«

»

सम्पादकीय : भदौ १६ को ‘कालो दिन’ नदोहोरियोस्

विगत नौ वर्षयता भदौ १६ को दिनलाई वैदेशिक रोजगारी Ôेत्रको ‘कालो दिन’ को रुपमा  यस क्षेत्रका व्यवसायीले सम्झने गर्छन् । त्यस दिन मुलुकभरका वैदेशिक रोजगार व्यवसायीका साथै अन्य Ôेत्रले बिना कुनै गल्ती ठूलो मूल्य चुकाउनुपरेको थियो । वैदेशिक रोजगारीका क्रममा इराक पुगेका १२ जना निर्दोÈ नेपालीको इराकमा क्रुर हत्या भएपछि २०६१ भदौ १६ गते नेपाल पनि आतङ्कित भयो । आफ्ना नेपाली दाजुभाईलाई विदेशी भूमिमा हत्या गरेपछि आक्रोशित बनेका सर्वसाधारणले काठमाडौंका वैदेशिक रोजगार व्यवसायमाथि आक्रमण गर्दा नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको वैदेशिक रोजगार क्षेत्र उथलपुथल बन्यो । व्यवसायीले आफूहरुलाई ‘सडकमा ल्याएर जिउ“दै जलाएको’ बताए । इराकको रिसले नेपालको वातावरण कालो धूवा“मा परिवर्तन भयो । आक्रमण र तोडफोडमा रमाइरहेका झुण्डले बैदेशिक रोजगार व्यवसायीलाई मात्र नभई कल्सल्टेन्सी, सञ्चारमाध्यम, जामे मस्जिद, कतार एयरवेज, ग्रुप फोरजस्ता सयौंको संख्यामा सेवा प्रदायक संस्थालाई समेत निसाना बनाए ।
इराकमा भएको घटनापछि सिर्जित नेपालको परिस्थिति साँच्चै कहालीलाग्दो बनेको थियो त्यो दिन । यस घटनापछि वर्षेनी भदौ १६ लाई ‘कालो दिन’ का रुपमा व्यवसायीले. सम्झँदै आएका छन् । इराकमा नेपालीमाथि भएको त्यो घटना निन्दनीय त छँदैछ, त्यसमाथि ‘एउटाको रिस अर्कोलाई खन्याउँदा’ निस्केको परिणामबाट पाठ सिकेर वैदेशिक रोजगार व्यवसाय सुरक्षित हुनुपर्ने हो, त्यो भने अझै भएको छैन । वैदेशिक रोजगारलाई नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा व्याख्या गरिएपनि इराकको घटनाले हरेक वर्ष भदौ १६ मा यस्तो किसिमको ‘असुरक्षित वैदेशिक रोजगार’ बाट नेपालीहरु झस्किरहन्छन् । उतिबेलाको इराकको घटनापछि नेपाली कसरी इराक पुगे र त्यस बेला किन यस्तो समस्या आयो भन्नेबारेको सतर्कता अझै कम छ । एउटाले गल्ती गर्दा सबै व्यवसायीले पाएको दुःख र पहिलेको अवस्थामा आउन परेको समस्या अझै सच्चिएको छैन । कुनैले गल्ती गर्दा सबैलाई मुछ्ने परम्परा अझै कायम छ ।
नौ वर्षअघिको घटना भएपनि आम व्यवसायी Ôतिपूर्तिका लागि अझै लडिरहेका छन् । कति व्यवसायी त इराक घटनाकै कारण यस क्षेत्रबाट पलायन नै भए । ‘चोरबाटो’ प्रयोग गरेर भएपनि ‘मानवतस्कर’ हरुले सोझा नेपालीलाई इराक लगायतका देशमा गैरकानुनी रुपमा पठाउने क्रम अझै जारी छ । जसका कारण वैदेशिक रोजगाार सुरक्षित बन्न सकिरहेको छैन । श्रम र वैदेशिक रोजगारीको क्षेत्रमा यस्ता घटनाबाट शिक्षा लिएर सरकारी निकायले अनुगमन गर्नुपर्ने आवश्यकता छ । अब ‘इराक घटना’ नदोहोरियोस् भन्नका लागि आफू जाने देश र गर्ने कामको बारेमा वैदेशिक रोजगारमा जान चाहने नेपालीले जानकारी लिनु आवश्यक हुन्छ । अर्को ‘भदौ १६’ को कालो दिन दोहोरिनु हुँदैन ।