«

»

फुटबल सिकाउने भन्दै अपहरणको योजना

kidnapमिलनचोकका तीन बालक अपहरणमुक्त
फुटबल सिकाउने भन्दै अपहरणको योजना
सावित्री सापकोटा
भरतपुर १ साउन
भरतपुर १२ स्थित मिलनचोकका तीन बालकलाई ललाइ फकाइ अपहरण गरेर उनीहरुका परिवारसंग फिरौति रकम माग्ने कृष्णपुरका टेकबहादुर सुयललाई चितवन प्रहरीले २४ घण्टापछि पक्राउ गरेको छ । मिलनचोक बस्ने १२ वर्षिय सोहन खड्का, १३ वर्षका भुवन पौडेल र १४ बर्षका सागर कुँवरलाई सुयलले भरतपुर माध्यमिक विद्यालय अगाडिको चौरबाट गएको बुधबार ‘अपहरण’ गरेका थिए ।
प्रहरीका अनुसार यसरी अपहरण गर्ने सुयल कुनै पेशेवर गिरोह भने होइनन् । उमेरले १७ वर्ष पार गरेका उनी कृष्णपुरकै राष्ट्रिय माविमा कक्षा दशमा पढ्छन् र हाल क्यान्सर अस्पतालको २ नं. गेट नजिक बस्छन् । पक्राउ परेपछि प्रहरीको प्रारम्भिक बयानमा सुयलले आफूले मोजमस्तीका लागि पैसा खर्च गर्र्न बालकहरुलाई अपहरण गरी परिवारसंग पैसा मागेको स्वीकारेका छन् ।
बुधबार मिलनचोकबाट तीन जना बालक हराएपछि परिवारबाट सन्नाटा छाएको थियो । छोराहरु हराएको केहि बेरपछि उनीहरु अपहरणमा परेको भनि सुयल आफैले आफ्नै मोवाइलबाट परिवारलाई जानकारी गराएका थिए । सबैका परिवारलाई पालैपालो फोन गरेर सुयलले पैसाको बार्गेनिङ गरी फिरौती समेत माग गरे । परिवारबाट सुयलले भने अनुसार पैसा बुझाएपछि बालकहरु बल्ल ‘अपहरणमुक्त’ भए । बालकहरु घर आइसकेपछि परिवारले यो घटना प्रहरीलाई जानकारी गरायो । यसपछि, सुयलले प्रयोग गरेको मोवाइलको आधारमा प्रहरीले सुयललाई भरतपुर–९ को सृजनाचोकबाट पक्राउ गरेको हो ।
पेशेवर अपहरणकारीले जसरी बालकहरुलाई अपहरण गरेको यो घटना चितवनमा नौलो भएको प्रहरीको भनाई छ । लगभग उमेर मिल्ने समूहका बीच भएको यस्तो घटनाले चितवनका अभिभावकहरु पनि सचेत हुनुपर्ने देखाएको छ ।
बुधबार दिउँसो मिलनचोकका ती बालकहरु फुटबल खेल्न भरतपुर मावि अगाडिको चौरमा भेला भएका थिए । त्यहाँ सुयल पुगे । उनीहरु खेलकुदप्रति आकर्षित भएको देखेपछि सुयलले पनि अपहरण गरेर पैसा कमाउने जुक्ति सोँचिहाले । सुयलले ती बालकलाई भने,‘फुटबल खेल्न मन लाग्छ ? राम्रो फुटबल खेलाडी बन्ने भए मसंग हिँड । म तिमीहरुलाई फुटबल सिकाएर राम्रो खेलाडी बनाउँछु ।’ बालकहरुलाई सुयलको कुरो मन प¥यो । अनि सुयलले भनेको ठाउँमा जान राजि भए ।
सुयलले फुटबल खेल्नको लागि फर्म भर्नुपर्ने बताए । फुटबल खेल्न क्याम्पाचौर जानुपर्छ भने । एउटै साइकलमा राखेर उनीहरुलाई नारायणगढ लगियो । फर्म भर्ने बहानामा नारायणी कला मन्दिर नजिकै लगेर राखे । मःमः र चिसो खान दिए । यता खेल्न गएका छोराहरु घर आउने समयमा पनि नआएपछि परिवार अत्तालिएका थिए । छोराहरु आएनन्, बरु एक्कासी छोराहरु अपहरणमा परेको खबर आयो ।
