«

»

होमस्टेले ल्याएको परिवर्तन

homestayसविता श्रेष्ठ
चितवन । माटोले लिपेको टीनले छाएको चिटिक्कको दुई कोठे घर । घरसँगै जोडिएको स्यानो भान्छा । सरसफाई गरेर लिपिएको आँगन । घर र भान्छा दुवैलाई थारु परम्परा अनुसार थारु जातिको पहिचान झल्किने गरेर सजाईएको छ ।
२८ वर्षीय जीतकुमारी महतोले यसरी सजाएको र चिटिक्क पारेको घर आफ्नो लागि बनाएकी होईनन् । आफ्नो घरमा बस्न आउने पाहुनाका लागि भनेर उनले एट्याच बाथरुम भएको दुई कोठे पक्की घर बनाएकी हुन् । उनी घरको सरसफाईमा निकै ध्यान दिन्छिन् । बिहानदेखी बेलुकासम्म घरमा आउने पाहुनाको सत्कारका लागि तयार हुन्छिन् । विगत एक वर्ष देखी उनले गर्ने काम र दैनिकी बदलिएको छ । किनभने उनको घरमा होमस्टे छ । दुई कोठामा चार जनासम्म पाहुनाहरु बस्न मिल्छ आफ्नो होमस्टेमा आउने पाहुनाको बसाई आरामदायी होस् भनेर उनी खानपान र बसाईमा विशेष ध्यान दिन्छिन् ।
एक छोरा र एक छोरी रहेकी जीतकुमारीका श्रीमान् नेपाल प्रहरीमा छन् । होमस्टे सञ्चालन गर्नु अघि उनी बाख्रापालन तथा खेतीपातीमा नै व्यस्त हुन्थिन् । आफ्नो ४ कठ्ठा जमिनमा गरेको खेतीले नपुग्ने हुँदा अधियाँमा खेती गर्थिन् । ‘पैसाको समस्या थियो । घण्टे मेला गएर खेतीपातीको काम गर्थे ।’ उनी भन्छिन्–‘फुर्सद पनि हुन्थ्यो । दिनभर गफ गरेर बिताउँथे ।’
होमस्टे सञ्चालन गरेपछि भने उनको फुर्सदिला दिन घटेका छन् । आफ्नो खेतीपाती र पाहुनाका लागि तयारी गर्दैमा उनको समय कट्ने गर्छ । होमस्टे सञ्चालन गरेपछि व्यस्तता बढेसँगै आम्दानीको स्रोत पनि जीतकुमारीलाई जुटेको छ ।
गाउँमा होमस्टे सञ्चालन गर्ने तयारी हुँदा उनलाई त्यसको व्यवस्थापन गर्न नसक्ने र गाह्रो हुन्छ भन्ने लागेको थियो । त्यसैले उनले होमस्टे सुरु गर्ने निर्णय गर्न सकेकी थिईनन् । सामुहिक रुपमा सहकार्य हुने भनेपछि मात्रै उनले आफ्नो घरमा होमस्टे सुरु गर्न राजी भएकी थिईन् । अहिले आफु एक्लैले होमस्टे र खेतीपातीको काम सम्पन्न गर्न सक्दा आनन्द लाग्ने उनले बताईन् । होमस्टे सञ्चालन गरेर उनकोे आँट र साहस दुवै बढेको छ ।
तराई भू –परिधी कार्यक्रम (ताल) सौराहाको ५० हजार रुपैंयाँ सहयोगमा नवलपरासीको कावासोती नगरपालिका १५ मा पर्ने साबिकको अग्यौली ५ बाघखोरको २० घरमा अमलटारी मध्यवर्ती होमस्टे सञ्चालन गरिएको छ । ०७० सालको जेठ ५ गतेबाट होमस्टे सञ्चालन गरिएपछि स्थानीय महिलाको जीवनयापनमा परिवर्तन भएको छ ।
