«

»

योगदान दिएर अस्ताएका नर बहादुर

subashसुवास पण्डित
नेपाली कम्यूनिष्ट आन्दोलनको एक धरोहरको नाम हो, नर बहादुर खाँड । बुभ्mन थालेदेखि नै सर्वहारा जनताको मुक्ति भलाईका लागि सामाजिक परिवर्तन र रुपान्तरणका लागि आफ्नो सिंगो जीवन खन्याएका नरबहादुर खाँडरुपी खम्बा ढलेको आज १३ दिन पुग्यो । कम्युनिष्ट आन्दोलनको एक तारा अस्तायो, कहिल्यै नउदाउने गरी । अनुकरणीय, व्यक्तित्वका छवि बनाएका नरबहादुरले जीवनमा केही लिएर गएनन्, मात्र यो समाजलाई दिएर गए । राजनीतिसंग जोडेर समाजलाई पनि परिवर्तन गराउन सकिन्छ र माक्र्सवादलाई कसरी जीवनमा लागु गराउन सकिन्छ भन्ने दरिलो प्रमाण छाडेर स्वर्गीय खाँडले बिदा लिएका छन् ।
राजनीति र समाज बीचको सम्वन्ध कस्तो हुनुपर्दछ भन्ने शिक्षा नै उनको ७१ वर्षिय जीवनको सार अंश हो । हुन त उनी एक राजनैतिक दलसंग आवद्ध व्यक्ति हुन् तर उनको गरिमा एउटा ओत लाग्ने छानो जस्तो सबैतिर फैलिएको छ । कम्यूनिष्ट जीवन शैली अपनाउने र एक अध्येता समेत हुन्, नर बहादुर खाँड । चितवनको भुमिले पाएको एक उर्जाशिल व्यक्तित्वका धनि थिए, नर बहादुर । सादा जीवन उच्च विचार प्रत्योजकका रुपमा अरुका लागि समेत आर्दश व्यक्तिका रुपमा उनलाई लिन सकिन्छ ।
पश्चिम चितवनको गीतानगर गाविस केशरवागका स्थानीय वासिन्दा खाँडले लामो समयदेखि छाला सम्बन्धि क्यान्सरवाट पिडित रहेपनि उनको राजनीतिक सक्रियतामा अन्तिमसम्म पनि कमि आए् । खाँडलाई गुमाउँदै गर्दा उनले छाडेर गएका योगदानहरुले राष्ट्रियदेखि स्थानिय राजनीति, गाउँ समाजसम्म पनि संम्झन बाध्य बनाउँछ । आम जनताका चासो र सरोकार राख्ने ठाउँहरु यिनै नरबहादुरको योगदानमा फुलेका र फलेका छन् । नर बहादुरले रोपेका बीउ, उनले उमारेका बिरुवा उनले गोडेका बिरुवाहरु हुर्किरहेको देखिन्छ, गीतानगरको केशवागमा । भरतपुर अस्पताल, क्यान्सर अस्पताल लगायतका अन्य संघसस्थाहरुमा पनि ।
राजनीतिलाई समाजसँग लगेर जोड्ने अभियन्ता नरबहादुर जनजनको मनमा सजिलैसँग ठाउँ जमाउन सक्ने खुबीका व्यक्तित्व थिए । सायद कारणले होला, राजनैतिक रुपमा नेकपा एमालेसंग उनको निकटता रहेपनि एमाले इतरका राजनैतिक दलसंग पनि उनको उत्तिकै राम्रो सम्वन्ध रहेको थियो । केन्द्रदेखि गाउँतहसम्म पनि उत्तिकै र उहि रुपमा आफूलाई प्रस्तुत गर्ने नेता नरबहादुर खाँड, सरल र सादा जीवन उच्च विचारका धनि पनि थिए । आधुनिक र बैज्ञानिक ढंगको विकास राजनीतिको सहारामा हुनुपर्दछ भन्ने कुराहरु नै दिमागमा लिएर हिड्ने नरबहादुरका योगदानलाई चितवनवासीले चाहेर पनि बिर्सन सक्दैनन् ।
कृषिमा आधुनिकीकरणका लागि जिल्लामा सबैभन्दा पहिला उन्नत जातका गाई भित्राउने कामदेखि लिएर सडक वाटो, नहर पुल कुलेसा वनाउन, विद्यालय बनाउन, गीतानगरमा टेलिफोन ल्याउनसम्म पनि नरबहादुरको योगदान छ । चितवनमा रहेका मध्यभागका गरिव जनताको अस्पतालमा रुपमा परिचित भरतपुर अस्पतालको गुरुयोजना बनाएर नयाँ आकार र स्वरुपमा ढाल्ने, नयां ढगले त्यसको सञ्चालको दिशा दिने व्यक्तित्व नै नरबहादुर खाँड हुन् । आज हामीले भरतपुर अस्पतालमा देखेका सबैजसो संरचनाहरु नरबहादुर खाँडकै दिमागले कोरिएको हो । उनको सुन्दर सपनाको बाटो पछ्याउँदै भरतपुर अस्पतालले नयाँ जीवन पाएको छ । आफू राजनीतिककर्मि भए पनि जनताको सार्वजनिक महत्व राख्ने ठाउँमा उनले कहिल्यै पनि राजनीति गरेको भेटिदैन । शायद त्यही भएर होला, उनी कसैको आँखामा राखेपनि नबिझाउने व्यक्तित्व बने । यतिमात्र होइन भरतपुरको सप्तगण्डकी क्याम्पस, क्यान्सर अस्पताल भरतपुरको बिकासमा समेत खाँडको योगदान उतिकै सम्झन लायक छ । उनले छोएका सबै सबै जनताका संरचनाहरुले कुनै न कुनै रुपमा नयाँ पालुवा हालेका छन् ।
