«

»

टिकौली सूचना केन्द्र सञ्चालनमै कठिनाई

दैनिक औसत एकजना पनि पुग्दैनन् 

akheto pahar bhabanमोहन बस्याल
रत्ननगर, १५ भदौ
चितवनको रत्ननगरको टिकौलीमा झण्डै ५५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको जैविक विविधता सूचना केन्द्रमा पर्याप्त अवलोकनकर्ता नआउँदा सञ्चालन गर्न कठिनाई भएको छ । अवलोकनकर्ताबाट लिइने प्रवेश शुल्क बाहेक अरु आम्दानीको स्रोत नभएको जैविक विविधता सूचना केन्द्र अवलोकनकर्ता नै नआएपछि सञ्चालनमा कठिनाई आएको हो ।

जैविक विविधताको महत्व प्रचार प्रसारका लागि २०६३ सालमा निर्माण गरिएको सूचना केन्द्रको गएको एक वर्षमा तीन सय ४३ जनाले मात्र अवलोकन गरेका थिए । २०६९ सालको बैशाख देखि चैत महिना सम्ममा चितवन र नवलपरासीका विभिन्न विद्यालयका विद्यार्थी, हेटौंडा तथा पोखरामा बन बिज्ञान अध्ययन गर्ने विद्यार्थीलगायतले उक्त सूचना केन्द्रको अवलोकन गरेका हुन् । त्यस भन्दा अघिल्ला बर्षमा एक वर्षमा सूचना केन्द्र पुग्ने पर्यटकको संख्या अझ कम थियो ।

सूचना केन्द्रकी कार्यालय सचिव सुनिता घिमिरेका अनुसार २०६८ सालमा दुई सय ५० र २०६७ सालमा एक सय ४४ जनाले मात्र सूचना केन्द्रको अवलोकन गरेका थिए । सूचना केन्द्र अवलोकन गर्ने अवलोकनकर्ताबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले शुल्क लिने गरिएको छ ।

अवलोकनकर्ताकै सङ्ख्या कम भएकाले सूचना केन्द्रका कर्मचारीको पारिश्रमिक समेत अन्तैबाट खोजेर व्यवस्थापन गर्नुपर्ने अवस्था छ । अहिले सम्म सूचना केन्द्र नजिक रहेका टिकौली मध्यवर्ती सामुदायिक वन र पञ्चकन्या सामुदायिक वनले आफ्नो आम्दानीको केही रकम उपलब्ध गराएर सूचना केन्द्र सञ्चालन गर्दै आएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा वर्षेनी एक लाख भन्दा बढी पर्यटक पुगेपनि आवश्यक प्रचार प्रसार र समन्वय नहुँदा सौराहा जाने बाटोमै रहेको जैविक विविधता सूचना केन्द्रमा भने एक वर्षमा मुस्किलले सय पर्यटक पुग्ने गरेका छन् । नारायणगढ र नेपालको तेस्रो पर्यटकीय केन्द्र सौराहाबाट १०÷१० किलो मिटरको दुरीमा रहेको सूचना केन्द्र विश्व रामसार सूचीमा सूचीकृत बिसहजारी ताल जाने बाटो नजिकै रहेको छ ।
रामेछाप जिल्लाको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका जैविक विविधता तथा वन्यजन्तु संरक्षणमा कहलिएका वन मन्त्रालयका पदाधिकारी, डब्लुडब्लुएफ नेपालका विज्ञ लगायत २४ जनाको स्मृतिमा तराई भू–परिधी कार्यक्रम (ताल) मार्फत डब्लुडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सूचना केन्द्र निर्माण गरिएकोे हो ।

लोपोन्मुख जीवजन्तु, चराचुरुङ्गी तथा विभिन्न किसिमका किरा फट्याङ्ग्राहरुको अस्थिपञ्जर संरक्षण गर्न तथा ती दुर्लभ बन्यजन्तुको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउन केन्द्रको स्थापना गरिएपनि अपेक्षा गरिए बमोजिम अवलोकनकर्ता नपुगेका तराई भू–परिधी कार्यक्रम
(ताल)का सह–व्यवस्थापक अब्दुल अन्सारीले बताए । टिकौली मध्यवर्ति सामुदायिक बन र पञ्चकन्या सामुदायिक बनको सकृयतामा पछिल्लो पटक प्रचार प्रसार, सरसफाई तथा मर्मत गरिएपछि पर्यटकको संख्या बढ्दो क्रममा रहेको जानकारी उनले दिए ।

