«

»

माडीमा माछा महोत्सव तथा कृषि उपज प्रदर्शनी हुँदै

machha  mahotsabभरतपुर, ६ फागुन
माडीमा शुक्रबारदेखि माडी माछा महोत्सव तथा कृषि उपज प्रदर्शनी मेला हुने भएको छ । माडी वसन्तपुरको खुल्ला चौरमा हुन लागेको महोत्सव तथा प्रदर्शनी मेला ९ गतेसम्म सञ्चालन हुनेछ ।
माछाका लागि पकेट क्षेत्र मानिएको माडीमा हुन लागेको सो महोत्सवमा माछाका परिकार, मत्स्यपालन सम्बन्धी प्रविधि, माछाका परिकारको स्वाद लिन सक्नेगरी २० भन्दा बढी स्टलहरु रहने छन् । महोत्सवको उद्घाटन बिहान ११ बजे कृषि विकास मन्त्री हरिबोल गजुरेलले गर्ने आयोजकले जनाएको छ । महोत्सव परिसरमा करिब ५० वटा स्टलहरु रहने छन् ।
मेला मूल आयोजक समितिका संयोजक दिलिपकुमार थापाले माछापालन व्यवसाय प्रर्वद्धन गर्नेगरी महोत्सव गर्न लागिएको बताए । महोत्सव अवलोकनका लागि कुनै टिकट शुल्क लाग्ने छैन । अवलोकनकर्ताहरुलाई माछाका परिकार बनाउन सिकाउने, माछापालनको अवस्थाबारे बुझाउने गरी विभिन्न कार्यक्रहरु समेत गरिने उनले जानकारी दिए ।
स्थानीय किसानहरुले भुरा उत्पादक केन्द्र, चिस्यानसहितको माछा संकलन केन्द्र, उन्नत बीउ संकलन तथा प्रशोधन केन्द्र स्थापनाका लागि मन्त्रीलाई ध्यानाकर्षणसमेत गराउने भएका छन् । महोत्सवका प्रर्वद्धक ओमनाथ पाण्डेले कृषि उत्पादन बढी हुने माडी क्षेत्रमा कृषि बजार व्यवस्थापन, किसानलाई प्रोत्साहन गर्न महोत्सव सफल हुने दावी गरे ।
भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष जोगेन्द्र महतोले माछापालक किसानहरुलाई महोत्सवले ज्ञान अनुभव साटासाट गर्न सघाउने विश्वास गरे । महोत्सवअन्तर्गत कृषि उपजहरुको प्रतियोगिता, अन्तरकृषक समूह लोकगीत प्रतियोगिता हुने छन् ।
यस्तै राष्ट्रिय कलाकारहरु जीवन शर्मा, राधिका हमाल, राजन विरही गुरुङ, आरके खत्रीलगायतको सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ । माडी क्षेत्र धार्मिक तथा पर्यापर्यटनको प्रशस्त सम्भावना बोकेको क्षेत्र पनि हो ।
महोत्सव अवलोकनकर्ताहरुले गोपालनगर, हरिनगर, गौरीनगर, दिवानगर, शिवद्धार, सिमरा, चम्फाबार लगायतका माछा पकेट क्षेत्रहरुको स्थलगत भ्रमणसमेत गर्न सक्ने छन् ।