जहाँ २५ वर्षीय जोगमाया महत्तोले पनि होमस्टे सञ्चालन गर्छिन् । आफ्नो नियमित खेतीपातीसँगै पाहुनाको लागि तयारी गर्नुपर्दा जोगमाया व्यस्त हुन्छिन् । होमस्टेमा आउने पाहुनाको लागि स्वागत र बिदाईमा खटिनु, पाहुनाको नास्ता तथा खानाको तयारी गर्नु अनि बेलुकीको खानापछि पाहुनाका लागि देखाईने सांस्कृतिक कार्यक्रममा सहभागी हुनु उनको नियमित कार्य बनेको छ । थारु पहिरनमा सजिन कुनै पर्व तथा कार्यक्रमहरु कुर्ने उनी अहिले हरेक दिन आफ्नो जातिको पहिरनमा हुन्छिन् । विशेषत सांस्कृतिक कार्यक्रममा सहभागी हुने समय र पाहुनाको स्वागत तथा बिदाईमा सहभागी हुन उनी थारु पहिरनमा सजिन्छिन् ।
होमस्टे सञ्चालन गर्नु अघिसम्म उनी मेलापात र पशुपालनका काममा सहभागी हुन्थिन् । २ लाख रुपैयाँको लागतमा निर्माण गरिएको होमस्टेबाट आम्दानी हुन थालेपछि भने उनले मेलापात जान र पशुपालन गर्न छाडेकी छिन् । आफ्नै बारीमा तरकारी लगाउँछिन् । हाँस, कुखुरा र परेवा पालेकी छिन् । जुन होमस्टेमा आउने पाहुनालाई खुवाउन उपयोग गरिन्छन् ।
‘नयाँ नयाँ कुरा सिक्न पाएको छु । आम्दानी पनि भएको छ’ होमस्टे सञ्चालन गरेपछि भएको परिवर्तनको बारेमा बताउँदै जोगमाया भन्छिन्–‘फुर्सदिलो भएर बस्नु परेको छैन । अहिले हामीलाई सजिलो भएको छ ।’
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नजिक रहेको वस्तीका महिलाहरु खेतीपाती र पशुपालन गर्दा घाँसपात तथा दाउराको लागि जंगल जानुपथ्र्यो । जंगल जाँदा जंगली जनावरले आक्रमण गर्ने डर हुन्थ्यो । अहिले यस्ता डर र समस्याबाट मुक्त भएको जोगमाया बताउँछिन् । संरक्षण कार्यलाई प्रभावकारी बनाउनको लागि गाउँमा सबै घरमा विभिन्न संघसंस्थाको सहयोगमा बायोग्याँस निर्माण गरिएको छ । जसले पनि महिलाहरुको दैनिकी सहज भएको छ ।
शान्त र सुन्दर गाउँमा गाउँले महिलाले नै सञ्चालन गरेको अमलटारी होमस्टेमा बास बस्न पुग्ने पर्यटकले थारु परिकारको स्वाद लिँदै थारु र बोटे संस्कृतिमा रमाउन पाउँछन् । हात्ति सफारी, नारायणी नदीमा डुङ्गा चढ्न, गाडामा गाउँ घुम्न, थारु संग्राहलयको अवलोकन, मुसहर र बोटे समुदायको जिविकोपार्जनको लागि गरिएको माछापालन पोखरीमा माछा मार्न पनि पाईन्छ । बेलुकी प्रस्तुत गरिने थारु समुदायको लाठी, झुमरा, जोगेडा र बोटे समुदायको गोलेनी नाचले मनोरञ्जन मात्र दिँदैन परम्परागत चलन र रीतिको बारेमा पनि जानकारी दिन्छ ।
२० घरमा सञ्चालन गरिएको होमस्टेमा १ घर बोटे र बाँकी थारु जातिका छन् । होमस्टे सञ्चालन भएका सबै घर पर्यटन बोर्डमा दर्ता गरिएको छ । होम स्टेमा बस्न आउने अतिथिले आफु बस्ने घरमा पाकेका स्थानीय खानेकुरा खान्छन् । खाना पकाउने तालिम समेत दिईएकाले अतिथिले कुनै बिशेष खानेकुराको चाहना गरे त्यसको पनि ब्यवस्था हुन्छ । तर त्यसबारे पहिले नै जानकारी गराउनु पर्ने जोगमायाले बताईन् ।
