«

»

२४ घण्टामा बदलिएको आँशु

parbatiसुवास पण्डित
भरतपुर, १० असार
सोमबार दिउँसोको साढे ४ बज्दै थियो, एमाले नेत्री पार्वती रावल निर्वाचन परिणामपछि सवै मतदाता र सहयोग गर्ने सवैलाई धन्यवाद दिन पत्रकारहरुसँग थिइन् ।
पत्रकार सम्मेलन चल्दै थियो, त्यसैबेला हस्याङफस्याङ गर्दै आएकी एक अर्धवैंशे महिलाले रावललाई गर्लम्मै अङ्गालो हालेर भक्कानिन्छिन् । अकस्मात यस्तो दृष्य देखेका पत्रकार तथा अन्य सहभागीहरु समेत अवाक हुन्छन् । पत्रकार सम्मेलनको माहौल भावुक बन्छ ।
‘मेरो छोरी खोजिदिनुस् हजुर, म बर्वाद भएँ’ भन्दै उनी बलिन्धरा आँशु बगाउँदै थिइन् । यस्तो अवस्थामा पार्वती भावुक नहुने कुनै भएन ।
संविधानसभा सदस्य उपनिर्वाचनको परिणामले चितवन ४ बाट पराजय भोगेको पार्वतीको पीडा अनुमान गर्न सकिन्थ्यो । तर रावलले आफु भित्रको पीडालाई लुकाउँदै ती महिलालाई सान्त्वना दिँदै भनिन्– ‘तपाईं नआत्तिनुस्, तपाईंकी हराएकी छोरी खोज्नका लागि म पहल गर्छु, हामी सवैजना तपाईंको साथमा छौँ ।’ रावलको ढाढस सुनेपछि ती महिला सम्हालिने प्रयास गरिन् ।
पत्रकार सम्मेलनमै गएर सोमबार रावलसँग हारगुहार गरेकी चितवनको जगतपुर–३, शितलपुरकी गंगादेवी अधिकारीको आँखामा त्यसको २४ घण्टा नबित्दै मंगलबार दिउँसो फेरी आँशु टिलपिल थिए, तर उही पीडाको होइन छोरी भेटिएको खुसीको । जिल्ला प्रहरी कार्यालय, चितवनको हाताभित्र हराएकी छोरीका साथ भेटिएकी गंगादेवी उसै दङ्ग थिइन् ।
गंगामाया भन्दै थिइन्– ‘तपाईंहरुको साथ र सहयोगले आज मैले मेरी छोरी पाएँ, जिन्दगीकै खुसीको दिन हो मेरो लागि ।’
गएको असार ४ गते घरबाट जागिर पनि हुने पढाई पनि हुने भन्ने साथीको आश्वासनमा भारत तर्फ लागेकी गंगामायाकी १६ वर्षीया छोरी अप्सरालाई नेपालको सुनौली नाकाबाट उद्दार गरी चितवन ल्याइएको हो । केआई नेपाल र माइती नेपालको सहयोगमा उद्दार गरिएकी अप्सराले पैसा कमाउनका लागि भारत जान लागेको बताइन् ।
सोमबारको पत्रकार सम्मेलनमा उनकी आमा भक्कानिँदै रावललाई भेट्न पुगेको खबर राष्ट्रिय सञ्चार माध्यममा पढेपछि स्वयम् अप्सराले नै मंगलबार बिहान आफ्नी दिदीलाई आफु सुनौलीमा रहेको खबर गरेकी थिइन् । सुनौली नाकामा आमाको दराजबाट लगेको पाँच हजार रुपैयाँ भारतीय नोटसँग साटेपछि केआई नेपालका सदस्यहरुले उनीमाथि निगरानी गरेका थिए ।
लक्ष्मी उच्च माविमा कक्षा १० मै पढ्ने साथीले अप्सरालाई भारत जानका लागि डायरीमा ठेगाना टिपेर दिएको उनकी आमा गंगामायाले बताइन् । एमाले नेत्री रावलले गंगामायाकी छोरी हराएको बारेमा गम्भिर बन्न प्रहरी र बिभिन्न महिला अधिकारकर्मीहरुलाई आग्रह गरेकी थिइन् ।
‘माइती नेपाल लगायतका बिभिन्न संघसंस्थामा घटनाका बारेमा जानकारी गराएँ, सञ्चारकर्मीहरुको पनि उल्लेख्य सहयोग रह्यो, सवैको प्रयासमा अप्सरा भेटिइन्’ रावलले भनिन् । ‘जनतामा रहेको आर्थिक अभाव र त्यसमा पारिने प्रलोभनका कारण यो घटना भएको हो, गहिराईमा पुगेर छानबीन हुन जरुरी छ’ रावलले भनिन् ।
अप्सराले भारतमा बस्दै आएकी तर हाल आफुसँगै पढ्ने नितु दराईले लेखिदिएको डायरी समेत प्रहरीलाई बुझाएकी छन् । डायरीमा भारतमा गएर चञ्चल नाम गरेकी एक युवतीलाई भेट्न र एसएलसीको सर्टिफिकेट आफुले निकालिदिने र चिन्ता नलिन भनिएको छ । दराईले आफुले भारतमा ठूलो बुवाको कपडा फ्याक्ट्री छ मात्र भनेको र अप्सरा नै उत्साहित भएर जान्छु भनेकाले ठेगाना मात्र दिएको बताइन् ।
अप्सराले नितुसँग केही समयदेखि हिन्दी भाषा पनि सिक्दै आएकी थिइन् । प्रहरीले घटनाका विषयमा दुवैसँग अलग अलग सोधपुछ गर्ने र बयान लिने काम गरिरहेको छ । घटना योजनाबद्ध रुपमा गरिएको थियो वा साथीको लहैलहैमा गरिएको हो भन्ने बारेमा अनुसन्धान पछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।