उम्मेदवार चयनसँगै एमाले चितवनमा विवाद चर्कियो

bhetwal sammelanस्थायी कमिटीको निर्णय विरुद्ध उम्मेदवारी दिन्छु ः जेपी भेटवाल
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १५ असोज
आगामी मंसिर ४ का लागि घोषणा गरिएको संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा (एमाले)ले प्रत्यक्ष तर्फ चयन गरेका उम्मेदवारमध्ये चितवनको क्षेत्र नं. १ मा विवाद भएको छ । एमाले स्थायी कमिटीको बैठकले क्षेत्र नं. १ मा पार्टी पोलिटब्युरो सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै एमालेभित्र विवाद चुलिएको हो ।
जनभावना र कार्यकर्ताको भावनालाई बेवास्ता गरेर आफुलाई उम्मेदवार नबनाइएको भन्दै एमाले चितवनका पुराना नेता जागृत प्रसाद भेटवालले क्षेत्र नं. १ बाट मंगलबार साँझ उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘एमाले स्थायी कमिटीको निर्णय विरुद्ध मेरो उम्मेदवारी हो’ भेटवालले भने ।
संविधानसभाको दोस्रो निर्वाचनका लागि एमाले केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका भेटवाल चितवनको क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि आकांक्षी थिए । क्षेत्रीय कमिटीले भेटवालसहित पाण्डे र पूर्व सभासद् सीता पौडेललाई पनि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको थियो ।
एमाले स्थायी कमिटीको वैठकमा चितवन क्षेत्र नं. १ को उम्मेदवारका लागि पछिल्लो समय पाण्डे र भेटवालको सम्बन्धमा बराबरी दवाव परेपछि कसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा एमाले नेतृत्व समेत निर्णयमा पुग्न सकेको थिएन । क्षेत्र नं. १ कै कारण चितवनका अरु क्षेत्रमा समेत असर पर्ने भन्दै चितवन जिल्ला नेतृत्व पनि सकेसम्म विवाद मिलाएर जाने तयारीमा थियो । Read the rest of this entry »

एमालेद्वारा उम्मेदवार सार्वजनिक

UML NAME LIST FINAL–चार पदाधिकारी दुई–दुई स्थानबाट उम्मेदवार
–केही जिल्लामा असन्तुष्टि
रामकुमार एलन
काठमाडौं, १५ असोज
नेकपा एमालेले २ सय ३८ क्षेत्रका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । भक्तपुर–१ र रौतहट–३ बाहेक सबै क्षेत्रका उम्मेदवारको नाम सार्वजनिक भएको छ ।
सार्वजनिक भएको नाममा एमालेका चार शीर्ष नेताले दुई ठाउँबाट उम्मेदवारी दिएका छन् । अध्यक्ष झलनाथ खनाल गृहक्षेत्र इलामको क्षेत्र नम्बर १ बाट उठेका छन् भने तराईको सर्लाहीको १ नम्बर क्षेत्रबाट पनि खनालको उम्मेदवारी सार्वजनिक गरिएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले गृहजिल्ला रौतहट–१ र काठमाडौं–२ बाट उम्मेदवारी दिने तय भएको छ । उपाध्यक्ष वामदेव गौतमले बर्दियाको १ र प्युठानको १ नम्बरबाट उम्मेदवार भएको छ ।
सचिव विष्णुप्रसाद पौडेलले रुपन्देही–४ र नवलपरासी–३ बाट उम्मेदवार भएका छन् । महासचिव इश्वर पोखरेलले काठमाडौं–५ बाट र सचिव शंकर पोखरेल दाङको ४ नम्बर क्षेत्रबाट उम्मेदवार भएका छन् । स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले झापाको ७ नम्बरबाट मात्र उम्मेदवारी दिएका छन् ।
पूर्वमन्त्री भीम रावल अछामको १ नम्बरबाट, राजेन्द्रप्रसाद पाण्डे धादिङको ३ नम्बरबाट, सुरेन्द्र पाण्डे चितवनको १ बाट, पूर्व ऊर्जा मन्त्री गोकर्ण विष्ट गुल्मी ३ बाट र प्रदीप ज्ञवालीलाई गुल्मी २ बाट उम्मेदवार घोषणा गरिएको छ । पृथ्वीसुब्बा गुरुङ लमजुङ–२ बाट, रघुवीर महासेठ धनुषा–५ बाट, उर्वादत्त पन्त कञ्चनपुर –४ बाट, छविलाल विश्वकर्मा रुपन्देही–१ बाट र रघुजी पन्त ललितपुर–३ बाट उम्मेदवार भएका छन् । पतिपत्नी नै टिकट पाउनेमा धनुषाका महासेठसँगै क्षेत्र नम्बर–३ बाट टिकट पाएकी जुलीकुमारी महतो छन् ।
यस्तै युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत भक्तपुर–२ बाट उठेका छन् भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति गरेका युवा नेताहरु योगेश भट्टराई काठमाडौं–६ बाट, राजेन्द्र राई धनकुटा–२ बाट, यज्ञराज सुनुवार ओखलढुंगा–१ बाट उम्मेदवार भएका छन् । युवा नेता रवीन्द्र अधिकारी कास्की–३ बाट उम्मेदवार भएका छन् भने कलाकार भुवन केसीलाई काठमाडौं–१ बाट उम्मेदवार घोषणा गरिएको छ ।
संविधानसभाका अध्यक्ष इलामबाटै
व्यवस्थापिका संसदका अध्यक्ष तथा विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले इलाम–२ बाट उम्मेदवारी दिने भएका छन् । इलामबाट नै निर्वाचित नेम्बाङ पछिल्लो समय एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् भने उपाध्यक्ष अशोक राई एमाले छाडेर संघीय समाजवादी पार्टीमा गएपछि उनलाई उपाध्यक्ष बनाउनु पर्छ भन्ने माग पनि रहेको थियो । संविधानसभाको अध्यक्ष भएकाले बुटवलमा सम्पन्न महाधिवेशनमा उम्मेदवार नभएका नेम्बाङले यसपटक पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
केही जिल्लामा असन्तुष्टि
केन्द्रले वितरण गरेको टिकटमा केही असन्तुष्टि पनि प्रकट हुन सुरु गरेको छ । मंगलबार साँझ नै फेसबुक र ट्वीटरमा एमालेका भ्रातृसंगठनका जिल्लास्तरीय नेताले एमालेको निर्णयले कमजोर उम्मेदवार बोकेर निर्वाचनमा जान नसकिने भनेर असन्तुष्टि जनाएका हुन् । सिन्धुली–२, मकवानपुर–२, चितवन–१ मा अलि बढी असन्तुष्टि देखिएको छ ।

Older posts «

» Newer posts