डाक्टर बिजय पौडेलको नौटङ्की !

भरतपुर, ७ माघ
प्रा.डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै चितवनमा पनि मङ्गलबार बिहान आठ बजेदेखि भरतपुर अस्पतालका डाक्टरहरु रिले अनसनमा बसेका छन् । नेपाल चिकित्सक संघ, चितवनका अध्यक्ष डा. कृष्णप्रसाद पौडेल, उपाध्यक्ष डा. शारदा कुँवर, सचिव डा. शङ्कर ढकाल, सहसचिव डा. भोजराज अधिकारी र सहकोषाध्यक्ष डा. रमेश थापा भरतपुर अस्पताल परिसरमा २४ घण्टे रिले अनसनमा बसेका हुन् ।
उता, कहिले अस्पतालका सहकर्मीमाथि कुटपीट गर्ने त कहिले पत्रकार सम्मेलनमै पत्रकारहरुमाथि जाइलाग्ने र माफी माग्न समेत पछि नपर्ने जस्ता गतिबिधिका कारण विवादमा पर्दै आइरहेका डा. पौडेल चितवनका चिकित्सकहरु रिले अनसनमा बसिसकेपछि दिउँसो अनसनस्थलमा पुगेर आमरण अनसनको नौटङ्की गरेका छन् । अरु डाक्टरहरु भन्दा जसरी पनि फरक देखिन खोजिरहने प्रवृत्तिका कारण डाक्टर सहकर्मीहरुबीचमै पनि उनको चर्को आलोचना हुने गरेको छ । अन्य डाक्टरहरु बिहान रिले अनसनमा बसेपछि डा. बिजय हतार हतार मध्यान्हदेखि आमरण अनसन बस्न पुगेका थिए ।
अनसन स्थलमै डा. पौडेलले रिले अनसनमा बसिरहेका अन्य सहकर्मी डाक्टरहरुलाई नबोल्न अर्ती दिँदै थिए । तर रिले अनसनमा बसेका डाक्टरले उनलाई कटाक्ष गर्दै थिए– ‘तपाईं आमरण अनसनमा बस्नुभएकोले बोल्नुहुँदैन, हामी त रिले अनसनमा बसेका हौँ, बोल्दा फरक पर्दैन ।’
भरतपुर अस्पतालका मेडिकल बिभाग प्रमुख समेत रहेका डाक्टर विजय पौडेल भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रा.लि.का प्रमुख हिस्सेदार हुन्, जहाँ उनको अधिकांश समय बित्ने गर्छ । आमरण अनसनको नाटक गर्ने डा. पौडेलको लगानी रहेको निजी अस्पताल चितवन अस्पतालमा भने बिरामीलाई इमरजेन्सीको टिकट कटाएर उपचार गर्ने व्यवस्था गरिएको थियो । उक्त अस्पतालकी एक कर्मचारीले भनिन्– ‘ओपिडीमा बिरामी भर्ना नगरिएको कारण ईमरजेन्सीमा अन्य दिनको भन्दा तुलनात्मक रुपमा बिरामीको चाप बढेको छ ।’

सरकारी अस्पतालमा बिरामीको बिजोग

बिरामीको रुवावासी, डाक्टर अनसनमा
आनन्द पोखरेल
भरतपुर, ७ माघ
चिकित्सकहरुले अस्पतालमा चिकित्सकीय सेवा बन्द गरेर आन्दोलनमा उत्रिएपछि चितवन सदरमुकामस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा बिरामीको बिजोग भएको छ । आइतबारदेखि ओपिडी सेवा बन्द गरिएको भएपनि त्यस अगाडि नै ओपिडीमा भर्ना भएकालाई समेत कुनै वास्ता नगरिएको बिरामीहरुले गुनासो गरेका छन् ।
सरकारी अस्पतालमा उपचार नपाउँदा न्यून आय स्तर भएका बिरामीहरु मर्कामा परेको पीडितहरुको गुनासो छ । चितवनको भरतपुर अस्पतालमा चितवन लगायत छिमेकी जिल्लाहरुबाट समेत बिरामीहरु उपचारका लागि आउने गर्दछन् ।
म्याग्दीबाट खुट्टा भाँच्चिएर उपचारका लागि भरतपुर अस्पतालमा आएकी ४५ वर्षीया तारा परियार माघ १ गते अस्पतालको ओपिडी वार्डमा भर्ना भएकी थिइन् । ‘दाहिने खुट्टा भाँच्चिएर उपचार गराउन आएकी थिएँ, उपचारको त कुरा छोडौँ तीन हजार रुपैयाँ खर्च भैसक्यो डाक्टरले हेरेका समेत छैनन्’ परियारले रुँदै भनिन् । आफ्नो आयस्तर न्यून भएको कारण सरकारी अस्पतालमा उपचार गराउन आएको र उपचार गर्नको लागि ल्याएको खर्च पनि सकिएको परियारले बताइन् । Read the rest of this entry »

Older posts «

» Newer posts