
५८ औं बार स्थापना दिवसको अवसरमा बार चितवनले सोमबार भरतपुरमा आयोजना गरेको ‘भावी संविधानमा न्यायपालिका’ विषयक अन्तक्र्रियाका सहभागी । तस्बिर सौजन्यः अधिवक्ता विनोद मिश्र
‘केही भ्रष्टहरुको प्रवेशले न्यायपालिकामा विकृति भित्रिदै’
सञ्चारपत्र सम्वाददाता
भरतपुर, ७ पुस
सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले न्यायपालिकामा ‘केहि भ्रष्टहरुको प्रवेशले विस्तारै विकृति भित्रिन थालेको’ बताएका छन् ।
५८ औं बार स्थापना दिवसको अवसरमा चितवन जिल्ला अदालत बार एशोसियसनले सोमबार भरतपुरमा आयोजना गरेको ‘भावी संविधानमा न्यायपालिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बरिष्ठ अधिवक्ता पौडेलले राजनीतिक भागबण्डाको आधारमा नभई प्रतिष्पर्धाको आधारमा न्यायाधीस नियुक्ति गर्नुपर्ने धारणा राखे ।
माघ ८ मा जसरी भए पनि संविधान बन्नुपर्ने सर्वोच्चका वरिष्ठ अधिवक्ता पौडेलको भनाई थियो । देशमा अब अर्को संविधानसभा निर्वाचन हुन नसक्ने भन्दै उनले दुई तिहाई प्रकृयामा गएर भए पनि संविधान ल्याउनुपर्ने विचार व्यक्त गरे ।
बार एशोसियन चितवनका अध्यक्ष चुडामणि सापकोटाले न्यायपालिका स्वतन्त्र नभए सम्म न्याय प्रदान गर्न नसक्ने बताए । न्यायपालिकालाई स्वतन्त्र बनाउन सकिएन भने मानव अधिकारको हनन् हुने उनले बताए । अहिले सर्वोच्च अदालतलाई विवादमा तान्ने काम भइरहेको भन्दै सापकोटाले सर्वोच्च अदालतलाई नै संवैधानिक अदालतको रुपमा स्थापित गर्नु पर्ने धारणा राखे ।

