«

»

हत्याबारे गाउँलेसँग सोधपुछ

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा छानविन गर्न गठित प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत कमाण्डको टोलीले अनुसन्धानको कारबाही अघि बढाएको र उक्त घटना देख्ने तथा सुनी थाहा पाउने चौध जना व्यक्तिसँग घटना विवरण कागज गराइसकेको जनाएको छ ।
कार्यालयका अनुसार राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस र लिखित निर्देशन बमोजिम कृष्ण प्रसादको स्थायी ठेगानाका स्थानीय व्यक्तिहरुसँग सत्यतथ्य बुझ्ने र प्रतिवेदन लिने कार्य गरिरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको उक्त कार्यालयद्वारा बुधवार जारी विज्ञप्तिमा जनाइएको छ ।
सरकारले अनसनमा रहेका अधिकारी दम्पतीलाई आफ्नो जीवन रक्षा गरी न्याय प्राप्तिको प्रयत्नमा सक्रिय हुन पुनः आग्रह गरेको छ । उहाँहरुको जीवन रक्षाका लागि अनसन तोड्न लगाउने कार्यमा आ–आफ्नो तर्फबाट सघाउन राष्ट्रिय मानव अधिकार आयोग, राजनीतिक दल, मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार, नागरिक समाजलगायत सम्बन्धित सबैसँग सरकारले अनुरोध गरेको छ ।
यसैबीच, गोरखाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्कीले गाउँका प्रत्येक घरधुरीका मानिस झिकाएर घटनाबारे प्रारम्भिक जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्कीले बताएका छन् । कृष्णप्रसाद अधिकारीको चितवनमा हत्यापछि गाउँलेले बाबुआमालाई घरमा बस्न नदिएको, बस्तुभाउ गोठमा नै मार्न बाध्य पारिएको भनिएको घटनाबारे गाउँलेसँग जानकारी लिइएको हो ।
मृतक अधिकारीको घर ठेगानामा प्रहरी कर्मचारी खटाई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रजिअ कार्कीले बताए । गाउँमा उनीहरूको अवस्था र  गाउँलेले गरेका व्यवहारबारे जानकारी दिइएको फुजेलबाट आएका टङ्क अधिकारीले जानकारी दिए ।