«

»

समाजसेवी मैयादेवी श्रेष्ठद्वारा घरघडेरी ट्रस्टलाई प्रदान

चितवन, ५ साउन । समाजसेवी मैयादेवी श्रेष्ठले आफू बस्दै आएको नारायणगढको घरघडेरी ट्रस्टलाई प्रदान गरेकी छिन् । उनकै नामबाट दर्ता गरिएको मैयादेवी ट्रस्ट नेपाललाई श्रेष्ठले घरघडेरी प्रदान गरेकी हुन् ।
नारायणगढको मेनरोडमा रहेको १४ धुर जग्गा र त्यसमा बनेको तीनतले भवन श्रेष्ठले मालपोत कार्यालय चितवनबाट ट्रस्टको नाममा पास गरिदिएकी हुन् ।
ट्रस्टका महासचिव टंकनाथ पौडेलका अनुसार उक्त घरघडेरीको हालको चल्ती मूल्य १५ करोड रुपैयाँ बराबर रहेको छ । अविवाहित ८७ वर्षीया श्रेष्ठले सामाजिक सङ्घसंस्थालाई करोडौँ रुपैयाँ बराबरको भौतिक सम्पत्ति प्रदान गरिसकेकी छिन् । उनी बस्ने गरेको देवघाटको घर जग्गा ओम शान्ति मैयादेवी ट्रस्टलाई यसअघि नै प्रदान गरिसकेकी छिन् ।
श्रेष्ठले काठमाडौँको रविभवनमा रहेको घरजग्गा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिलाई प्रदान गरेकी थिइन् । नारायणगढको कमलनगरमा रहेको नेपाली काँग्रेस चितवनको कार्यालय भवन भएको जग्गा पनि श्रेष्ठले नै प्रदान गरेकी हुन् । रासस