेका थिए ।