«

»

भूकम्पबाट ८७०९ को मृत्यु, ५५ प्रतिशत महिला

काठमाडौँ, २१ जेठ । देशका विभिन्न भागमा वैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी बिहीबार साँझसम्म आठ हजार सात सय नौ जनाको ज्यान गुमेको छ भने २२ हजार चार सय ९३ जना घाइते भएका छन् ।
 भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार सात सय २९, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार चार सय ६१, पश्चिम क्षेत्रमा चार सय ५९ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेका नेपाल प्रहरीले जनाएको छ ।
त्यस्तै, घाइते हुनेमा उपत्यकामा १३ हजार १७, पूर्व क्षेत्रमा चार सय ५२, मध्य क्षेत्रमा सात हजार सात सय ४४, पश्चिम क्षेत्रमा  एक हजार दुई सय ४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् । घाइतेमध्ये चार हजार चार सय पाँच जना विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।
 उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी छ, नेपाली सेना नौ, सशस्त्र प्रहरी एक, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी एक सय ८३, नेपाली सेना छ जना, सशस्त्र प्रहरी ३२ र विदेशी पर्यटक ५० जनाको सङ्ख्यासमेत उपरोक्त सङ्ख्यामै समावेश गरिएको छ ।
 हालसम्म नेपाली एक सय ८९ र विदेशी नागरिक ८० जना बेपत्ता छन् ।
भूकम्पबाट मृत्यु हुने ५५ प्रतिशत महिला
 राष्ट्रिय महिला आयोगले भूकम्पबाट चार हजार आठ सय महिलाको मृत्यु भएको जनाएको छ । आयोगले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी भूकम्पका कारण मृत्यु हुनेमध्ये महिला ५५ प्रतिशत रहेको जनाएको हो ।
 भूकम्पबाट प्रभावित सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, लमजुङ र तनहुँको अनुगमन गरेको आयोगले काभ्रेमा पालभित्र रहेका महिलामाथि यौनजन्य हिंसा गरिएको भेटेको थियो ।
 आयोगका अध्यक्ष शेष चाँद ताराले भनिन्– ‘हामीले ती जिल्लामा राहतसम्बन्धी सबै संयन्त्रमा महिला सहभागिता भए÷नभएको, भूकम्पले विशेष अवस्थाका सुत्केरी, गर्भवती, वृद्धा तथा अपाङ्गता भएका महिला तथा बालबालिकामा पारेको प्रभाव, उनीहरुलाई उपचार गराउने व्यवस्थालगायतका विषयलाई ध्यान दिएका थियौँ ।’

 सरकारले राहत वितरण गर्दा विशेष अवस्थाका महिला र विभिन्न उमेर समूहका महिलालाई प्राथमिकता दिई राहत सामग्री उपलब्ध गराउनुपर्ने उनको भनाई छ ।