आज अन्तर्राष्ट्रिय एकल महिला दिवस

अन्तर्राष्ट्रिय एकल महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । एकल महिलाको मानवअधिकारको सम्मान र सुरक्षा गरौं भन्ने नाराका साथ एकल महिला समूहलगायत एकल महिलाको क्षेत्रमा क्रियाशिल संघसंस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले श्रीमान् गुमाउँदैमा कुनै पनि महिलाको अधिकार गुम्न नहुने भन्दै एकल महिलाले उत्तम जीवनयापन गर्न सक्ने अवस्थाको सिर्जना गर्न उनीहरुको अधिकारका लागि वकालत गर्दै दिवस मनाउन आव्हान गर्नुभएको छ । एक तथ्यांक अनुसार विश्वभर ३६ करोड ५० लाखको हाराहारीमा एकल महिला छन् । झण्डै ११ करोड ५० लाख एकल महिला गरिबीमा बाँच्न बाध्य छन् भने ८ करोड भन्दा बढी महिला शारीरिक दुव्र्यवहार सहन बाध्य छन् । आफू भन्दा बढी उमेरका व्यक्तिसँग बिहे गरेका युवतीहरु सबैभन्दा बढी जोखिममा रहेका युएन वुमनले जनाएको छ । नेपालमा एकल महिलाको संख्या ६ लाख रहेको छ । एकल महिलाहरु ठूलो संख्यामा भएपनि अधिकारको सम्मान अझै पनि हुन नसकेकाले सकारात्मक विभेदमा सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको माग छ । उच्च तहमा एकल महिलाको सहभागीता, कानून कार्यान्वयन, एकल महिलाको मुद्दामा सरकारले विशेष ध्यान दिई राज्यको मूल प्रवाहमा सामेल गराउन सके मात्रै एकल महिलाको अधिकार रक्षा हुने एकल महिला समुहकी संस्थापक लिली थापाको भनाई छ ।

आज चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक

आज पूर्णिमाको रात चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने भएको छ । खगोलीय भाषामा सूपर मून भनिने यस्तो अवस्थामा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने भएकाले ठूलो र चम्किलो देखिनेछ । खुला आँखाले हेर्दा भने खासै फरक नदेखिने खगोलविद्हरुले बताएका छन् । चन्द्रमा पृथ्वीको नजिक आउँदा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिनेछ । पृथ्वीलाई चन्द्रमाले अण्डाकार कक्षबाट परिक्रमा गर्ने भएकाले कहिले नजिक र कहिले टाढा पुग्ने हुन्छ । यसरी नजिक आउने क्रममा यो वर्ष ३ लाख ५६ हजार ९ सय ९१ किलोमिटरको दूरीमा रहनेछ । अर्को सुपर मून आउँदो महिना हुने भएपनि आजको जति नजिकको दूरी यो वर्षकै कम हुने नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराईले बताउनुभयो । उहाँका अनुसार वर्षकै लामो दिनको अर्थात् जुन २१ को आसपास सूपर मूनको अवस्था पनि निकै कम मात्रै हुने गरेको छ । यसअघि सन् २०१२  मे ६ तारिखमा सूपर मूनको अवस्थामा चन्द्रमा पृथ्वीको ३ लाख ५६ हजार ९ सय ५५ किलोमिटर नजिक आएको थियो । सन् २०१४ मा भने अझै नजिक अर्थात् ३ लाख ५६ हजार ८ सय ९६ किलोमिटर नजिक आउने अनुमान छ । चन्द्रमा पृथ्वीको नजिक आउँदा समुद्रमा ज्वारभाटा उठ्ने भएपनि अरु क्षेत्रमा भने कुनै पनि असर नगर्ने खगोलविद्हरुले बताएका छन् ।

Older posts «

» Newer posts