—शिक्षा कार्यालयका चार परिपत्र लत्याइए
– अनुमति नै नलिई एक देखि आठ कक्षा सम्म सञ्चालन
– यस पटकको परिपत्र अटेर गरे बन्द गराइदिन्छौं ः जिशिअ
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १ असोज
जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन अनुमती नै नलिई चितवनमा चार निजी विद्यालयले पठनपाठन गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालयको पटक पटकको परिपत्रलाई समेत अटेर गरी ती विद्यालयले पठनपाठन जारी राखेका हुन् ।
निजी विद्यालय सञ्चालन गर्नको लागि शिक्षा नियमावली २०५९ र संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ले तोकेको मापदण्ड पुरा गर्नुपर्छ । तर, पूर्वी चितवनको चैनपुरमा दुईवटा तथा पिप्ले र दाहाखानीमा एउटा÷ एउटा निजी विद्यालयले सञ्चालन अनुमतीको प्रकृया नै शुरु नगरी आफूखुसी पठनपाठन गरेका हुन् ।
विष्णुप्रसाद सिलवालले खोलेको आदर्श इङ्गलिस बोर्डिङ्ग स्कूल र ढलक लामाले खोलेको बृुद्धशान्ती इङ्गलिस बोर्डिङ्ग स्कूल चैनपुरमा रहेका छन् । पिप्लेमा सोमप्रसाद पाण्डेले दीपज्योती बोर्डिङ्ग स्कूल र बमबहादुर थापा मगरले चतुर्मुखी इङ्गलिस बोर्डिङ्ग स्कूल दाहाखानीमा सञ्चालन गरेका छन् । यी विद्यालयका सञ्चालकको नाममा जिल्ला शिक्षा कार्यालय, चितवनले गत शैक्षिक सत्रमा नै गरेको परिपत्र अटेर गरेकाले चालु शैक्षिक सत्रमा पनि पठनपाठन रोक्न परिपत्र गरेको थियो ।

