सविता श्रेष्ठ
भरतपुर, १८ भदौ
– मुख्य माग ः तलब वृद्धि
– ६१ हजार विद्यार्थी विद्यालय जान पाएनन्
– अभिभावक संघ भन्छ– विद्यार्थीलाई निशाना नबनाउ
– माग वार्ताबाट समाधान गर्न सकिन्छ ः प्याब्सन
– जिशिअको ठहर ः विद्यालय बन्द गर्नु गलत
संस्थागत विद्यालय शिक्षक युनियन इष्टु नेपाल, चितवनले मंगलबार चितवनका नीजि विद्यालयहरुकोे पठनपाठन बन्द गरेको छ । तलब वृद्धि गर्नुपर्ने मुख्य माग राख्दै इष्टु नेपालले विद्यालय बन्द गरेको हो ।
जिल्ला शिक्षा कार्यालय चितवनका अनुसार इष्टु नेपालको बन्दका कारण जिल्लाका १ सय ६६ वटा नीजि विद्यालयहरु बन्द भए । बन्दका कारण नीजि विद्यालयमा अध्ययनरत करिब ६१ हजार विद्यार्थीहरु विद्यालय जान पाएनन् ।
नेपाल सरकारको शिक्षा नियमावली अनुसारको सेवा सुविधा नीजि विद्यालयका शिक्षकहरुले पनि पाउनुपर्ने माग राखेर स्कुल बन्द गरिएको इष्टु नेपाल चितवनका संघर्ष समिति संयोजक विजय पाण्डेले जानकारी दिए । गत साउन १ गते प्याब्सन चितवनलाई दिएको पाँच बुँदे मागको बारेमा कुनै सुनुवाई नभएकोले विद्यालय बन्द गरिएको उनले बताए ।
आन्दोलनरत इष्टुले माग पुरा गर्न दवाव दिनको लागि यसअघि प्याब्सनको कार्यालयमा पनि तालाबन्दी गरेको थियो । प्याब्सन तथा जिल्ला शिक्षा कार्यालयसँग भएका वार्ताबाट शिक्षकहरुको माग पुरा नभएकोले विद्यालय बन्द गरिएको संयोजक पाण्डे बताउँछन् ।
