«

»

गाई पालनमा युवाहरुको आकर्षण

cowआनन्द पोखरेल
भरतपुर, १८ भदौ
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्वारा लगानी गरिएको ऋणबाट युवाहरु गाई पालन तर्फ अग्रसर भएको देखिएको छ ।
कोषले सहकारी मार्फत तीन सय जना युवाहरुलाई ऋण प्रदान गरेकोमा दुई सय युवाहरुले गाई पालन गरिरहेका स्वरोजगार कोषका चितवन जिल्ला प्रमुख रामचन्द्र लम्सालले जानकारी दिएका छन् । स्वरोजगार बन्नको लागि ऋण लिने करिव एक सय युवाहरु कृषि तर्फ आकर्षित भएका उनले बताए ।
स्वरोजगार कोषमार्फत ऋण लिएर गाई पालन गरिरहेका गीतानगरका युवा प्रदिप तिमल्सिना भन्छन्– ‘मैले अन्नपूर्ण दूग्ध सहकारी संस्थाबाट ऋण लिएर दुईवटा गाई किनेर स्वरोजगार बनेको छु । दैनिक २० देखि २२ लिटर दूध बिक्री गर्ने गरेको छु, पहिले भन्दा अहिलेको आर्थिक अवस्थामा सुधार आएको छ ।’
गीतानगरकै विना ढकालले सोही कार्यक्रम अन्तर्गत सहकारीबाट ऋण लिएर स्वरोजगार बनेकी छिन् । आफुले सहकारीबाट ऋण लिएर दूई वटा र आफ्नै प्रयासमा गरी आठ वटा गाई पालेको उनले बताइन् । ‘राम्रो कमाई भएको छ, मासिक रुपमा ऋणको किस्ता तिरेर पनि घरखर्च चलाएकी छु’ उनले खुसी हुँदै भनिन् ।
युवा स्वरोजगार कार्यक्रम अन्तर्गत एउटा बेरोजगार परिवारमा एक जना युवाले कोषबाट दुई लाख रूपैयाँसम्म ऋण पाउने व्यवस्था छ । १८ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघेका बेरोजगार महिला तथा पुरुषहरुले सहकारी मार्फत ऋण पाउने व्यवस्था मिलाईएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।
युवाहरुले सहकारी मार्फत १२ प्रतिशत ब्याजदरमा ऋण पाएका र उद्यमी बनेका युवाहरुले हालसम्म राम्रोसँग ब्याज भुक्तानी गरिरहेका स्वरोजगार कोषका चितवन जिल्ला प्रमुख लम्सालले जानकारी दिए । आगामी दिनमा पनि ऋण असुली राम्रोसँग हुनेमा उनी ढुक्क छन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले चितवनका युवाहरुलाई स्वरोजगार गराउनको लागि पहिलो र दोस्रो चरणमा गरेर छ करोड रूपैयाँ लगानी गरिसकेको छ । स्वरोजगार कोषले चितवनमा १० करोड रूपैयाँ लगानी गर्ने निर्णय भए अनुसार उक्त रकम सहकारी मार्फत ऋण प्रवाह गरिएको हो । तेस्रो किस्ताको रकम चार करोड रूपैयाँ एक महिनाभित्रमा उपलब्ध गराइने कोषका कार्यकारी उपाध्यक्ष रेग्मीले जानकारी दिए ।
चितवनका १५ वटा सहकारी संस्थाहरुबाट स्वरोजगारको लागि तीन सय जना युवाहरुले ऋण लिएर व्यवसाय सञ्चालन गरेका छन् । स्वरोगार कोषबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्ने युवाहरु तेस्रो चरण सकिंदासम्म पाँचसय जना पुग्ने स्वरोजगार कोषका चितवन जिल्ला प्रमुख लम्सालले जानकारी दिए ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले देशका मनाङ र मुस्ताङ बाहेकका ७३ जिल्लाहरुमा सहकारी मार्फत ऋण लगानी गरेको जानकारी दिँदै कोषका कार्यकारी उपाध्यक्ष रेग्मीले भने– ‘हामीले ऋण दिनु भन्दा पहिले अभिमुखिकरण, सिपमुलक र क्षमता अभिवृद्धि तालिम दिन्छौँ, त्यसपछि ऋण दिन्छौँ र त्यसको सहि परिचालन भयो कि भएन भनेर अनुगमन पनि गर्छौं ।’ अनुगमनको लागि मात्र कोषले ६० जना कर्मचारी परिचालन गरेको रेग्मीले बताए ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले मंगलबार भरतपुरको कृष्णपुरमा ‘जलवायु परिवर्तन कृषि तथा खाद्य सुरक्षा र लैङ्गिक सवाल’ विषयमा अगुवा महिलाहरुको एकदिने तालिम आयोजना गरी कोषले चितवनमा गरेको गतिविधिको बारेमा जानकारी गराइयो । सो कार्यक्रमको सभापतित्व उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले गरेका थिए भने प्रमुख अतिथि  चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा रहेका थिए ।
सरकारको कार्यक्रम अनुसार कोषले यो वर्ष नेपालमा ५० हजार जना युवालाई स्वरोजगार बनाउने उद्देश्यकासाथ सहकारी मार्फत ऋण लगानी गरेको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिए । जलवायु परिवर्तनले कृषि क्षेत्रमा असर पु¥याएको र त्यस्तो असरका बारे घर–घरबाट कुरा उठाउनु पर्ने उनको सुझाव थियो । स्वरोजगार कोषबाट पठाइएको ऋणलाई सदुपयोग गर्दै लक्षित वर्गसम्म पु¥याउन सके सबै ठाउँको विकास सम्भव हुने शर्माको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले सहकारीले कोषको लक्ष्य अनुसार ९० प्रतिशत काम गरिरहेका बताए । यो कार्यक्रम महिला सहभागि धेरै भएको ठाउँमा प्रभावकारी भएको पनि डा. भट्टराईले जानकारी दिए ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय, चितवनका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारी, डिभिजन सहकारी प्रशिक्षण कार्यालयका प्रशिक्षक कृष्ण नेपाल, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नवराज सापकोटा,  अगुवा महिला अम्बिका देवकोटा लगाएतले मन्तव्य राखेका थिए ।