«

»

उप निर्वाचनको सुरक्षा योजना तयार

आनन्द पोखरेल
भरतपुर, २ असार
असार ८ गते हुन गइरहेको संविधानसभा सदस्य उप निर्वाचनका लागि चितवन क्षेत्र नम्वर ४ मा सुरक्षा योजना तयार पारिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले मतदान अगाडिको समय, मतदानको समय र मतदान पछिको समय गरेर उप निर्वाचनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था तयार गरिएको जानकारी दिएका छन् ।

eliction
‘जिल्ला सुरक्षा समितिको बैठक बसी हामीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि भरपर्दो सुरक्षा व्यवस्था अपनाएका छौँ’ शर्माले भने– ‘निर्वाचन सुरक्षाको लागि क्षेत्र नम्वर ४ मा घुम्ती सुरक्षा व्यवस्था, मोवाइल टोली, जगेडा फोर्स, हवाइ सुरक्षा टोली निर्माण गरेका छौँ ।’
निर्वाचन आयोगद्वारा भरतपुरमा सोमबारदेखि सुरु भएको विद्युतीय मतदान तथा मतगणना प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शर्माले यस पटकको उप निर्वाचनमा नेपाली सेनालाई परिचालन नगरिएको भए पनि सतर्क अवस्थामा राखिएको बताए । ‘यो उप निर्वाचनमा नेपाली सेनाको प्रयोग गरिएको छैन’ शर्माले भने– ‘आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरि उनीहरुलाई पनि सतर्क अवस्थामा राख्दैछौँ ।’
निर्वाचन सुरक्षाको लागि क्षेत्र नम्वर ४ को गीतानगरमा र सदरमुकाममा दुई वटा जगेडा टोली तयारी अवस्थामा राखिने पनि शर्माले बताए । ‘उप निर्वाचन हुने क्षेत्रमा बाहिरका गतिविधि हुन नदिनका लागि असार ८ गते रोड ब्लक गर्छौँ’ शर्माले भने– ‘तर यसले लामो दूरीमा चल्ने सवारी साधनलाई कुनै अप्ठेरो पार्ने छैनौँ, उनीहरुलाई निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाएका छौँ ।’ जिल्लामा रहेका सरकारी तथा संस्थानका कार्यालयहरुमा उप निर्वाचन हुने दिनमा सुरक्षाकर्मी परिचालन गरि कुनै घटना हुन नदिने तर्फ पनि सुरक्षा योजना तयार पारिएको शर्माले जानकारी दिए ।
निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि हात हतियार तथा मदिरालाई जिल्ला तथा निर्वाचन क्षेत्रमा प्रतिबन्ध लगाइसकिएको शर्माले बताए । जिल्लामा निर्वाचनको दिनमा कुनै पनि अप्रिय घटना नहोस् भनेर प्रमुख जिल्ला अधिकारीको कमाण्डमा एउटा घुम्ती टोली र सहायक प्रमुख जिल्ला अधिकारीको सहकमाण्डमा पनि घुम्ती टोली निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । उनका लागि असार ८ गतेको लागि एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिने छ ।
उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले दोस्रो संविधानसभाको निर्वाचनमा जस्तो यो उप निर्वाचनमा बहिस्कारवादीहरु नसल्बलाएका बताए ।
‘नेपालभरि चार ठाउँमा मात्र उप निर्वाचन हुँदैछ, त्यस कारण निर्वाचनलाई लक्षित गरेर जिल्लामा अन्य क्षेत्रबाट कार्यकर्ता उतार्न सक्छन्’ कार्कीले भने– ‘विविध विषयलाई मध्यनजर गर्दै हामीले पनि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएका छौँ ।’ उप निर्वाचन हुने क्षेत्रको हरेक मतदान स्थलमा नेपाल प्रहरीको स्ट्रकिङ कमाण्ड पाँच देखि १० मिनेट भित्र पुग्ने गरि सुरक्षा व्यवस्था तयार पारिएको कार्कीले बताए ।
