«

»

चितवनमा धेरै उठ्यो राजश्व यस पटक

भरतपुर । आन्तरिक राजस्व कार्यालय भरतपुरले कर अनुसन्धान र परीक्षणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएपछि लक्ष्यभन्दा बढी राजस्व असुली भएको छ । 

विभागले पूर्ण कर परीक्षणका लागि फागुन मसान्तसम्म ६८ वटा फर्म अनुसन्धान गर्ने लक्ष्य तोकेकामा कार्यालयले ९० वटा फर्मको पूर्ण कर परीक्षण गरिसकेको छ । विस्तृत अनुसन्धानका लागि नौवटा तोकिएकामा ३६ वटा र तत्काल कर परीक्षणका लागि १३ वटा तोकिएकामा १५ वटा फर्मको तत्काल कर परीक्षण गरिएको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पूर्ण कर परीक्षणको आयकरतर्फ ९० लाख रूपैयाँ लक्ष्य राखिएकामा एक करोड ४० लाख ९९ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) मा ४३ लाखको लक्ष्य राखिएकामा ५३ लाख ६६ हजार र अन्तःशुल्कतर्फ १३ लाखको लक्ष्य राखिएकामा एक करोड ६८ हजार रूपैयाँ असुली भएको छ ।
 
त्यस्तै, विस्तृत अनुसन्धानको आयकरतर्फ ६० लाख कर निर्धारण गर्ने लक्ष्य राखिएकामा दुई करोड ३६ लाख ७६ हजार र मूल्य अभिवृद्धिकरतर्फ ४० लाखको निर्धारण गर्ने लक्ष्य राखिएकामा २८ लाख ४३ लाख रूपैयाँ निर्धारण गरिएको छ । 

तत्काल कर परीक्षणतर्फ मूल्य अभिवृद्धि कर १२ लाख रूपैयाँको लक्ष्य राखिएकामा २५ लाख ८३ हजार रूपैयाँ असुली भएको कार्यालयका प्रमुख प्रेम उपाध्यायले बताउनुभयो । अघिल्लो वर्ष ठूला फर्महरूको कर परीक्षण र अनुसन्धान गरिएका कारण राजस्वको मात्रा बढी निर्धारण गरिएको भए पनि सङ्ख्याको हिसाबले लक्ष्यभन्दा यस वर्षको प्रगति उत्साहजनक रहेको कार्यालयको दाबी छ । 

आन्तरिक राजस्व विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन एवम् सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारका आधारमा फर्महरू निर्धारण गरी उनीहरूको अनुसन्धान गर्ने गरिन्छ । चुस्तदुरुस्त लेखा राख्न नसक्ने र छल्ने फर्महरूको अनुसन्धान र पुनः कर परीक्षणबाट राजस्व तय गर्दा फर्म धनीले २०० प्रतिशतभन्दा बढी राजस्व तिर्नुपर्ने हुन्छ । 

कतिपय व्यक्ति वा फर्मधनीले अज्ञानता वा अर्काको भर परेका कारण अनाहकमा जरिवानामा पर्ने गरेको प्रमुख उपाध्यायले बताउनुभयो । करदाताहरूलाई कार्यालयमा जानकारी लिन, स्वयम् सचेत बन्न र कारोबार पारदर्शी राख्न पनि उपाध्यायले सुझाव दिनुभयो । सुरुमा लेखाप्रणाली व्यवस्थित ढङ्गले नराख्दा ठूलो मात्रामा जरिवानामा परेपछि कतिपय करदाताहरू निराश बनेर भौँतारिने गरेको पनि पाइएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरमा पुराना र अनुभवी कर्मचारी रहेका कारण पनि अनुसन्धान र कर परीक्षणमा सफलता मिलेको कार्यालयको दाबी छ । रासस