«

»

सौराहामा स्टार लेभलको होटल

hotelसौराहा, १६ भदौ
मुलुककै तेश्रो पर्यटकीय नगरि चितवनको सौराहामा करिव १६ करोड रुपैयाँको लगानीमा अत्याधुनिक तवरले निर्माण गरिएको ‘सेभेन स्टार’ नामको होटल आईतबारदेखि सञ्चालनमा आएको छ । उक्त होटलमा जिल्लामै पहिलो पटक मिनी क्यासिनो पनि राखिएको छ ।
सेभेन स्टार होटलका सञ्चालक माधव दुवाडीका अनुसार यो होटल चितवनकै पहिलो स्टार लेभलको होटल हो । आफुहरुले स्टारका लागि चाहिने सबै मापदण्ड पुरा गरिसकेकाले आफ्नो होटल ‘टुस्टार’ भएको उनले बताए ।
चितवन कुमरोजका दुवाडीले आफु र डा. नुरदेव प्रसाद कंडेलले संयुक्त लगानी गरेर होटल सञ्चालनमा ल्याएको बताए । सञ्चालकले स्टार लेभलको लागि चाहिने प्रमाणपत्रको प्रक्रियामा आफुहरु गईसकेकाले चाँडैनै ल्याउने दाबी गरेका छन् ।
होटलको आईतबार एक समारोह बीच होटल एशोसियसन अफ नेपालका केन्द्रिय अध्यक्ष श्यामसुन्दर लाल कक्षपतिले उद्घाटन गरे । होटलको मुख्य आकर्षणको रुपमा मिनि क्यासिनो र करिब ७ सयजना भन्दा बढी अटाउने सेमिनार हल रहेको छ । होटल सञ्चालकले होटल परिसरको क्यासिनो आफुहरुको व्यवस्थापनमा नभई अरुले नै भाडामा लिई सञ्चालन गरेको बताए । ‘हयाप्पी आवर’ को नामबाट सञ्चालित मिनी क्यासिनो भने होटल उद्घाटन नहुँदै सञ्चालनमा आइसकेको छ ।
लामो समय जिल्लामा घरजग्गा व्यवसायमा संलग्न दुवाडीले आफ्नो ठाउँलाई प्रवद्र्धन गर्ने उद्धेश्यले स्टार लेभलको होटल सञ्चालनमा ल्याएको र अहिले सम्म जिल्लाभरिमै कतै नभएको सुविधा उपलब्ध गराउने उद्धेश्यले पर्यटन व्यवसायमा लगानी गरेको बताए ।
सञ्चालकद्वयले होटल सञ्चालन गर्न सम्पत्ती बैैंकमा धितो राखेको बताएका छन् । होटलमा प्रयोग गरिएका अधिकांश सामानहरु चीनबाट ल्याईएको उनीहरुले बताए ।
‘मेरो घर सौराहा नजिकै रहेकोले पर्यटनमा क्षेत्रमा पहिला देखि नै लगाव रहेको थियो’ दुवाडीले भने– पर्यटन क्षेत्रमा भविष्य देखेर नै यतातर्फ लगानी गरेको हुँ ।