रत्ननगर, ३० भदौ
नेकपा (एमाले)कोे युवा संगठन युवासंघ नेपालको चितवनमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले संघका केन्द्रीय सचिव चन्द्र लामाको संयोजकत्वमा २५ सदस्यीय युथ फोर्स केन्द्रिय समिति घोषणा गरेको छ । युथ फोर्सको उपसंयोजकको जिम्मेवारी धु्रव आचार्य र सचिवको जिम्मेवारी दर्शन लामालाई दिइएको छ ।
युवासंघको विधान अनुसार २५ सदस्यीय युथ फोर्ससँगै निर्वाचनलाई ध्यानमा राख्दै एक सय ७५ सदस्यीय केन्द्रिय युथ फोर्सको समेत घोषणा गरिएको छ । केही दिन भित्रै जिल्ला, क्षेत्र, नगर, वडा तथा बुथ तह सम्म युथ फोर्सका ईकाई गठन गरिने केन्द्रिय संयोजक चन्द्र लामाले जानकारी दिए ।
संविधान सभा निर्वाचनमा अन्य दलका युवा संगठनबाट हुन सक्ने अबाञ्छित क्रियाकलाप रोक्न, निर्वाचनलाई भयरहित बनाउन युथ फोर्सको पुनर्गठन गर्नुपरेको लामाले बताए । युवा संगठनको छुट्टै दस्ता तयार पार्दा द्वन्द्व चर्कने भन्दै चौतर्फी आलोचना भएपछि चार बर्ष देखि नेकपा एमालेले युथफोर्सलाई निष्कृय राखेको थियो ।
संविधान सभा निर्वाचन नजिकिंदै गर्दा युवासंघका अगुवाहरुले युथ फोर्स गठन गर्नुपर्ने दवाव दिएपछि चितवनमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाबाट फोर्स पुनर्गठन गरिएको हो । युथ फोर्सका पूर्व संयोजक महेश बस्नेत युवासंघ नेपालका अध्यक्ष भएपछि युथफोर्सको छुट्टै समिति बन्न सकेको थिएन ।
भेलाबाट निर्वाचन परिचालन कमिटिको संयोजकको जिम्मेवारी पाएका युवासंघका केन्द्रिय अध्यक्ष महेश बस्नेतले बन्दसत्रलाई सम्बोधन गर्दै मतदाता र मत पेटिकाको सुरक्षाका लागि बुथ बुथमा युथ फोर्सको ईकाई गठन गरेर काम अगाडी बढाईने जानकारी दिए ।
देशभरीका झण्डै आठ सय युवा प्रतिनिधिहरुको सहभागीता रहेको राष्ट्रिय कार्यकर्ता भेलाको शनिबार एमाले अध्यक्ष झलनाथ खनालले भरतपुरमा उद्घाटन गरेका थिए ।
यसैबीच, एमाले नेता केपी ओलीले बैद्य नेतृत्वको नेकपा–माओबादीलाई देखाएर एकीकृत नेकपा माओबादी नै निर्वाचन हुन नदिने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । युवासंघ नेपालको रत्ननगरमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको बन्दसत्रलाई सम्बोधन गर्दै नेता ओलीले एकीकृत नेकपा माओवादीले आफ्नो पक्षमा जनलहर नभएको देखेर निर्वाचन सार्ने षडयन्त्र गरेपनि त्यो सफल हुन नसक्ने बताए । निर्बाचन मंसिर ४ मै हुनुपर्ने बताउँदै ओलीले आफ्नो भूमिका सशक्त बनाउन युवासंघका कार्यकर्तालाई आहन गरे ।
बन्दसत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव इश्वर पोखरेलले जनताको बिश्वासको आधारमा भन्दा पनि जबरजस्तिबाट निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न खोज्नेहरुलाई रोक्न युथफोर्सले सृजनात्मक भूमिका खेल्ने बताए । पार्टीको नीति, निर्देशन र नियन्त्रणमा युथफोर्सले आफ्ना गतिबिधि अगाडि बढाउनु पर्नेमा जोड दिंदै पोखरेलले शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन हुनसके लोकतान्त्रिक पक्षधर दलहरुको दुई तिहाई मत आउने समेत बताए ।
एमाले सचिव शंकर पोखरेलले युवा शक्तिको निर्वाचनका बेला महत्वपूर्ण भूमिका हुने भएकोले सशक्त रुपमा परिचालित हुन निर्देशन दिए ।
ब्युँतियो युथ फोर्स : चन्द्र लामा संयोजक
यात्रु ओर्लन नपाउँदै बसमा आगजनी
सञ्चारपत्र सम्वाददाता
काभ्रे, ३० भदौ
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्याकर्ताले आइतबार काभ्रेको धुलिखेलमा एउटा यात्रुबाहक बस जलाएका छन् । माओवादीले मंसिर ४ गते हुने निर्वाचन प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै आएको छ ।
छापामार शैलिमा आएका कार्यकर्ताहरुले मेलम्ची तर्फ जाँदै गरेको बा २ ख ५६७२ नम्बरको बसलाई अरनिको राजमार्ग अन्तर्गत धुलिखेल बसपार्क नजिकै जलाइदिएका हुन् ।
यात्रुहरुलाई ओर्लने समय समेत नदिई एक्कासी बसमा आगो लगाएको भन्दै स्थानिय बासिन्दाहरु आक्रोशित भएका थिए । उक्त बसमा यात्रा गरिरहेका राजेन्द्र प्रधानले यात्रुहरु ओर्लन नपाई आगो लगाएकाले आफुहरु हतार हतार ओर्लेर ज्यान जोगाएको बताए । आगलागीबाट बस पुरै जलेको छ । बन्दको नाममा सार्वजनिक यातायातको साधन जलाउने आन्दोलनकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै स्थानिय बासिन्दा र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए । नेकपा–माओबादी सहितको मोर्चाले आइतबार तामसालिङ क्षेत्र बन्दको आहन गरेपनि बनेपाका स्थानिय बासिन्दाहरु प्रतिकारमा उत्रिएपछि बन्द खुलेको थियो ।
प्रहरीले नेकपा–माओबादीका जिल्ला इन्चार्ज चुडामणी गौतम ‘हेमक’ सहित १७ जना बन्दकर्तालाई नियन्त्रणमा लिए लगत्तै जिल्लामा यातायात सञ्चालन भएको थियो । स्थानिय व्यापारिहरुले बन्दको अवज्ञा गर्दै विहान १० बजे पछि धुलिखेल, बनेपा तथा पनौती बजारका पसल खोलेका थिए ।
