«

»

कृष्णप्रसाद अधिकारी हत्या प्रकरण

NANDA-PD-ADHAKARI-AT-BIR-HO_20130829100239अनसन तोड्न मन्त्रिपरिषद्का अध्यक्षको अनुरोध
‘अनुसन्धान र न्यायिक प्रक्रिया गम्भीर ढङ्गले अघि बढिरहेको छ’
काठमाडौँ, १३ भदौ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वीर अस्पतालको सघन उपचार कक्षमा अनसनमा रहेका अधिकारी दम्पतीलाई बिहीवार भेटेर अनसन तोड्न आग्रह गरेका छन् ।   
गोरखाका नन्दप्रसाद र गङ्गामाया अधिकारी आफ्ना कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आमरण अनशनमा बसेका छन् । अध्यक्ष रेग्मीले बिहीवार बिहान वीर अस्पताल गई अधिकारी दम्पतीको स्वास्थ्य स्थितिबारे जानकारी लिएपछि अनसन तोड्न अनुरोध गरेका हुन् ।
अधिकारी दम्पतीको स्वास्थ्यस्थिति बुझेर बाहिरिने क्रममा अस्पताल परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष रेग्मीले उनीहरुले उठाएको विषयबारेमा अनुसन्धान र न्यायिक प्रक्रिया गम्भीर ढङ्गले अघि बढिरहेको बताए ।
अध्यक्ष रेग्मीले भने– ‘मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रिया गम्भीर ढङ्गले अघि बढेको छ, अहिलेको स्थितिमा जीवन रक्षा महत्वपूर्ण भएकाले आश्वस्त भएर तपाईंहरुले औषधि र खानेकुरा लिएर जीवनरक्षा गर्नुहोस्, न्याय प्रक्रिया विश्वसनीय ढङ्गले अघि बढेको छ भनेर मैलै आश्वस्त तुल्याएँ ।’  
अध्यक्ष रेग्मीले न्यायिक प्रक्रियाका लागि उनीहरुले सङ्घर्ष अघि बढाएकाले राज्यले विश्वसनीय ढङ्गले अनुसन्धान अघि बढाएको विश्वास दिलाए ।
अधिकारी दम्पतीको स्वास्थ्यस्थिति अत्यन्तै कमजोर भएपछि यही साउन ४ गतेदेखि सघन उपचार कक्षमा राखिएको छ । छोरा कृष्णप्रसादलाई सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षले अपहरण गरी हत्या गरेको अधिकारी दम्पतीको भनाइ छ । सरकारले साउन १६ गते उनीहरुलाई वीर अस्पतालमा भर्ना गरेको थियो । त्यसअघि अधिकारी दम्पती प्रधानमन्त्री निवास बालुवाटार नजिक केही समय अनशनमा बसेका थिए ।
त्यसअघि, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा(एमाले) का अध्यक्ष झलनाथ खनाल बुधबार अस्पतालमा पुगेर अनशन तोड्न अधिकारी दम्पतीसँग आग्रह गर्दै न्याय दिलाउन आफूहरुको तर्फबाट पहल गरिने आश्वासन दिएका थिए । अधिकारी दम्पतीले भने न्याय नपाएसम्म  बरु आफ्नो प्राण त्याग्ने तर अनशन भने नतोड्ने अडान राख्दै आएको छ ।
अस्पतालले अधिकारी दम्पतिको उपचारका लागि समिति गठन गरेको छ । सरकारले अधिकारी दम्पतीको हेरचाहका लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको टोलीलाई अस्पतालमा खटाएको छ ।