«

»

बाँदरमुढेले बगाउँदा एक महिलाको ज्यान गयो

– सभासद सहितको टोली हेलिकप्टरमा घुमेर फर्कियो
– बाढी पीडितले राहत पाउन सकेनन्
आनन्द पोखरेल
भरतपुर, २९ असार
माडीको बाँदरमुढे खोलामा आएको बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ । बघौडा–८, ब्रह्मपुरीकी ५० वर्षीया पार्वती विश्वकर्माको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

 

उड्नुअघिको पोज : सभासद बिक्रम पाण्डेसहितको टोली आइतबार हेलिकप्टरबाट माडीको बाढी प्रभावित क्षेत्रमा जानुअघि बिमानस्थलमा तस्बिर खिचाउँदै । तस्बिर सौजन्य : नारायणी अनलाइन

उड्नुअघिको पोज : सभासद बिक्रम पाण्डेसहितको टोली आइतबार हेलिकप्टरबाट माडीको बाढी प्रभावित क्षेत्रमा जानुअघि बिमानस्थलमा तस्बिर खिचाउँदै । तस्बिर सौजन्य : नारायणी अनलाइन

माडी क्षेत्रमा शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण बघौडा गाविसमा शनिबार पनि बाँदरमुढेको बाढी पसेको थियो । पानी पर्न रोकिएपछि शनिबार बाढी रोकिए पनि आइतबार बिहान पुनः वर्षा भएपछि उक्त क्षेत्रमा फेरी बाढी आएको थियो । बाँदरमुढे खोलामा आएको बाढीले खोला किनारको धान खेती र घरहरुमा क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बाढीबाट बघौडा गाविसको वडा नम्बर २ र ९ को दुई सय घरधुरी प्रभावित भएको बताए । ३० जनाको खेतमा लगाएको धानबालीमा बाढीले क्षति पु¥याएको समेत कोइरालाले जानकारी दिए ।
आइतबार बिहान उक्त क्षेत्रमा आएको बाढीको कारण दुई वटा घरका भाँडा वर्तन समेत बगाएको कोइरालाले बताए । बाढीका कारण उक्त क्षेत्रमा करिब तीन लाख ६९ हजार सात सय रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको कोइरालाले जानकारी दिए ।
यसैबीच, बाढी अवलोकन गर्न भन्दै चितवन क्षेत्र नम्वर ५ का सभासद् विक्रम पाण्डे आइतबार हेलिकप्टर चढेर माडी पुगेका थिए । सभासद पाण्डेको साथमा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्की र चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डे पनि हेलिकप्टरमा माडीको बाढी प्रभावित क्षेत्र पुगेका थिए । तर उनीहरुले तत्काल कुनै राहतका सामग्री भने बाँडेनन् । उनीहरु बाढी अवलोकनको लागि भन्दै उक्त क्षेत्र पुगेका थिए ।
पत्रकार नारायण ढुङ्गानाका अनुसार भरतपुर विमानस्थलबाट सभासद्, प्रजिअ, जिल्लाका प्रहरी प्रमुख र स्थानीय विकास अधिकारी बोकेर बाढी प्रभावित क्षेत्रमा उडेको हेलिकप्टर बघौडाको एउटा विद्यालयमा ल्याण्ड गरेको थियो । विद्यालयमा बाढी पीडितहरुसँग भेटघाट गरेपछि सभासद पाण्डेसहितको टोली उक्त विद्यालयबाट डेढ सय मिटर दूरीमा रहेको खोला निरीक्षण गरेर हेलिकप्टरमा सदरमुकाम फर्किएको थियो ।
पत्रकार ढुङ्गानाका अनुसार क्षेत्र नम्वर ५ का सभासद् पाण्डे बाढी प्रभावित क्षेत्र पुगेर स्थानीयको कार्यक्रमलाई सम्बोधन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीले प्रभावित क्षेत्रमा सहयोग गर्ने बताए । साथै पाण्डे आफूले पनि उक्त क्षेत्रमा राहत सामग्री जुटाउनको लागि सक्दो पहल गर्ने भन्दै ‘अहिले पानी परिराखेको छ, पैदल घुम्न अप्ठेरो पर्छ, हामी माथिबाट नै प्रभावित क्षेत्र हेर्छौं’ भनेर हेलिकप्टरमा उडेका थिए ।

उड्नुअघिको पोज ः सभासद बिक्रम पाण्डे, चितवनका प्रजिअ नरेन्द्रराज शर्मासहितको टोली आइतबार माडीको बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट अवलोकनमा जानुअघि भरतपुर बिमानस्थलमा तस्बिर खिचाउँदै । तस्बिर सौजन्य ः नारायणी अनलाइन