के के छ सूचना केन्द्रमा ?
नेपालकै एक मात्र सशस्त्र बन रक्षक तालिम केन्द्र र आखेटोपहार सङ्कलन तथा संरक्षण केन्द्रसँगै जोडिएर रहेको सूचना केन्द्रमा विश्वमै दुर्लभ मानिएका वन्य जन्तुका हाड, छाला, सिङ्ग, खुर जस्ता अवशेष संकलन गरि राखिएको छ । गैंडा, बाघ, हात्ती, जरायो, गौरीगाई, निलगाई, गोहीलगायत जिवजन्तुको अवशेषसँगै ती वन्यजन्तुका बिभिन्न पक्षको जानकारी पनि सूचना केन्द्रमा राखिएको छ ।
२०६३ असोज ७ गते रामेछाप जिल्लाको घुन्सा पहाडमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाल र अन्य विभिन्न मुलुकका संरक्षणकर्मी तथा बिज्ञ बिशेषज्ञको स्मृतिमा निर्माण गरिएको यो सूचना केन्द्रमा उनीहरुको योगदानका बारेमा पनि जान्न सकिन्छ । सूचना केन्द्रमा नेपालका वन जङ्गलमा पाईने दुर्लभ वनस्पति र जडिबुटीको बारेमा जानकारी लिन सकिन्छ ।
नेपालका निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, सङ्कटको सूचीमा रहेका नेपालमा पाईने वन्यजन्तु तथा पंक्षि बारेका जानकारी पनि सूचना केन्द्रबाट लिन सकिन्छ ।

प्रचार प्रसारको प्रयास
अपेक्षाकृत अवलोकनकर्ता नपुगेकाले पछिल्लो केही समय देखि यसको प्रचार प्रसार अभियान चलाउन थालिएको छ । ठुलो लगानीमा निर्माण गरिएपनि सञ्चालन खर्च नहुँदा अप्ठेरोमा पर्दै आएको जैविक विविधता सूचना केन्द्रलाई रत्ननगरमा सञ्चालन गरिएको रत्ननगर महोत्सवबाट बचेको रकमबाट पचास हजार रुपैयाँ र तराई भू–परिधि कार्यक्रमबाट गएको वर्ष दुई लाख रुपैयाँ उपलब्ध गराईएपछि यसको मर्मत गर्ने, डकुमेन्ट्री बनाएर प्रचार प्रसार गर्ने काम गरिएको टिकौली मध्यवर्ती सामुदायिक वनको समेत अध्यक्ष रहनु भएका उक्त सूचना केन्द्र सञ्चालक समितिका अध्यक्ष बुद्धिमान बिकले जानकारी दिए ।
सूचना केन्द्रकै परिसरमा वातावरण दिवसको कार्यक्रम राखेर जिल्लाका सवै सरकारी, गैर सरकारी एवम् निजी क्षेत्रका अगुवालाई सूचना केन्द्रको बारेमा जानकारी गराईएको उनले जानकारी दिए ।

जैविक विविधता सूचना केन्द्र आसपासको जमिनमा पार्क निर्माण गर्ने तथा बगैंचामा जिवित वन्यजन्तु राख्न सकिए पर्यटकको सङ्ख्या बढ्ने भएपनि जिल्ला वन कार्यालयबाट अनुमति लिन र बजेट अभावका कारण ती काम हुन नसकेको अध्यक्ष बिकले जानकारी दिए । समन्वय समितिको शैलिमा सञ्चालक समिति निर्माण हुने र तीन वटा संस्थाको प्रकृति फरक फरक भएकोले पनि काम गर्न कठिनाई रहेको उनको भनाई छ ।

सञ्चालन कसरी हुन्छ ?
२०६३ चैत ९ गते समुदायमा हस्तान्तरण भएको सूचना केन्द्रमा टिकौली मध्यवर्ती सामुदायिक वनबाट दुई, पञ्चकन्या सामुदायिक वनबाट दुई र सशस्त्र वन रक्षक तालिम केन्द्रबाट एकजना सरकारी प्रतिनिधि रहने गरि सञ्चालक समिति निर्माण गरिएको छ । सोही बमोजिम पालै पालो नेतृत्व चयन गरि संस्था सञ्चालन हुँदै आएको छ ।

जैविक विविधता सूचना केन्द्रको आफ्नै आम्दानीको स्रोत नभएकोले सहयोग जुटाएर कर्मचारीलाई तलव खुवाउनुपर्ने अवस्था भएको सञ्चालक समितिका अध्यक्ष बुद्धिमान बिकले जानकारी दिए ।