«

»

असार मसान्त भित्र फोटो नखिचे भोट हाल्न नपाईने

संविधानसभको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले सुरु गरेको फोटो सहितको मतदाता नामावली संकलनका क्रममा चितवनमा हालसम्म दुईलाख ६६ हजार ६ सय १७ जनाको नामावली संकलन भएको छ।जसमध्ये एकलाख २७ हजार ३ सय १९ पुरुष र एकलाख ३९ हजार २ सय ९८ महिला रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।२०६७ साल भाद्र महिनाबाट सुरु गरिएको फोटोसहितको मतदाता नामावली संकलनको क्रममा जेष्ठ मसान्त सम्म सो सङख्यामा नामावली संकलन गरिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनु भयो । मतदाता नामावली संकलनका लागि कार्यालयले जिल्लाका ३६ वटै गाउविकास समिति र दुईवटै नगरपालीकामा विभिन्न चरणमा गरि फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो । निर्वाचन आयोगको परिपत्र अनुसार चितवन जिल्लामा पनि असार मसान्तसम्म मात्रै नामावली संकलनको समय रहेकाले १८ वर्ष उमेर पुगेका जिल्लावासी सवैलाई मतदाता नामावली सुचिमा आफ्नो नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय चितवनले आग्रह गरेको छ । असार मसान्तसम्म पनि नाम दर्ता नगराउनेहरु आगामी संविधानसभाको निर्वाचनमा मतदान गर्नबाट स्वतः बन्चीत हुन्छन् । नामावली संकलनका लागि जिल्ला प्रशासन कार्यालय चितवनको परिसर र निर्वाचन कार्यालय परिसरमा डेक्स स्थापना गरि मतदाता नामावली संकलन कार्यलाई तिव्र पारिएको छ ।निर्वाचन कार्यालयका प्रमुख ढकालले सक्कल नागरिकता साथमै लिएर निर्वाचन कार्यालय वा प्रशासन कार्यालयको परिसरमा आफ्नो नाम दर्ता गराउन सकिने ब्यवस्था मिलाइएको बताउदै छिटो र कम समयमै नाम दर्ता गराइने भएकाले राष्ट्रिय अभियानमा सरिक हुन आग्रह गर्नुभयो ।यसभन्दा अगाडी २०६४ चैत २८ गते भएको प्रथम संविधानसभाको निर्वाचनमा चितवन जिल्लाबाट कुल दुईलाख ४० हजार १ सय ५१ जनाले मतदान गरेका थिए ।