सुयलले आफ्नै मोबाइल प्रयोग गरेर एकएक गरी बालकका परिवारसंग ‘तिम्रा छोराहरु अपहरणमा परेकोले छुटाउने भए पैसा लिएर आउन’ भने । सोहन खड्काका हजुरबुबा मानबहादुर खड्कालाई बुधबार दिउँसो करिब २ बजेको समयमा फोन गरी सुयलले १० लाख रुपैयाँको माग गरेका थिए ।
सुयलले फोनमा भनेको घटना सम्झँदै मानबहादुरले भने, ‘एक घण्टाभित्र १० लाख नदिए नातीको लास बुझ्न आउनु भन्दै उसले धम्की दियो । अन्तिममा एक लाख रुपैया लिएर नारायणगढ बजार आउने भन्दै फोन राख्यो ।’ त्यस्तै सोही समयमा नै सागर कुँवरकी आमा गीता कुँवरलाई पनि एक लाख माग गर्दै नदिएमा छोरालाई मारिदिने धम्की पनि सुयलले दिए ।
कसैलाई भनेमा नातीलाई मारिदिने भन्दै धम्काएकोले आफुहरु धेरै आत्तिएको मानबहादुरले बताए । नातीलाई मारिदिने डरले कसैलाई खबर नगरी उनका छोरा धनबहादुरले नारायणगढको वाणिज्य बैंक नजिक लगेर सुयललाई ५० हजार रुपैयाँ दिए । यता छोरालाई बचाउन भन्दै सागरकी आमा गीताले पनि एक लाख रुपैयाँ ठिक्क पारिसकेकि थिइन् । तर धनबहादुरले पचास हजार रुपैयाँ दिएपछि सुयलले तीन जना बालकलाई नै अपहरणमुक्त गरिदिए । अपहरणमुक्त गर्ने क्रममा बालकहरुलाई घर जाने यातायात खर्च समेत दिएर पठाए ।
करिब साँझ ६ बजे तीन जना बालक नै एकैसाथ घरमा आएका थिए । त्यसपश्चात पीडित तीन परिवार मिलेर प्रहरीमा खबर गरेको भुवनका बाबु हरिप्रसाद पौडेलले बताए । पैसा माग गर्ने क्रममा सुयलले प्रयोग गरेको मोबाइल नम्बरबाट नै उसलाई पक्राउ गर्न सफल भएको प्रहरी निरिक्षक रुगम कुँवरले जानकारी दिए । ‘घटनाबारे जानकारी पाउँनासाथ हामी खोजीमा लाग्यो ।’ प्रहरी निरिक्षक कुँवरले भने– ‘घटना भएको २४ घण्टा नवित्दै दोषी पत्ता लगायौ ।’
प्रहरी निरिक्षक रुगम कुँवरको नेतृत्वमा खटिएको सादा पोशाकको प्रहरी टोलीले सुयललाई बिहीबार भरतपुर–९, सृजना चोकबाट पक्राउ गरेको हो ।
सुयलको साथमा प्रहरीले पीडितहरुबाट लिएको ५० हजारमध्येको २७ हजार २० रुपैयाँ, सोही पैसाले किनेको फुटबल जर्सी एक जोर, फुटवल, लामो मोजा एक जोर, कार्वनको स्मार्टफोन एक थान समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान गरेर कानुनी कारवाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए । आरोपित सुयल पेशेवर नभएर आफ्नो आधारभूत आवश्यकता पुरा गर्नको लागि सो कार्यमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएको उनले बताए । भर्खरै विश्वकप फुटबल भएको र साथीहरुले पनि राम्रा खाले मोवाइल बोक्दै फु्टबलमोह देखाएकाले आफूलाई यसप्रति आकर्षित भएर अपहरणकाण्ड गरेको पनि सुयलले प्रहरीसंगको बयानमा भनेका छन् ।