तालिम लिएका पूर्वलडाकुहरूलाई विधिवत रूपमा सेनामा समायोजन

sena

बदलिएको भूमिका ः नेपाली सेनाको तालीम सकेपछि कवाज प्रदर्शन गर्दै माओवादीका प ूर्व लडाकूहरु ः तस्वीर सौजन्य ः नेपाली सेना

सात महिने ‘सैन्य आधारभूत तालिम’ पूरा गरेका लडाकुहरुको नुवाकोट विदुरको सैन्य तालिम केन्द्र मैथलीमा अन्तिम दलेल कवाजमा सैन्य कौशल प्रदर्शन गरी विधिवत् रूपमा सेनामा समायोजन भएका हुन् । नुवाकोटको सैन्य तालिम केन्द्रमा चार सय ७९ जना लडाकूहरुले सैन्य तालिम पूरा गरी नेपाली सेनामा प्रवेश गरेका थिए ।

सैन्य तालिम केन्द्र मैथलीमा आयोजित समारोहमा सैन्य विनय महानिर्देशक उपरथी भिक्टरशमशेर जबराले १० वर्षे द्वन्द्वको शान्तिपूर्ण रुपान्तरणका प्रमुख चुनौतीको रुपमा रहेको सेना समायोजनको कामलाई नेपाली सेनाले कुशलतापूर्वक निर्वाह गरेको दावी गर्दै शान्ति प्रक्रियासँग जोडिएका समायोजनको महत्वपूर्ण कामले शान्ति प्रक्रियामा नयाँ अध्यायको सुरुवात भएको बताउनुभयो ।

कार्यक्रमको निरीक्षणका लागि नुवाकोट आएका सेना समायोजन विशेष समितिका सदस्य एवं एमाले महासचिव ईश्वर पोखरेलले नेपालले सेना समायोजन र शान्ति प्रक्रियामा खेलेको भूमिका अन्तर्राष्ट्रियस्तरमा समेत गर्व गर्न लायक भएको बताउँदै शान्ति प्रक्रिया महत्वपूर्ण काम सम्पन्न भएको दाबी गर्नुभयो ।

२०६९ देखि देशका विभिन्न १० स्थानमा लडाकुहरुको सैन्य तालिम हुँदै आएको थियो । आज देशका १० स्थानमै विशेष समारोह आयोजना गरी सैन्य जिम्मेवारी प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

नियोक चितवन पुनर्गठन

भरतपुर, २१ असार
भरतपुरमा आज शुक्रवार आयोजित एक भेलाले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) चितवनको पुनर्गठन गरेको छ । समितिको संयोजकमा बालकृष्ण पौडेल, उपसंयोजकमा शान्ति अधिकारी, सचिवमा कृष्ण गिरी, सहसचिवमा यमबहादुर बि.क. र कोषाध्यक्षमा राजेन्द्र पौडेल रहनुभएको छ ।
समितिका अन्य सचिवालय सदस्यहरुमा सोमराज महतो, अम्बिकालाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, शान्ता अधिकारी, सावित्री सापकोटा, विश्वनाथ ओझा, डा. इश्वरी लौडारी, शिला अधिकारी, दिपकबाबु श्रेष्ठ, विष्णुमाया पाण्डे, वामदेव अधिकारी र केशव सापकोटा हुनुहुन्छ ।
यसैगरी, सोही भेलाले नियोकको मध्यमाञ्चल क्षेत्रिय प्रतिनिधिमा लक्ष्मीकान्त शर्मालाई चयन गरेको छ । समितिको सचिवालय १७ सदस्यीय रहेको छ भने जिल्ला समितिमा ४५ जना रहनुभएको छ ।
भेलामा मानवअधिकारकर्मी, प्राध्यापक, शिक्षक, सामाजिक कार्यकर्तालगायत विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियो । समितिका संयोजक पौडेलका अनुसार नियोकले ०४८ सालको निर्वाचनदेखिनै निर्वाचनको पर्यवेक्षण गर्दै आइरहेको छ । नियोकका सदस्यहरुले निर्वाचनको समयमा पार्टीको प्रचारप्रसारमा लागेर हिंड्न नपाउने आचारसंहिता रहेको पनि पौडेलले जानकारी दिनुभयो ।

Older posts «

» Newer posts