«

»

चितवनमा रोचक परिणाम

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ७ मंसिर
‘कहिले हस्तिनापुरको राज, कहिले चपरीमुनिको बास’ राजनीतिमा यो भनाई खुबै प्रचलनमा छ । दुईपटक चुनाव हार्दा पनि मैदान नछोडेका राप्रपाका नेता बिक्रम पाण्डेले निकै कमजोर साँगठनिक अवस्थाका बाबजुद तेस्रोपटकको भिडन्तमा चितवन क्षेत्र नम्वर–५ बाट बिजयको माला पहिरिएका छन् । संविधानसभा सदस्य निर्वाचन ०७० को मतपरिणामले राप्रपाका महामन्त्री पाण्डेलाई सभासद् बनाएको छ ।
संविधानसभा निर्वाचन ०६४ को मतपरिणामले उनलाई चौंथो बनाएको थियो । आफुले ०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा पाएको भन्दा झण्डै दोब्बर मत प्राप्त गरी पाण्डे यसपाली विजयी बनेका छन् ।
अघिल्लो संविधानसभा निर्वाचनमा १४ हजार तीन सय ९७ मत ल्याएर विजयी भएका अमिक शेरचनसँग पाण्डेले यसपटक संविधानसभा निर्वाचनबाटै हारको बदला लिएका हुन् । शेरचनले जित्दा पाण्डेको मत पाँच हजार छ सय ८९ थियो भने पाण्डेले जित्दा शेरचनले छ हजार पाँच सय ५५ मत पाएर तेस्रो भएका छन् ।

२०५६ सालको संसदीय निर्वाचनमा चितवनको क्षेत्र नम्वर ४ बाट उम्मेदवारी दिएका राप्रपाका विक्रम पाण्डेले अप्रत्याशित रुपमा दश हजार छ सय ७० मत प्राप्त गरी दोस्रो भएका थिए । उनी नेपाली काँग्रेसका उम्मेदवार नारायण शर्माका निकटतम प्रतिद्वन्द्वि बनेका थिए । पहिलो पटकको उम्मेदवारीमा दोस्रो भएका पाण्डेको २०६४ मा चौंथो स्थानमा पुग्दा साख खस्किएपनि झण्डै छ वर्षपछि चुनाव जितेका छन् ।
यता, क्षेत्र नम्वर ३ का एकीकृत नेकपा माओवादीका उम्मेदवार नारायण दाहालले चुनावी प्रचारको क्रममा ‘फुच्चे’ भनेर अवमूल्यन गरेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले बिजयको माला पहिरिएका छन् भने दाहाल तेस्रो स्थानमा पुगेका छन् । चुनावी मतपरिणामले भने दाहाललाई ‘फूच्चे’ बनाएर तेस्रो स्थानमा सिमित बनाइदियो । पोखरेलले १५ हजार छ सय ६१ मत ल्याउँदा ९ हजार ८५ मत मात्रै पाए ।