बि.सं. १९९९ साल कार्तिक १७ गते स्याङ्जाको बाघखोर २ जागीथुमा जन्मिएका नेता खाँड शुरुदेखि नै कम्युनिष्ट आन्दोलनप्रति आर्कषित भएको पाइएको छ । २०१६ सालमा नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता लिएर सर्वहारा जनताको मुक्तिका लागि लागिपरेका नेता खाँड भड्किलो राजनीति मन नपराउने सामाजिक छवि राजनैतिक छवि जत्तिकै उचाईमा पु¥याउन चाहने एक नेता हुन् । २०२८ सालदेखि अझै बढि कम्युनिष्ट आन्दोलनमा सक्रिय भएर लागेका नेता खाँड सोही वर्ष नन सेन्टर कमिटी गठन गरेर आवद्ध भए । २०३२ सालमा कोकेको काम गरे । खाँड २०३७ साल देखि २०४७ साल नेकपा मानन्धर समुहमा आबद्ध बने, २०४७ सालमा माले हुदै एमालेमा लागेका बामपन्थी नेता खाँड २०४८ सालमा एमाले केन्द्रिय सदस्य एबं नारायणी अञ्चल इन्चार्ज, २०५५ सालमा पार्टी अनुशासन निरिक्षण समितिको अध्यक्ष, २०६५ सालदेखि जेष्ठ कम्युनिष्ट मञ्चको नेताका रुपमा रहि पदिय जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
खाँड हाल नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्य, नेकपा एमाले निकट जेष्ठ नागरिक मञ्चको केन्द्रीय संयोजक र जेष्ठ नागरिक सेवा समाज नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहँदा रहँदै ति सबैलाई त्यागेर २२ भाद्र २०७० गते बिदा लिएका छन् । लामो भुमिगत जीवन समेत बिताएका खा“ड पञ्चायत कालमा पटक पटक गरेर तीन बर्र्ष छ महिना जेल परेका थिए । कम्युनिष्ट पार्टीको नीतिको प्रचारका लागि खा“डले विभिन्न चार किताव निकालेका छन् । पार्टीको ठूलो पदमा पुगेर पनि स्थानिय क्षेत्रका, आफ्ना गाउ टोल छिमेकका संघसस्था विद्यालयहरुमा समेत उत्तिकै चासो लिँदै तिनको विकासमा लाग्न रुचाउने उनको कार्यशैली नै सबैभन्दा आकर्षक थियो । केन्द्रका नेता भए भन्दैमा कहिल्यै आडम्वर नराख्ने नेता खाँड साच्चै प्रेरणापुञ्ज हुन् । खाँडको अभाव र रिक्तता गीतानगर र सिगो चितवनलाई अवश्य हुने नै छ ।
जेष्ठ नागरिक प्रति राज्यको दृष्टिकोण र समाजको दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि उनले जीवनको उत्तराखण्ड खर्चिएका थिए । जेष्ठ नागरिकप्रति समाजमा रहेको हेयको भावनामा परिवर्तन जरुरी छ भन्ने अभियानमा लागिरहेका थिए, नर बहादुर खाँड । अनुशासन र सादा जीवन सदाचार नै जीवनका सारथीहरु हुन् भन्ने प्रेरणा खाँडबाट लिन छुटाउन नहुने विषय हुन् । खाँडको यति छिट्टै निधन होला भनेर कल्पना नगरेकाहरु अचम्ममा छन् । तर यो देशको भत्किएको मक्किएको संरचनाका कारणले गर्दा पनि खाँड त्यसको शिकार भएको अनुभूति गर्न सकिन्छ । छालाको क्यान्सर रोगको उपचार गराउँदा गराउदैको अवस्था, पहिलो डोज सकेर दोस्रो केमो लिदै गर्दा त्यसलाई शरिरले सहि ढंगले ग्रहण गर्न नसक्दा खाँडले जीवनमा हार स्वीकार्नूप¥यो । परम्परावादी उपचार शैली, उहि तरिका, होलसेलमा गरिने उपचार, रोगको उचित पहिचान र त्यसको सहि निदान खोजि र अनुसन्धान भन्दा पनि राजनीतिको लंगौटि बनेर पदका कुर्चिका लागि दौड्ने चिकित्सकहरु हावी हुँदा जनताले सहि र उचित खालको उपचार पाउन नसकिरहेको तीतो यर्थाथलाई पनि भुल्नु हुदैन । खैर जे होस्, समाजले एक असल व्यक्तिलाई, अनुकरणीय विकासप्रेमी नेता सामाजिक अभियन्तालाई गुमाएको छ । आदरणीय नर बहादुर खाँडप्रति श्रद्धान्जली ।