«

»

एमालेले थप्यो काँग्रेसले साख फर्कायो

आनन्द पोखरेल
भरतपुर, ७ मंसिर
चितवनमा नेकपा (एमाले) र नेपाली काँग्रेसले आफ्नो राजनीतिक साख फर्काएका छन् । संविधानसभा सदस्य निर्वाचन २०७० को प्रत्यक्ष तर्फको अन्तिम नतिजामा चितवनको क्षेत्र नम्वर १ र ३ मा एमालेले जित हात पारेको छ भने क्षेत्र नम्वर २ र ४ बाट नेपाली काँग्रेस विजयी भएको छ । त्यस्तै क्षेत्र नम्वर ५ मा राट्रिय प्रजातन्त्र पार्टीले जित हात पारेको छ ।
अघिल्लो संविधानसभा निर्वाचनमा चितवनका पाँच मध्ये तीन क्षेत्रमा अत्यधिक बहुमतले बिजयी भएको एकीकृत नेकपा माओवादी यसपालि भने चार क्षेत्रमा तेस्रो र एक क्षेत्रमा दोस्रो भएको छ । अघिल्लो निर्वाचनमा क्षेत्र नम्वर ५ मा समेत माओवादीको समर्थनमा जनमोर्चा नेपालका अमिक शेरचन बिजयी भएका थिए । उक्त क्षेत्रबाट लगातार जित हातपार्दै आएका शेरचनले यसपालि भने तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।
चितवनबाट संविधानसभा सदस्यको निर्वाचन ०७० मा चुनिने पहिलो व्यक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे भएका छन् । पाण्डेले चितवनको क्षेत्र नम्वर ५ बाट संविधानसभा सदस्यको निर्वाचनमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । चितवनको क्षेत्र नम्वर ५ मा खसेको ३५ हजार एक सय ३५ मत मध्ये पाण्डेले १० हजार आठ सय ५८ मत प्राप्त गरेका छन् । पाण्डेका निकटम प्रतिद्वन्द्वि नेकपा एमालेका दानबहादुर तामाङले आठ हजार चार सय छ मत प्राप्त गरे ।
अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नम्वर ५ बाट सभासद् भएका एमाओवादीका अमिक शेरचन छ हजार पाँच सय ५५ मत प्राप्त गरि तेस्रो स्थानमा पुगेका छन् । चौंथो स्थानमा पुगेकी नेपाली काँग्रेसकी उम्मेदवार सविता बरालले भने चार हजार तीन सय ५२ मत प्राप्त गरेकी छिन् । क्षेत्र नम्वर ५ मा एक हजार आठ सय ८१ मत बदर भएको छ ।
त्यस्तै, चितवनको क्षेत्र नम्वर १ बाट नेकपा एमालेका सुरेन्द्र पाण्डेले नेपाली काँग्रेसका प्रत्यासी राजेन्द्र बुर्लाकोटीलाई पाँच हजार १५ मतले पछाडि पार्दै विजयी भएका छन् । एमाले पोलिटव्युरो सदस्य समेत रहेका पाण्डेले १८ हजार सात सय साठी मत प्राप्त गरेका छन् भने बुर्लाकोटीले १३ हजार सात सय ४५ मत प्राप्त गरेका छन् । त्यस्तै चार हजार सात सय १५ मत प्राप्त गरि एमाओवादीका यमबहादुर परियार तेस्रो स्थानमा पुगे ।
चितवनको क्षेत्र नम्वर १ मा ४३ हजार तीन सय १९ मत खसेकोमा दुई हजार एक सय ६२ मत बदर भएको थियो । चितवनको क्षेत्र नम्वर १ मा अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार लालमणि चौधरीले १७ हजार नौ सय ७१ मत प्राप्त गरि विजयी भएका थिए । चितवनको क्षेत्र नम्वर १ मा एमालेले आफ्नो साख जोगाउन सफल भएको छ ।
चितवन क्षेत्र नम्वर २ मा १७ हजार आठ सय १० मत प्राप्त गरि नेपाली काँग्रेसका शेषनाथ अधिकारी विजयी भएका छन् । अधिकारीका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका कृष्णप्रसाद खनालले १६ हजार आठ सय ११ मत प्राप्त गरेका छन् । एमाओवादीका विश्वभक्त दुलालले नौ हजार तीन सय २० मत प्राप्त गरि तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका छन् ।
चितवनको क्षेत्र नम्वर २ मा ४८ हजार सात सय ५९ मत खसेकोमा एक हजार नौ सय ४० मत बदर भएको छ । यो क्षेत्रमा अघिल्लो संविधानसभा सदस्यको निर्वाचनमा माओवादीका रामबहादुर थापा ‘बादल’ले २१ हजार चार सय नौ मत प्राप्त गरेका थिए । अघिल्लो संविधानसभा सदस्यको निर्वाचनमा काँग्रेसले यो क्षेत्रबाट आफ्नो साख गुमाएको थियो भने अहिले फिर्ता लिएको छ ।
