«

»

नारी दिवसमा बृहत रक्तदानको तयारी

blood-donation1एक हजार पाँच सय जनाले रक्तदान गर्ने
भरतपुर । १०५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आगामी फागुन २३ गते शनिबार चितवनमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक रमेशप्रसाद खरेलको अध्यक्षतामा बुधबार भरतपुरमा सम्पन्न वैठकले रक्तदान कार्यक्रमलाई व्यवस्थित गर्न सरोकारवालाहरुसँग छलफल गरेको थियो । रक्तदान कार्यक्रममा करिब एक हजार पाँच सय जनाले रक्तदान गर्ने समादेशक खरेलले जानकारी दिए ।
चितवनमा रगतको अभाव हुन नदिन नेपाल प्रहरी, स्थानीय व्यवसायिक तथा सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । बुधबार सम्पन्न वैठकले रक्तदान कार्यक्रमलाई व्यवस्थित गर्न विभिन्न कार्यगत समितिको गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।
रक्तदान कार्यक्रमको आर्थिक व्यवस्थापनमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी, सञ्चार व्यवस्थापनमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, प्रचार प्रसारमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सहकुल बहादुर थापा, भोजन व्यवस्थापनमा पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शंकरप्रसाद कँडेललाई जिम्मेवारी दिईएको छ ।
 यसैगरी प्राथमिक उपचारमा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री ज्ञानशाली न्यौपाने, रक्तदानको प्राविधिक व्यवस्थापनमा ब्लड बैँकका रमेश पौडेल, शैक्षिक सँस्थाको समन्वय गर्न रोटरी क्लब भरतपुरकी हरिदेवी शर्मा, स्टेशनरी सामग्रीको व्यवस्थापनमा यामनाथ शर्मा र कृष्ण श्रेष्ठलाई संयोजन गर्ने जिम्मेवारी दिईएको वैठकले जनाएको छ ।
ठूलो सँख्यामा रक्तदाताहरुको उपस्थिति रहने यस कार्यक्रमबाट सामाजिक सद्भावमा समेत सघाउ पुग्ने र रगतको अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपर्ने तालिम केन्द्रका समादेशक रमेश खरेलको भनाई छ । यसअघि आईतबार तालिम केन्द्रका समादेशक खरेलसहित चितवनको उद्योग वाणिज्य संघ, रोटरी क्लब, जेसीस, प्याब्सन, हिसान लगायतका सँंस्थाहरु सम्मिलित भेलाले नारी दिवसमा बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।  
(थप जानकारीका लागि सन्तोष पन्त, प्रहरी निरीक्षक ९८५५०९०५५५)