«

»

उपाध्यक्ष भण्डारीद्वारा महासंघ भवनको निरिक्षण

khila b bhandariभरतपुर, १७ असार ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीले चितवन शाखाद्वारा भरतपुरमा निर्माणाधिन भवनको बिहीबार निरिक्षण गरेका छन् । तीन बर्षे कार्ययोजना अनुसार जिल्लाकै सुविधायुक्त ‘सूचना केन्द्र’ बनाउने घोषणा गरी नेपाल पत्रकार महासंघ, चितवन शाखाको अहिले भवन निर्माणको काम भईरहेको छ ।
शाखाको निर्माणाधिन भवन निरिक्षण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष भण्डारीले देशभर महासंघले आफ्नै भवन बनाउन सबै शाखाहरुलाई सहयोग गरिरहेको बताए । चितवन शाखाले सूचना केन्द्र बनाउने उद्देश्य अनुरुप भवन निर्माण गरिरहेकोप्रति खुशी व्यक्त गर्दै भण्डारीले भवन निर्माणपश्चात सूचना केन्द्र स्थापना गर्न महासंघको केन्द्रीय समितिले चितवनलाई पहिलो प्राथमिकतामा राख्ने जानकारी दिए ।
प्रेस काउन्सिल नेपालका सदस्य समेत रहेका उनले भने, ‘भवन निर्माणको काम सकिने वित्तिकै सूचना केन्द्रका लागि काउन्सिलले समेत सहयोग गर्नेछ ।’ पत्रकार महासंघको देशभरका शाखा भवन निर्माण गर्न विभिन्न सरकारी, गैरसरकारी लगायत स्थानीय निकायलाई केन्द्रीय तहबाटै सहयोगको आव्हान भईरहेको पनि उनले जानकारी दिए ।
वैशाख १२ को महाभूकम्पपछि निर्माण भईसकेका केही जिल्ला शाखाको भवनमा क्षती पुगेकोले यसको पुनर्निमाणका लागि थप चुनौती थपिएको बताउँदै भण्डारीले भूकम्पबाट प्रभावित सञ्चारकर्मी र संचारसंस्थाहरुको सहयोगका लागि महासंघले केन्द्रीय तहबाटै काम गरिरहेको बताए ।
भवन निरिक्षणका क्रममा चितवन शाखामा उपलव्ध सञ्चारकर्मीहरुसंग श्रमजीवि पत्रकारहरुको समस्या समाधानमा महासंघले पहिलो प्राथमिकताका साथ काम गरिरहेको पनि भण्डारीले जानकारी दिए । शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले भवन निर्माणसहित चितवनका श्रमजीवि पत्रकारहरुको पछिल्लो अवस्थाबारे सो भेटघाटमा उपलव्ध सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए । भेटघाट कार्यक्रममा प्रेस चौतारी नेपालका नारायणी अञ्चल अध्यक्ष तिलकराम रिमाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।
khila with chitwan journalist२०६१ माघ ९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पत्रकार महासंघ, चितवनको भवन शिलान्यास गरेका हुन् । गएको २०५९ सालमा जिल्ला विकास समिति चितवनले महासंघका लागि जग्गा उपलव्ध गराएको थियो । भवन पूर्ण रुपमा सम्पन्न गरेर सुविधायुक्त ‘सूचना केन्द्र’ निर्माण गर्न करिब ३७ लाख रुपैयाँ आवश्यक पर्ने महासंघले जनाएको छ ।