प्रहरीद्वारा आरोपित १० जनालाई सर्वस्वसहित जन्मकैदको माग
पक्राउ परेका रामप्रसाद अधिकारीलाई भने बढीमा तीन वर्ष सम्मको कैद सजायँ माग ।
प्रतिमा सिलवाल
भरतपुर, ११ असोज
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई छ महिनादेखि तीन वर्षसम्मको कैद सजायँ माग दाबी गर्दै चितवन प्रहरीले जिल्ला न्यायाधिवक्ता समक्ष फाइल पठाएको छ । कृष्णप्रसाद अधिकारीको हत्याका आरोपित मध्ये एक रामप्रसाद पक्राउ परेको २२ औं दिन शुक्रबार प्रहरीले रामप्रसाद र उक्त हत्याका अन्य दश अभियुक्तहरुको सम्बन्धमा अनुसन्धान पुरा गरेको हो । अनुसन्धान सकिएपछि रामप्रसाद अधिकारी र अन्य दश फरार अभियुक्तहरुको फरक फरक माग दाबी गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला न्यायाधिवक्तालाई पठाएको हो । फरार दश जनाको हकमा भने प्रहरीले मुलुकी ऐनको ज्यान सम्बन्धी महलको दफा १३ को उपदफा ३ अनुरुप कारवाही माग दावी गरेर जिल्ला न्यायाधिवक्तालाई फाइल पठाएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक तथा सहप्रवक्ता जीवलाल चुँदालीले बताए । मुलुकी ऐनको ज्यान सम्बन्धी महलको दफा १३ को उपदफा ३ ले अभियोगमा दोषी ठहर भएमा सर्वस्व सहित जन्मकैद वा जन्मकैद मात्रै सजायँ हुनसक्ने व्यवस्था गरेको छ ।