चितवन क्षेत्र नम्वर ३ मा अधिवक्ता समेत रहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरलले १५ हजार छ सय ६१ मत प्राप्त गरि आफ्ना निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका भिमबहादुर श्रेष्ठलाई पछाडि पार्दै विजयी भएका छन् । श्रेष्ठले १३ हजार दुई सय ४४ मत प्राप्त गरेका छन् । यस क्षेत्रबाट अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा माओवादीका नारायण दाहालले १७ हजार आठ सय चार मत प्राप्त गरि विजयी भएकामा अहिले नौ हजार ८५ मत प्राप्त गरि तेस्रो स्थानमा पुगेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड र नारायण दाहाल नाताले दाजुभाई हुन् । नारायण प्रचण्डका काकाका छोरा हुन् । चितवनको क्षेत्र नम्वर ३ मा ४२ हजार मत खसेको थियो । यो क्षेत्रमा एक हजार चार सय ७० मत बदर भएको छ ।
चितवनको क्षेत्र नम्वर ४ मा नेपाली काँग्रेसका सभापति सुशील कोइराला विजयी भएका छन् । कोइरालाले २० हजार सात सय ६० मत प्राप्त गरेका छन् । कोइरालाका निकटतम प्रतिद्वन्द्वि एमाओवादीका चित्रबहादुर श्रेष्ठ रहे । श्रेष्ठले १० हजार सात सय ३९ मत प्राप्त गरे भने एमालेकी पार्वती रावलले १० हजार ६७ मत प्राप्त गरिन् ।
क्षेत्र नम्वर ४ मा ४७ हजार एक सय ७३ मत खसेको थियो । जसमध्ये दुई हजार १० मत बदर भएको छ । यो क्षेत्रमा पहिलो संविधानसभा सदस्य निर्वाचनमा माओवादीका चित्रबहादुर श्रेष्ठले २३ हजार नौ सय ४२ मत प्राप्त गरेर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा काँग्रेसले गुमाएको यो क्षेत्र अहिलेको निर्वाचनमा फिर्ता लिएको छ ।
चितवनबाट विजयी भएका संविधानसभाका सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै मतगणना स्थलबाट विजयी भएको प्रमाणपत्र वितरण गरेको छ । एमालेका विजयी उम्मेदवार सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल, काँग्रेसका विजयी उम्मेदवार शेषनाथ अधिकारी र राप्रपाका विजयी उम्मेदवार विक्रम पाण्डेलाई शुक्रबार नै विजयी भएको प्रमाणपत्र दिइएको छ ।
चितवन क्षेत्र नम्वर ४ का काँग्रेसका विजयी उम्मेदवार सुशील कोइरालालाई भने शनिबार बिहान मात्र प्रमाणपत्र दिइने मुख्य निर्वाचन अधिकारी विनोदमोहन अचार्यले जानकारी दिए । कोइराला शुक्रबार चितवनमा नभएका कारण उनको प्रमाणपत्र शनिबार दिइने आचार्यले बताए ।
संविधानसभा सदस्यको प्रत्यक्ष तर्फको मतगणना शुक्रबार बेलुकी अबेरसम्म सकिएपछि आज शनिबारबाट समानुपातिक तर्फको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले जानकारी दिए । प्रत्यक्ष तर्फको मतगणना शुक्रबार नै सकिएको भएपनि शुक्रबार बेलुकी आराम गरेर शनिबार बिहानबाट मात्रै समानुपातिकको मत गणना गरिने आचार्यले बताए ।
चितवका विजयी उम्मेदवार तथा निकटतम प्रतिद्वन्द्विहरुले प्राप्त गरेको मत परिणाम ः
क्षेत्र
नम्वर विजयी उम्मेदवार÷दल प्राप्त मत निकटतम प्रतिद्वन्द्वि÷दल प्राप्त मत
१ सुरेन्द्र पाण्डे– नेकपा एमाले १८७६० राजेन्द्र बुर्लाकोटी– नेपाली काँग्रेस १३७४५
२ शेषनाथ अधिकारी– नेपाली काँग्रेस १७८१० कृष्णप्रसाद खनाल– नेकपा एमाले १६८११
३ कृष्णभक्त पोखरेल– नेकपा एमाले १५६६१ भिमबहादुर श्रेष्ठ– नेपाली काँग्रेस १३२४४
४ सुशील कोइराला– नेपाली काँग्रेस २०७६० चित्रबहादुर श्रेष्ठ– एमाओवादी १०७३९
५ विक्रम पाण्डे– राप्रपा १०८५८ दानबहादुर तामाङ– नेकपा एमाले ८४०६