«

»

सम्पादकीय ः विश्व पर्यटन दिवस र नेपाली पर्यटन

हरेक वर्षको २७ सेप्टेम्बरलाई ‘विश्व पर्यटन दिवस’ का रुपमा विश्वभर मनाईन्छ । नेपालमा पनि असोज ११ गते शुक्रबार विश्व पर्यटन दिवस मनाईयो । यो ३४ औं दिवस पनि हो । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटन र पानी ः बचाऔँ हाम्रो साझा भविष्य’ थियो । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आव्हानमा हरेक वर्ष मनाईँदै आएको यो दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिन्न कार्यक्रम समेत गरिन्छ । 
विश्व पर्यटन दिवसले तय गरेको नाराले नेपालमा मात्रै होइन, विश्वभर पर्यटन र पानीलाई महत्व दिएको छ । वास्तवमा पर्यटनसँग पानी जोडिएको कुरालाई नकार्न सकिँदैन । पानी विनाको पर्यटन कल्पना गर्न सकिँदैन । पर्यटनको क्षेत्रलाई पानीले धानेको पनि छ । त्यसमाथि पानीसँगै पर्यटन रह्यो भने विश्वभर रहेका मानिसहरुको जीवन पनि धानिन सक्छ । यो साझा भविष्यका लागि हामीले पृथ्वीमा पानी र पर्यटन धान्नुपर्ने र बचाउनुपर्ने अवस्था आएको छ ।
विश्वभर पर्यटन दिवस मनाईरहँदा नेपालले पनि आफ्नो पर्यटन क्षेत्रको विकासको लागि यसबाट फाइदा लिन सक्छ । नेपालमा विश्वलाई तान्ने पर्यटकिय स्थलहरु छन् । विश्व पर्यटन दिवसलाई ध्यान दिने हो भने यही बेला विश्व पर्यटनको ध्यान नेपालले तान्नसक्छ । सम्पूर्ण पर्यटन व्यवसायी एवं संघ, संस्थाको सामूहिक सहभागिताबाट मात्र पर्यटनको विकास हुन सक्छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो यहिँ हो । सगरमाथा र पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृंखला पर्यटन स्तम्भका आधार हुन् । जैविक विविधता, ऐतिहासिक धरोहर, मन्दिरैमन्दिरका कारण पनि नेपालमा पर्यटन उद्योगको गतिलाई बढाउन सकिन्छ । साथै ¥याफ्टिङका लागि विश्वप्रसिद्ध नदीहरु, विश्वप्रसिद्ध अन्नपूर्णलगायत अन्य पदयात्रामार्गहरु, विविध जनजातिका संस्कृतिहरु, चाडपर्व, रीतिरिवाज, साहसिक पर्यटन आदि सबैको संयोजनले नेपाललाई संसारकै उत्कृष्ट गन्तव्यस्थल बनाएको छ । तर यस्ता पर्यटकीय सम्भावनालाई प्रवद्र्धन गर्न सकिएको छैन । केवल विश्वले पर्यटन दिवस मनाएकै भरमा नेपालमा पर्यटक आउने पनि होइनन् । पर्यटनलाई कोठे वैठक र सेमिनारमा सीमित राखेर यसको प्रवद्र्धन पनि हुँदैन । यसका लागि साँच्चै जोश र जाँगरका साथ नेपालको चिनारी दिन सक्नुपर्छ ।
गौतम बुद्ध जन्मिएको स्थान र सगरमाथाका बारेमा हरेक खाले मान्छेका आफ्नै तर्क आईरहन्छन् । यस्तो सर्वतथ्य कुरालाई पनि धेरैले विवादित विषय बनाइरहन्छन् । यसैले यतिबेला विश्व पर्यटन दिवस मनाईरहँदा गौतम बुद्ध नेपालमै जन्मिएका हुन् र सगरमाथा नेपालमै पर्छ भन्ने सन्देश दिन जरुरी छ । जसका लागि यस वर्ष पर्या–पर्यटनका लागि नेपाल भित्रिएका पर्यटकहरुलाई यस्ता सन्देशमूलक नारा लेखिएका पोशाक वितरण गरेर भएपनि नेपालको चिनारी दिन आवश्यक छ । जसले नेपालको पर्यटकीय सम्भावनालाई अझ बढाउनेछ भने सगरमाथा र बुद्धका विषयमा आईरहने विवादलाई मत्थर पार्न सहयोग पु¥याउनेछ ।