अमलटारी होमस्टे सञ्चालन भएपछि जीतकुमारी र जोगमाया जस्तै घरमा र खेतीपातिमा सिमित महिलाहरुको आम्दानी र चेतनाको स्तर बढेको छ । होमस्टेमा आउने स्वदेशी र विदेशी पाहुनासँग सहकार्य गर्दा उनीहरु स्वावलम्बीका साथै आत्मविश्वासी बनेका छन् । विदेशी पाहुनासँग पनि कुराकानी गर्नुपर्ने हुँदा होमस्टेका महिलाहरुले सामुहिक रुपमा अंग्रजी सिक्न थालेका छन् । आठ कक्षासम्म मात्रै पढेकी जोगमाया आफ्नो अँग्रेजी सिकाईले आफुलाई सक्षम बन्न सहयोग पुगेको बताउँछिन् ।

महिला समुहमा आबद्ध उनीहरु सामुहिक रुपमा वन संरक्षणमा सहभागी हुन्छन् । होमस्टेमा आउने पाहुनाका लागि मात्र नभएर वन संरक्षण तथा महिला समुहबाट सामुहिक आय आर्जन हुने खेतीमा पनि सहभागी हुने गरेका छन् । महिला समुहबाट मासिक बचत, खर पाल्ने, सामुहिक बेसार खेती गर्ने गरिएको कञ्चनजङ्गा महिला समुहकी अध्यक्ष मिना महतो बताउँछिन् । महिला समुहमा आबद्ध महिलाहरु पालो गरेर सामुदायिक वनमा गस्ती गर्छन् । हरेक दिन एक महिला समुहबाट दुई जना महिलाहरु लाठी लिएर वनमा गस्ति गर्छन् । गस्ति गर्ने काम सकेपछि भोलीपल्ट पालो हुने घरमा लाठी पु¥याईदिन्छन् । यस क्षेत्रका पाँच वटा महिला समुह रहेको छ । वन संरक्षण हुँदा बालीनाली जोगिएको मिना बताउँछिन् । भन्छिन्–‘वन्यजन्तु जंगल छाडेर गाउँ नआओस भनेर लागि परेका छौं ।’ महिला समुहका व्यक्तिहरु गाउँमा अपरिचित व्यक्ति आएर शंका लाग्ने गतिविधी गरेमा युवा समुहलाई खबर गर्छन् ।
अमलटारी मध्यवर्ति होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेमशंकर मर्दनीया थारुका अनुसार एक वर्षको अवधिमा दुई सय विदेशी सहित ९ हजार पर्यटक आएका छन् । जसबाट ३५ लाख रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए । एक महिनाको अवधिमा होमस्टे सञ्चालकले कम्तिमा २० हजार आम्दानी गर्ने गरेका छन् ।
होमस्टे संचालन भएपनि स्थानिय महिलाको जीवनमा सकारात्मक परिवर्तन आएको मर्दनीया बताउँछन् । गाउँमा फुर्सदमा बस्ने महिलाहरु अहिले आयआर्जनका साथै संरक्षणका कार्यमा सक्रिय भएको उनले बताए । ‘धेरै सक्रिय छन् । बिदाई स्वागत, खानपान र होमस्टे व्यवस्थापनको जिम्मेवारीले उहाँहरुलाई सक्रिय बनाएको छ ’ होमस्टे सञ्चालन भएपछि स्थानीय महिलामा भएको परिवर्तनको बारेमा जानकारी दिँदै उनले भने –‘सबैको आँट र साहस बढेको छ । जीविकोपार्जनमा पनि परिवर्तन भएको छ ।’
खेतीपाती, पशुपालन, मेलापात र वनजंगलमा घाँसदाउरा गर्ने कार्यमा सिमित महिलाहरु अहिले देश तथा विदेशबाट आएका पर्यटहरुसँग निर्धक्क कुरा गर्न सक्षम भएका छन् । उनीहरु आफ्नो घर तथा परिवारका लागि गर्नुपर्ने नियमित र खेतीपातीका काम बाहेक पर्यटकको सत्कारका लागि पनि समयको व्यवस्थापन गर्न सकेका छन् । अमलटारीका महिलाहरुको जीवनमा आएको यो परिवर्तन निकै लोभलाग्दो बनेको छ ।