«

»

घरेलु सामाग्री उद्योग निर्माण कक्ष स्थापना

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ फागुन
सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय आँपटारीको पहलमा जिल्ला कारागार भरतपुरमा रहेका कैदी बन्दीहरुको लागि निर्माण गरिएको घरेलु सामाग्री उद्योग निर्माण कक्षको शनिबार उद्घाट गरिएको छ ।
दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कक्षको चितवनका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर बिकेले उद्घाटन गरेका हुन् । गैडाकोट उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचनको आर्थिक सहयोग तथा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय आँपटारीको श्रमदानमा उक्त कक्षको निर्माण गरिएको हो । कक्ष निर्माणपछि कैदी बन्दीहरुले आरामसँग घरेलु सामाग्रीको निर्माण गर्न सक्ने चितवनका प्रमुख जिल्ला अधिकारी बिकेले बताए ।

lll

कारागारलाई सिर्जना गर्ने थलोका रुपमा विकास गरी जीवनउपयोगी सामाग्री निर्माणमा लाग्न उद्योग कक्षले उत्साह थप्ने डाक्टर बिकेले बताए । कारागारलाई सजाय भुुक्तान गर्ने ठाउँ मात्र नभएर सुधार गृहको रुपमा व्यवस्थित गर्दै लैजानुपर्नेमा बिकेले जोड दिए ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शम्भुप्रसाद उप्रेतीले सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दीहरुलाई आयमूलक काममा सहभागी बनाएर सत्मार्गमा लाग्न प्रेरणा गर्ने उद्देश्यले उक्त उद्योग कक्षको निर्माण गरिएको बताए । बन्दीहरुले सुत्ने ठाउँमा नै घरेलु सामाग्रीहरु निर्माण गर्दै आएको देखेर उनीहरुको लागि व्यवस्थित रुपमा काम गर्न सक्ने वातावरण बनाउन उक्त निर्माण कक्षको निर्माण गरिएको उप्रेतीले बताए । उक्त कक्षमा एकैसाथ ७० जनाले काम गर्न सक्ने क्षमता भएको उप्रेतीले जानकारी दिए ।
घरेलु सामाग्री निर्माण कक्ष उद्घाटनका क्रममा जिल्ला कारागार भरतपुरका कारागार प्रमुख जेलर चोलाकान्त पोख्रेलले जेल जीवन बिताइरहेका व्यक्तिहरुले सिकेका तालिमलाई आयमूलक कार्यमा रुपान्तरण गर्न उद्योग कक्षले सघाउने बताए । कैदीबन्दीहरुले सीप सिकेर आयमूलक काम गर्दै आर्थोपार्जन गरेका कारण पनि आर्थिक रुपमा सबल बन्दै गएका पोख्रेलले बताए ।
कारागारमा कैदीबन्दीहरुले मुढा, ढाकाको पर्स, टोपी, पछ्यौरा, बाँसका डाइनिङ राउन्ड टेबल, कुशनलगायतका हस्तकलाका सामाग्री बनाउदै आएका छन् ।
यसैबीच, चिकित्सक श्रीमती संघ चितवनले कारागारमा रहेका महिला कैदीबन्दीहरुको लागि निशुल्क स्वास्थ्य शिविर गरेको छ । ३१ जना कैदी तथा १५ जना बन्दी महिलाहरुको स्वास्थ्य परीक्षण गरीएको हो । स्त्रीरोग विशेषज्ञ डा. सविता श्रेष्ठ, डा. रेणुुका ताम्राकार, डा.शारदा कुव“रले स्वास्थ्य परीक्षण गरेका थिए ।
संघकी अध्यक्ष ममता शर्मा न्यौपानेले स्वास्थ्य परीक्षणका क्रममा ल्याब टेष्ट तथा युएसजी गर्नुपर्ने अवस्था भएकाहरुको निःशुल्क परीक्षण गरिएको जानकारी दिइन् । सोहि अवसरमा संघले बन्दी गृहलाई आवश्यक पर्ने ४६ थान बेड सिट वितरण गरेको छ ।