«

»

पन्ध्र करोडको खानेपानी योजनाको औपचारिक सुरुवात

11062904_653645898073530_6000186528148011491_nरामबाबु सुवेदी
भरतपुर ११ जेठ
आर्सेनिक मिसिएको पानी पिउन बाध्य भरतपुरको पूर्वीक्षेत्रका उपभोक्ताले अब भने शुद्ध पानी पिउन पाउने भएका छन् । भरतपुर ११, १२ र ९ नम्बर वडाका दुई हजार ५ सय घरघुरी उपभोक्तालाई लक्षित गरी भरतपुर–१२स्थित सहयोगी टोलमा निर्माण गर्न लागिएको खानेपानी योजनाका कारण ती उपभोक्ताले शुद्ध खानेपानी पाउने भएका हुन् ।
आफूले प्रयोग गर्दै आएको पानीमा आर्सेनिकको मात्रा छ भन्ने पाँच वर्षअगाडि नै थाहा पाएका स्थानीयले २०६७ सालमा नै धनगडा खानेपानी उपभोक्ता समिति नामक समिति गठन गरी पहल जारी राखेका हुन् । ‘हाल आएर त्यसको पहिलो चरणको कार्य थालनी भएको छ’, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर शालिकराम पौडेलले भने, ‘उपभोक्ता जागरुक भए भने योजना सफल हुन्छ भन्ने उदाहरण हो यो ।’
ओभरहेड ट्याङ्कीसहित उपभोक्ताको घरघरसम्म पानी पुग्नेसम्मको लागत झण्डै रु.१५ करोड पुग्ने अनुमान गरेको कार्यकारी निर्देशक इन्जिनियर पौडेलको दावी छ । ‘हामी दाताको खोजीमा छौं, बोटलर्स नेपाल तराईले सहयोगको आश्वासन दिएको छ’, उनले भने । बोटलर्ससँग २५ लाख रुपैयाँको अपेक्षा भएको पौडेलको भनाइ छ । बोटलर्सले फिल्ड सर्भे गरी पठाइसकेको जनाएको छ ।
ओभरहेड ट्याङ्कीको लागि सरकारी जमिनको खोजी गरेका उपभोक्ता समितिले त्यस्तो जमिन नपाएपछि जग्गा खरिद गर्ने निर्णय ग¥यो । अन्ततः भरतपुर खानेपानी व्यवस्थापन बोर्डको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत गरी ५५ लाख पाँच हजार रुपैयाँमा खरिद भएको तीन कठ्ठा जमिनमा योजना बन्ने भएको हो ।
जसका लागि उपभोक्ताले मात्रै रु.१३ लाख ७६ हजार २५० जुटाएको समितिका सदस्य माधव धितालले बताए । बाँकी रु ४१ लाख २८ हजार बोर्डले हालेको हो । माधवका अनुसार भरतपुर १२ मा रहेका ९ वटा, ११ र ९का ५÷५ वटा टोलविकास समितिहरु, तीनवटै वडाका सामुदायिक वन, स्थानीय समाजसेवीदाता तथा स्वयम् उपभोक्ताले गाँस काटेर सो रकम जुटाएका हुन् ।
खानेपानी योजना सञ्चालनमा सहयोगी भूमिका निर्वाह गर्र्दै आएको रामबेल सामुदायिक वनका अध्यक्ष वेदबहादुर थापाले भने, ‘हामी सार्वजनिक सरकारी जमिनमा यो योजना बनाउने तयारीका साथ नगरपालिकामा गयौं तर नगरपालिकाले हामीलाई सयोग गरेन’, उनले भने, ‘हामीले सार्वजनिक जमिन एउटा व्यक्तिले खाइरहेको देखेका थियौं ।’ तर नगरपालिकाले सहयोग नगरेका कारण केही गर्न नसकेको उनको गुनासो थियो ।
हाल बोरिङ धसाउने कार्य भइरहेको छ । बोरिङ, कम्पाउण्ड वाल, पम्प मोटर, बिजुलीको लागि ७८ लाखको टेन्डर परी ठेकेदार पक्षले काम थालिसकेको छ । तीनवटा वडाका ६ किलोमिटरभित्र कालो पाइप विछ्याउने कार्य सुरु भइसकेको माधवले बताए । सो रकम भरतपुर उपमहानगरपालिकाले आफ्नो जगेडा कोषबाट उपलब्ध गराएको कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले बताए ।
यसैबीच सो खानेपानी योजनाको सोमबार चितवन क्षेत्र नंं ३ का सभासद् कृष्णभक्त पोखरलेले शिलान्यास गरे । कार्यक्रममा सभासद् गीता वाग्ले पनि थिइन् । सभासद्द्वयले सो योजनालाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यस्तै भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटा, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर शालिकराम पौडेल, बोटलर्स नेपाल तराई लिका प्रमुख शैलेन्द्र चतुर्वेदी, सहयोगी टोलका अध्यक्ष पर्शुराम पुडासैनीलगायतले बोलेका थिए । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष मदनकृष्ण घिमिरेको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष बालकृष्ण पौडेलले स्वागत गरेका थिए ।