‘मतदानमा खटिने अधिकृतज्यूहरुले निर्वाचनको सुरक्षा घेरा बलियो बनाउनुस्’ कार्कीले भने– ‘अन्य सुरक्षाको जिम्मा हामीले लिन्छौँ ।’ यस पटकको उप निर्वाचनमा म्यादी प्रहरी परिचालित नहुने भएकाले पनि सुरक्षाको लागि नेपाल प्रहरीले आवश्यकता अनुसारको प्रहरी परिचालन गर्ने तयारी गरेको कार्कीले बताए । मतदानको समयमा सुरक्षाकर्मी र मतदानको लागि खटिएका कर्मचारीहरु मिलेर काम गरेको अवस्थामा सहज तरिकाले निर्वाचन सम्पन्न गर्न सकिने कार्कीले बताए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा बल आँपटारीका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले मतदान केन्द्रभित्र नेपाल प्रहरी र बाहिरी सुरक्षा घेरामा सशस्त्र प्रहरी बस्ने बताए । ‘हामीले तीन वटा मतदान स्थललाई लक्षित गरेर एउटा मोवाइल टोली बनाएका छौँ’ थापाले भने– ‘कुनै ठाउँमा अप्ठेरो परेको जानकारी आएमा पाँच मिनेट भित्र नै सशस्त्रको टोली त्यस ठाउँमा पुग्न सक्छ ।’ उप निर्वाचन हुने दिनमा सशस्त्र प्रहरीको टोली उच्च सतर्कताका साथ परिचालन गरिने पनि थापाले बताए ।
त्यस्तै, राष्ट्रिय अनुसन्धान विभाग, चितवनका प्रहरी उपरीक्षक बाबुराम पौडेलले निर्वाचनलाई लक्षित गरेर अनुसन्धान विभागका कर्मचारीहरु गोप्य रुपमा परिचालन गरिसकिएको बताए । ‘हामीले हाम्रा कर्मचारी परिचालन गरिसकेका छौँ’ पौडेलले भने– ‘मतदानको दिनमा पनि मतदान केन्द्र भित्र र बाहिर पनि हाम्रा कर्मचारीले आफ्नो काम गरिरहेका हुन्छन् ।’ यो उप निर्वाचनमा पहिलेको जस्तो सुरक्षा खतरा नरहेको पनि पौडेलले बताए ।
कार्यक्रममा चितवन जिल्ला अदातलका जिल्ला न्यायाधिस तथा चितवन क्षेत्र नम्वर ४ का मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले उप निर्वाचनमा खटिने कर्मचारीले आफ्नो आस्था र विचारलाई यथास्थानमा छोडेर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि भूमिका खेल्नुपर्ने बताए ।
कर्मचारीलाई आचार्यको आग्रह थियो– ‘यो उप निर्वाचनमा आफ्नो विचार र आस्थालाई बाहिर नलिकाल्नु होला, आफ्नो आस्था बाहिर निस्केको अवस्थामा हामीलाई बिवादित बनाउने छ ।’
उप निर्वाचन सकिएकै दिनमा सबै मतदान स्थलबाट विद्युतीय मतदान यन्त्र सदरमुकाम ल्याइने र सोही दिन मत परिणाम घोषणा गर्ने पनि आचार्यले बताए । ‘भरतपुर नगरपालिकाभित्र २२ वटा मतदान केन्द्र रहेका छन्’ आचार्यले भने – ‘यसमध्ये एउटा महिला मतदाताको लागि मात्र छुट्याइएको छ ।’ महिलाहरु मात्र कर्मचारी रहेको मतदान केन्द्रमा महिला सुरक्षाकर्मी नै परिचालन गर्न पनि आचार्यले सुरक्षा निकायलाई आग्रह गरे ।
कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले असल निर्वाचनका लागि राम्रो प्रविधिका साथै राम्रो विधि, ऐन र प्रकृया हुनुपर्ने बताइन् । ‘यो विद्युतीय मतदान प्रणाली असल पनि छ र हाम्रो नीति तथा ऐन पनि राम्रो भएका कारण यो उप निर्वाचन सफल हुन्छ’ शर्माले भनिन्– ‘उपकरण सरल भए पनि संवेदनशील भएका कारण मतदान अधिकृत लगायतका कर्मचारी उप निर्वाचनको दिनमा संयमित हुनु पर्दछ ।’ विद्युतीय मदानबाट हुने मतदान प्रकृयामा कसैको पनि मत बदर नहुने शर्माले बताइन् ।
उक्त विद्युतीय मतदान तथा मत गणना प्रशिक्षणको उद्घाटन सत्रमा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले उप निर्वाचनको लागि चितवनमा ३१ मतदान स्थल र ८२ वटा मतदान केन्द्र रहेको जानकारी दिए । ढकालले भरतपुर ८ मा रहेको राष्ट्रिय माविको क मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला मात्र रहेका जानकारी दिए । उक्त मतदान केन्द्रमा पाँच सय ८८ जना मतदाता रहेका छन् । चितवन क्षेत्र नम्वर ४ मा ६५ हजार दुई सय ९९ मतदाता छन् ।