«

»

गैरआवासीय नेपाली सल्लाहकार बोर्डको चौथौं वैठक सम्पन्न

सन् २०१३ जुलाई १८ का दिन सिंहदरवार स्थित राष्ट्रिय योजना आयोगको सभा कक्षमा गैरआवासीय नेपाली सल्लाहकार बोर्डको चौथौं वैठक सम्पन्न भयो । उक्त वैठकको अध्यक्षता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्र मान शाक्यले गर्नु भएको थियो । वैठकमा मुख्यतया आगामी अक्टोवर २१ र २२ मा काठमाडौं आयोजना हुने छैठौं गैरआवासीय नेपाली विश्व सम्मेलनको तयारी, परराष्ट्र मन्त्रीको अध्यक्षतामा गठन गरिने उच्च स्तरिय आयोजक समिति, नेपाली मूलकी विदेशी महिलाका छोराछोरीहरुलाई गैरआवासीय नेपाली परिचयपत्र उपलव्ध गराउने, गैरआवासीय नेपाली अभियानलाई ठोस रुपमा उपलव्धी मूलक बनाउने, संघ दर्ता तथा अन्य गैरआवासीय नेपाली सम्बन्धि सरोकारका विषयहरुमा छलफल भएको थियो ।
सल्लाहकार बोर्डका नयाँ अध्यक्षलाई हालसम्म भएका बोर्डका निर्णयहरु बारे बोर्डका सदस्य सचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, कृष्ण ढकालले अवगत गराउनु भयो । मुख्य मुद्दा नै संघ दर्ता सम्बन्धी रहेको निष्कर्ष निकाल्दै संघ दर्ता सरोकारवाला सबैको हितको लागी हुने भएकोले परराष्ट्र मन्त्रालय संग पुनः एक पटक गैरआवासीय नेपाली संघले अनुरोध गर्ने सुझाव प्राप्त भयो । सो अवसरमा संघका अध्यक्षले नेपाल सरकारले गैरआवासीय नेपाली सल्लाहकार बोर्ड समेत गठन गरि सकेको अवस्थामा नेपालमा बिधिबत रुपमा संघ दर्ता नहुँदा निक्कै असहज अवस्था रहेको जानकारी गराउनु भयो । परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकालले उच्च स्तरिय आयोजक समिति गठनको लागी अन्तिम तयारी भई सकेको र छिट्टै मन्त्री परिषदमा स्विकृतिको लागी पेश गरिने जानकारी गराउनु भयो ।
अध्यक्ष लामिछानेले छैठौं गैरआवासीय नेपाली विश्व सम्मेलनकाको तयारीको लागी गैरआवासीय नेपाली संघको आन्तरिक आयोजक समिति गठन भई सकेको र उच्च स्तरिय आयोजक समिति गठन भए पश्च्यात यस समितिमा छलफल गरि ठोस कार्य योजनाहरु तय गरिने जानकारी दिनु भयो । 
गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ ले स्पष्ट व्यवस्था गरेको र विगतमा दुई जना नेपाली मूलकी विदेशी महिलाहरुका छोराछोरीहरुलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराईसकेको अवस्थामा हाल आएर सो के कति कारणले रोक्का गरिएको हो भन्ने बारेमा तुरुन्त कानून मन्त्रालयमा जानकारी गराउन बोर्डले परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्‍यो । 
गैरआवासीय नेपाली अभियानलाई ठोस रुपमा उपलव्धी मूलक बनाउन Institute of Foreign Affairs (IFA) लाई कार्यपत्र तयार गर्ने जिम्मा दिने निर्णय गर्दै आगामी हुने विश्व सम्मेलनमा यस बिषयमा छलफल गरिनु पर्ने सुझाव समेत सहभागीहरुले दिए । यसै अवसरमा अध्यक्ष लामिछानेले गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा ७ र १३ बाझिएकोले त्यसलाई स्पष्ट पारिनु पर्ने राय समेत पेश गर्नु भयो ।
अन्त्यमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्र मान शाक्यले आफ्नो व्यस्थताका वावजुत पनि बैठकमा सहभागी भई आफ्नो सुझवाहरु पेश गर्नु भएकोमा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिंदै बैठक विसर्जन गर्नु भयो ।
सो वैठकमा नेपाल सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्र मान शाक्य लगायत कानुन सचिव भेषराज शर्मा, उद्योग सचिव कृष्ण ज्ञवाली, परराष्ट्र मन्त्रालयका सहसचिव द्वय  अर्जुन थापा र कृष्ण ढकाल, लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्त, अर्थ मन्त्रालय सहसचिव मधु मरासिनि, पराष्ट्र मन्त्रालयका उपसचिव जीवन प्रकाश श्रेष्ठ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत द्वय नारायण वाग्ले र गौरीश्वर रेग्मी, गैरआवासीय नेपाली संंघका अध्यक्ष जीवा लामिछाने र गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो ।