«

»

ब्यापारका लागि एनआरएनको दुरुपयोग गरेको छैन

जीवा लामिछाने, अध्यक्ष, गैरआवासीय नेपाली संघ ( @onlinekhabar dot com)

यतिबेला बिदेशमा रहेका नेपालीहरुलाई चुनावी चटारो छ । आगामी अक्टुवरमा काठमाण्डौमा हुने गैरआवासीय नेपाली संघको बिश्वसम्मेलन हुने भएकाले राष्ट्रिय समन्वय समितिहरुमा यतिबेला चुनावमय भएका छन् । यससागै एनआरएनको आगामी नेतृत्वका बिषयमा पनि जोडघटाउ सुरु भएको छ । वर्तमान अध्यक्ष जीवा लामिछानेले अर्को कार्यकालका लागि उम्मेदवार नबने घोषणा गरेसागै अर्को कार्यकालका लागि अध्यक्षमा दावी गर्ने क्रम पनि सुरु भएको छ ।

कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेको अबस्थामा अध्यक्ष लामिछानेसँग दुई बर्षे कार्यकाल, आगामी नेतृत्व र गैरआवसीय नेपालीहरुका एजेण्डाका बिषयमा केन्द्रीय रहेर लिएको लिखित अन्तर्वार्ताको अंश-

jiba-lamichhane१.एनआरएनको आगामी नेतृत्वको बिषयमा चर्चा सुरु नहुँदै तपाईले म अध्यक्ष बन्दिन भनेर घोषणा गर्नुभएको छ । नेतृत्वमा रहिरहन तपाईका लागि कुनै अबरोध नहुँदा पनि किन तपाईले रुची नगर्नु भएको हो ?

मैले पाँचौ बिश्व सम्मेलनमा आफ्नो उम्मेदवारी घोषणा गर्दा नै स्पस्ट रुपमा भनेको थिएँ म एक कार्यकाल अर्थात् २ बर्षका लागि मात्र अध्यक्ष रहनेछु । धेरै साथीहरुले आफुले सुरु गरेको काम पुरा गर्नका लागि भए पनि एक कार्यकाल अझै निरन्तरता दिनुपर्छ भनेर अनुरोध गर्नु भएको छ । सुरु गरेका कामहरुको निरन्तरता र योगदान मैले कार्यसमितिको नेतृत्वमा नरहेरै पनि पुरा गर्न सक्छु । तर मैले पटक-पटक सार्बजनिक रुपमा म अर्को कार्यकाल दोहोर्याउदिन भनि सकेको छु । बोलेको कुरा पुरा गर्नुपर्छ । निरन्तरता दिने भन्ने कुरा अब सम्भव छैन ।

२.ब्यापार ब्यबसाय छाडेर एनआरएनका कार्यक्रममा दौडिरहनुपर्ने, समय र पैसा पनि धेरै नै लगानी गर्नुपर्ने भएकाले यो तातो कुर्सीमा लामो समय बसिरहन कठिन भएको हो ?

यो सामाजिक संस्था भएकोले यसमा लाग्दा आफ्नो समय,स्रोत,शक्ति खर्च त गर्नु नै पर्छ । हामीसंग संस्था चलाउनका लागि कुनै अतिरिक्त फण्ड छैन । संघसंग आवद्द साथीहरुले स्वेच्छाले गर्नु भएको योगदानवाट चल्दै आएको छ । मलाई कस्तो लाग्छ भने सामाजिक संस्थाहरुमा आफ्ना केहि एजेन्डाहरु छन भने प्रस्ट रुपमा लिएर जाने र त्यसको कार्वान्वयनमा ईमान्दारीपूर्वक लाग्ने, अनि त्यसको कार्वान्वयनपछि अर्को पुस्तालाई हस्तान्तरण गरि दिनुपर्छ । एउटै मानिस यस्ता पदहरुमा निरन्तर रहिरह्यो भने उसले पनि सधैं एकनासले काम गर्न सकदैन । उसको काम गर्ने उर्जा कम हुँदै जान्छ । नयाँ पुस्ता र नयाँ योजनाहरुले प्रवेश पाउन सक्दैनन् ।

३.दुई बर्षे आफ्नो कार्यकाललाई तपाई आफैंले कस्तो मूल्याङ्कन गर्नुभएको छ ?

मैले आफैं मूल्यांकन गर्नु भन्दा पनि तपाईंहरु र एनआरएन साथीहरुले हाम्रो कार्यकाललाई ईमान्दारीपूर्वक मुल्यांकन गरिदिनु पर्छ । जे जति काम गर्न सके त्यसमा म सन्तुष्ट छु ।

४.तपाईंले आफ्नो कार्यकारी समितिका सदस्यहरुबाट कत्तिको सहयोग पाउनु भयो ?

सबैवाट सहयोग मिलेकै हो । तर सबै साथीहरु मैले सोँचेजति एक्टिभ चाहिं हुन सक्नुभएन । यो एउटा सामाजिक र भोलन्टियर अर्गनाइजेसन भएको र त्यसैगरि साथीहरुको आफ्नो कार्य व्यस्तताको कारण पनि सायद त्यसो भएको हुन सक्छ । अव सँस्था ठूलो भई सकेकोले धेरै जिम्मेवारी पनि थपिएको छ । फुर्सदमा मात्र समय दिएर नपुग्ने भईसक्यो । त्यसैले नेतृत्वमा आउन चाहने साथीहरु आ-आफ्नो कमिट्मेन्टसहित आउनुहुन मेरो सुझाव छ ।

५.तपाई अध्यक्ष हुँदा जे वाचा गर्नुभएको थियो, तीमध्ये कति पुरा भए ? कति हुन सकेनन् ?

मैले अध्यक्ष पदमा उम्मेदवारि दिंदा ठूला-ठूला र गर्न नसकिने कुनै पनि कामहरु गर्छु भनेर प्रतिबद्धता व्यक्त गरेको थिईन । मैले गरेका सबै प्रतिबद्धताहरु पुरा गर्न म ईमान्दारीपूर्वक लागेको छु । कतिपय ठाउँमा सफलता मिलेको पनि छ । सामुहिक लगानी र सामाजिक परियोजनाका क्षेत्रहरुमा हामी अपेक्षाकृत रुपमा काम गर्न सफल भयौं भन्ने मैले ठानेको छु । सबै राजनैतिक पार्टीहरु, सभासदहरु र नेपाल सरकारका नीति निर्माताहरुसंगको लामो छलफलपश्चात नेपाली नागरिकताको निरन्तरतासम्बन्धि बिषयमा पनि निक्कै सकारात्मक वाताबरण बनेको थियो । गत बर्ष देशमा नयाँ संबिधान बनेको भए हामीले १० बर्षदेखि उठाउँदै आएको नेपाली नागरिकताको निरन्तरता सम्बन्धि बिषय समावेश हुने कुरा निश्चित थियो । राजनीतिक पार्टीहरु बिच सहमति भैसकेका बिषयहरुको मस्यौदा तयार गर्दा हाम्रो यो ईस्यु त्यहाँ समावेश भै सकेको मैले जानकारी पाएको थिएँ । केहि इस्स्युहरु हामीले चाहेर मात्रै पुरा नहुने प्रकृतिका थिए । जस्तो- गैर आवासीय नेपाली संघ दर्ता सम्बन्धि बिषय । दर्ताका सम्बन्धमा भने हाम्रो अथक प्रयासका बाबजुद पनि दुर्भाग्यबस गैरआवासीय नेपाली संघ अझै दर्ता गर्न सकेका छैनौं ।

६.तपाईहरुले सामूहिक लगानी परियोजना सुरु गर्नुभयो । तर,एनआरएनको नाम र इमेजलाई प्रयोग गरेर ब्यापार गर्न खोजेको भन्दै एनआरएन अगुवाहरुले नै आरोप लगाइरहेका छन नी ?

यो गलत आरोप हो । मैले गैरआवासीय नेपाली संघमा लाग्नु भन्दा धेरै अगाडीदेखि नै विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेकै हुँ । मलाई संघको ईमेज प्रयोग गरेर व्यापार गर्न र आफ्नो व्यक्तिगत फाइदा लिन आवश्यक छैन । गैरआवासीय नेपाली संघ स्थापनाको एउटा प्रमुख उदेश्य बिदेशमा बसोबास गर्ने नेपालीसंग रहेको शिप, पूँजी तथा मानव संसाधनलाई संघको बिश्वब्यापी संजाललाई उपयोग गर्दै नेपालको समग्र विकासमा परिचालन गर्नु हो । त्यही उद्देश्यलाई मुर्तरुप दिनका लागि सामुहिक लगानीको अवधारणा अघि बढाइएको हो । यो योजनामा अरु कुनै स्वार्थ छैन । लगानी नगर्दा पनि आलोचना हुने, गर्दा पनि हुने हाम्रो नियती नै यस्तै छ। तर देश र सञ्जालको लागि हित हुने काम गर्दा मैले व्यक्तिगत आलोचनाले सुन्नु परे पनि त्यसले मलाई बिचलित बनाएको छैन।

७. तपाईंले आफ्नो कार्यकाललाई लगानीमा मात्रै फोकस गरेर अर्कोतर्फ ध्यान नदिएको भन्ने पनि आरोप छ नि ?

मैले लगानीलाई एउटा प्रमुख एजेन्डाको रुपमा राखेकै हुँ । गैर आवासीय नेपाली संघको स्थापना कालदेखि नै लगानी प्रमुख बिषय रहँदै आएको हो । हामीले बिगतमा पनि १०० मिलियन डलर फण्डको कुरा उठाएकै हौँ । एनआरएन अभियानमा अग्रजहरुले सुरु गरेको अभियानमा मैले एउटा ईटा मात्रै थप्ने प्रयास गरेको हुँ । मैले आफ्नो उम्मेदवारी दिंदा राखेका सबै एजेन्डाहरुलाई उत्तिकै फोकस गरेको छु । तर लगानीभन्दा अरु कामै नभएको भन्ने होईन । पहिलेदेखि नै गर्दै आएको च्यारिटिको परियोजना, खुला विश्वविधालय आदिको अभियानले निरन्तता मात्र पाएका छैनन अझ शसक्तरुपमा अघि बढेका छन।

८.एनआरएनकै संरक्षक देवमान हिराचनको नेतृत्वमा फेरि अर्को सामूहिक लगानी गर्ने कम्पनी खुलेको छ । कुनचाहिं आधिकारिक हो,कुनमा लगानी गर्ने भनेर एनआरएनहरु कन्फ्युज हुँदैनन् ?

प्रमुख संरक्षक देबमान हिराचनजीले कम्पनि खोलेर साथीहरुलाई लगानीका लागि आव्हान गर्नु अति राम्रो कुरा हो । हामीले चाहेको पनि लगानी गर्न चाहनु हुने साथीहरुलाई आफूंलाई अनुकुल हुने क्षेत्रमा लगानी गर्न अवसर मिलोस भन्ने नै हो । साथीहरुले आफुलाई अनुकुल हुने र लगानी गरेको ग्रुपसंग आफु बिस्वस्त हुन सके जुन सुकै ग्रुप वा कम्पनीमा लगानी गर्न सक्नुहुन्छ । यहाँ कम्पिटिसन र कन्फ्युज्ड हुने भन्ने कुरै छैन । नेपाल सरकारको प्राथमिकतामा परेको र राष्ट्र निर्माणका लागि आधारभूत क्षेत्र जलविद्युतको लगानीमा गर्ने कार्यसमितिको निर्णय बमोजिम हामी अगाडी बढेका हौं ।

९.सामूहिक लगानी जुटाउने क्रममा तपाई बिभिन्न देशहरुमा पुग्नुभयो । केही देशमा तपाईहरुको कार्यक्रम बिथोल्ने,तपाइलाई सहयोग नगर्नेसम्मका काम भए । किन त्यसो भएको हो ?

कार्यक्रम बिथोल्ने घटनाहरु कहिँ पनि भएनन् । समग्रमा सामुहिक लगानीको अभियानलाई लिएर म जति पनि ठाउंमा पुगें त्यहाँ सहयोग र उत्साहजनक सहभागिता नै रहेको मैले अनुभव गरेंको हुँ । केहि ठाउंहरुवाट बिभिन्न कारणबश अपेक्षाकृत रुपमा लगानी नआएको हुन सक्छ । कार्यक्रम बिथोलेको भन्ने कुरा चाहिं मैले पहिलो चोटी सुन्दै छु।

१०.एनआरएनभित्र पनि अब जातीय, क्षेत्रीय, राजनीति गुटहरु निर्माण हुन लागेको र एनआरएन पनि राजनीति गर्ने थलो बन्न लागेको भन्ने टिप्पणी पनि हुन थालेका छन नी ?

गैर आवासीय नेपाली संघ विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्था हो । यसलाई जातीय, क्षेत्रिय, बर्गीय र राजनीतिक आस्थाका आधारमा गुट-उपगुट हुन नदिई सबैको साझा संस्था बनाएर राख्नु पर्छ । केहि ब्यक्ति तथा समूहहरु अहिले सम्म बिद्यमान सद्भाव बिथोल्ने प्रयास गर्न सक्छन तर हामी सबैले त्यसलाई निस्तेज पार्नु पर्छ ।

११.एनआरएन हुने खानेहरुको संस्था मात्र हो, हामी श्रमिकहरुको हैन भन्ने धारणा बिदेशमा कार्यरत नेपाली श्रमिकहरुको पाइन्छ । एनआरएनले दुःखी र पिडीत श्रमिकका लागि केही गर्न नसकेको हो कि नचाहेको ?

श्रमिक तथा बैदेसिक रोजगारीमा जानेहरुका समस्याहरु बिकराल छन । सबैखाले समस्याहरुलाई व्यक्तिगत रुपमा सम्बोधन गरेर निराकरण गर्न हामीले चाहेर पनि असम्भव हुन्छ । संघले गर्ने भनेको समस्याको जरो पत्ता लगाएर त्यसको रोकथामका लागि सम्बन्धित निकायमा पहल गर्ने हो । गैरआवासीय नेपाली संघले बैदेसिक रोजगारीका समस्याहरुलाई सधै उच्च प्राथमिकतामा राखेको छ । दुई वटा क्षेत्रिय सम्मेलनहरु सुरक्षित आप्रवासलाई फोकस गरेर सम्पन्न भएका थिए ।

बैदेसिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन हामीले गरेका कतिपय पहलहरुको सुनुवाई पनि भएको छ । संघले स्थापना कालदेखि नै श्रमिकहरुका लागि अनिबार्य बिमाको ब्यबस्था, कल्याणकारी कोषको स्थापना, दुतावासमा श्रम-सहचारी नियुक्ति, दुई देशबिच श्रम-सम्झौता गरिनु पर्ने, न्युनतम तलब तोकिनु पर्ने, नेपालीहरु उल्लेख्य संख्यामा उपस्थिति भएका देशहरुमा दुतावास र कन्सुलेटको स्थापना हुनुपर्ने आदि बिषयमा जोडदार आवाज उठाउँदै आएको हो र कालान्तरमा ती मुद्दाहरु सम्बोधन भएर आएका छन । खाडी देशहरुका राष्ट्रिय समन्वय परिषदहरुले स-सानै भए पनि कल्याणकारी कोषको माध्यमवाट विपदमा परेका साथीहरुलाई सहयोग पनि गर्दै आएका छन । डोल्मा शेर्पालाई मृत्यदण्डवाट बचाउन र दोर्जे गुरुङलाई कतार जेलबाट मुक्त गर्न संघको तर्फवाट यथासक्य पहल र ऐक्यवद्दता भएको थियो ।

१२.पछिल्लो दिनमा एनआरएनका इस्यु पनि सकिंदै गएका छन र नेपालमा एनआरएनप्रतिको आशा र आर्कषण पनि घटेको देखिन्छ । आगामी दिनमा गैरआवासीय नेपाली संघ कुन स्वरुपमा अगाडी बढ्ने देख्नुहुन्छ ?

एनआरएन प्रति आकर्षण घटेको मैले महसुस गरेको छैन । पछिल्लो समयमा नेपाल सरकार लगायत सरोकारवाला सबै निकायहरुबाट गैर आवासीय नेपाली संघले मान्यता पाउँदै गएको छ । नेपाल लगानी बोर्ड, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद आदि स्थानहरुमा हाम्रो संस्थागत उपस्थिति रहँदै आएको छ । सर्बसाधारण जनताहरुले समेत गैरआवासीय नेपालीहरुलाई विदेशमा बसेर पनि स्वदेशको लागि केहि गर्न प्रयास गरिरहेको समुदायको रुपमा लिएको मैले अनुभव गरेको छु ।

१३. आफुपछिको नेतृत्व कसलाई सुम्पदै हुनुहुन्छ ?

गैर आवासीय नेपाली संघमा नेतृत्व लिनका लागि सक्षम साथीहरु छन । मेरो चाहना संघको मर्यादा र गरिमालाई अझ बढी उचाईमा पुर्याउने र लाखौ गैरआवासीय नेपालीहरुको चाहना अनुसारको नेतृत्व आओस भन्ने हो ।