«

»

कालिकाले नयाँ कार्यक्रमका साथमा एघारौं वार्षिकोत्सव मनाउने

Kalikaभरतपुर, १५ भदौ । कालिका एफ एमले आफ्नो एघारौं वार्षिकोत्सव विगत वर्षहरुमा झैं विविध कार्यक्रम गरि मनाउने जानकारी गराएको छ ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा एफ एमका अध्यक्ष एवम् प्रबन्ध निर्देशक बिक्रम पाण्डेले भाषा, कला, धर्म, सँस्कृतिको क्षेत्रमा विगत वर्षहरुमा गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिंदै यस वर्ष केही नयाँ कार्यक्रमहरु थप गरिएको जानकारी दिए । वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्ष सडक बालबालिकाहरुको प्रतिभा प्रस्तुत र साथमा नाटक मञ्चन, राष्ट्रिय हाँस्य व्यङ्ग्य साहित्य सम्मेलनलगायतका कार्यक्रम गरिने पाण्डेले बताए ।

नवौं कालिका एफ एम म्युजिक अवार्डमा २६ विधा अन्तर्गत नेपाली आधुनिक गीत, पप गीत, चलचित्रका गीत, लोकदोहोरी गीत, गजललगायत राष्ट्रिय गीतको विधा थप गरेको पनि उक्त एफ एमले जानकारी गराएको छ । रगतको अभावमा अस्पतालको शै्यामा रहेका बिरामीको लागि रगत आवश्यकताको सूचना निशुल्क प्रसारण गरिदिने पनि उसले जनाएको छ ।

पाण्डेले कालिका एफ एम समाज र राष्ट्रको हितका खातिर सहि सूचना प्रवाह र मनोरञ्जनका लागि कटिवद्ध रहेको पनि उल्लेख गरे । कालिका एफ एमले वार्षिकोत्सवको अवसरमा कृति प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिंदै यस पटक कविता सङ्ग्रह प्रकाशन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एफ एमका अध्यक्ष पाण्डेले हिन्दु महिलाहरुको महान पर्व तीजको दिनमा कालिका एफ एमको आँगनीमा तीज गीत गाएर पर्व मनाउने व्यवस्था मिलाउने र विगतका वर्षहरुमा जस्तो प्रतियोगितात्मक कार्यक्रम गरेर पुरस्कार वितरण गर्ने नभई चेलीहरुलाई दक्षिणा दिने बताए । आगामी कात्तिक ४ गते कालिका एफ एम म्युजिक अवार्ड तथा वार्षिकोत्सव समापन समारोह गरिने पनि उनले जानकारी दिए ।