रामकुमार एलन
२०५३ सालतिर चितवनमा पत्रकारिता गर्नु चुनौती थियो । त्यतिखेरका पत्रकार साप्ताहिक पत्रिका निकाल्थे । साप्ताहिक पत्रिका निकाल्नु पनि फलामको च्युरा चपाउनु जस्तै थियो । सम्पादक कि राजनीति गर्थे कि अरु कुनै पेसामा हुन्थे । युवा पुस्ताका थुप्रै अनुहार साप्ताहिक पत्रिकामा एउटा समाचार छापिँदा पनि गर्व गर्थे । साप्ताहिक पत्रिकामा बाइलाइन छापिँदा पनि साथीहरुले आज मेरो चिया खुवाउने पालो भन्थे । साँच्चै ५० को दशकमा चितवनको पत्रकारिता सुरुवाती थियो । यद्यपि चितवनमा लामो समय पत्रकारिता गरेका पत्रकार त्यतिखेर पनि नभएका होइनन् । खासमा त्यतिखेर पनि दैनिक पत्रिका प्रकाशन, साप्ताहिक पत्रिकाको निरन्तरता भएका थुप्रै वर्ष भएका थिए । व्यवसायिक पत्रकारिताको सुरुवात हुन भने राम्रोसँग नसकेको अवस्था थियो, प्रयास नभएको होइन ।
सत्तरीको दशक सुरु हुँदा चितवनको पत्रकारिताले एउटा उचाइ प्राप्त गरेको छ । खासमा युवा पुस्ताले गरेको मिहिनेतलाई प्रशंसा गर्न कन्ज्युस्याइँ गर्नु हुन्न । उसो त युवाको हातमा पत्रकारिता फक्रने अवसर दिने लगानीकर्तालाई पनि नतमस्तक भएर प्रशंसा गर्नै पर्छ । लगानीकर्ताले विश्वास गर्दा कति पत्रिकामा ठूलो लगानी भएर पनि माथि उठ्न त के शेयरको प्रमाणपत्र समेत लुकाउनु पर्ने अवस्था पनि नआएका होइनन् । खासगरी एउटा सपना देखेर लगानी गर्ने तर त्यो सपना अनुसार योजना कार्यान्वयन नहुने कारण पनि मिडियामा लगानी व्यर्थ बन्दै गइरहेको छ । अर्कातिर मिडियामा लगानी गरेपछि भइरहेको सामाजिक प्रतिष्ठा, राजनीतिक क्यारियरमा एक प्रकारको चमक बढ्ने भएकाले पनि सानोतिनो शेयर हाल्ने र ठूलै फुर्ति लगाउनेहरुको पनि समाजमा कमी छैन ।
पछिल्लो घटनाक्रमहरुले यो पनि देखाएका छन् कि एकल स्वामित्वको मिडिया हाउसहरु निकै फस्टाएका छन् । त्यसमा साझेदार बनेकाहरु विस्तार अलग हुने क्रम जारी छ । पत्रकारितामा आएका युवा पुस्ताले पत्रकारिताको स्वाद नै अलग बनाइदिएकै छन् । विज्ञापनको बजार पनि विस्तार हुँदै गएको छ । चितवनको पत्रकारिता अनेक उतारचढावको पात्र हो । आज चितवनका पत्रकार भोकै मर्नुपर्दैन भन्ने सन्देश कम्तीमा नारायणी अञ्चलभरि प्रवाह भएको छ । नारायणी अञ्चलकै केही यस्ता जिल्ला छन्, जहाँको पत्रकारिताको चर्चा सुरु नगर्दै नाक खुम्च्याउने समाज पनि छन् । अनि चितवनको प्रसङ्ग कोट्याउँदा नारायणी अञ्चलभित्रैका पत्रकारमा बढी सम्भावना, आम्दानीको स्केल अलि बढी र खुला प्रतिस्पर्धामा अगाडि भएको भन्न हिच्किचाउनु पर्दैन, यो उनीहरुको मिहिनेत र प्रयासबाट सार्थक भएको कुरा हो । त्यसमा पनि राजनीतिक पृष्ठभूमि बोकेर अवसर लिने भन्दा खुला बजारबाट टपक्क टिपेर अवसरको स्पर्धामा खटाइएका अनुहार बढी सफल छन् । आफैले आफ्नो स्वमूल्याङ्कन पनि गर्दा हुन्छ बेलाबखत ।
नेपाल पत्रकार महासंघ, चितवनले चित्रवन टेलिभिजन सुरु नगरेको होइन । तर तत्कालीन कोषाध्यक्ष दिनेशकुमार थपलियाको प्रयास कामयाव हुन सकेन । चितवनको पत्रकारिता अनुभूत गर्दा सामान्य स्ववियु निर्वाचनले पनि पत्रकारहरु दुई ध्रुवमा विभाजित हुने गर्थे । रामपुर क्याम्पसमा क्याम्पस प्रमुख नै खुकुरी लिएर उत्रे भन्ने समाचार चितवन पोष्टमा छापिएपछि त्यतिखेर सम्पादक धर्मराज अर्यालले नै पंक्तिकारलाई भनेका थिए, ‘साँच्चै हो त ?’ दाबी गरेपछि समाचार त छापियो तर त्यतिखेर चितवनको कांग्रेस दबदबा राजनीतिले निकै समस्या पारेको थियो । पत्रकारितामा राजनीतिको ठाडो हस्तक्षेप हुने त्यो जमाना सम्झँदा अहिले पनि हाँसो उठेर आउँछ । त्यो माहौलमा घर बुटवलको फाइनान्समा राखेर दैनिक पत्रिका निकाल्न सुरु गर्ने अर्यालको उत्साहलाई पनि मान्नुपर्छ । अहिले पनि सम्झना छ, सूर्यप्रकाश कँडेल, एकल सिलवाल र म दैनिक पाना भर्न पेटी ठेक्का लिन्थ्यौँ, व्यवस्थापक जीवलाल पौडेल विज्ञापन खोज्न दौडन्थे । रेडियो नेपाल सुनेर अन्तर्राष्ट्रिय समाचार लेख्ने, मुख्य समाचार लेख्ने, एङ्कर लेख्ने दैनिक परिवर्तित जिम्मा हुन्थ्यो चितवन पोष्टमा । चार बजेतिर सबै भेला भएर राम मिष्ठान्न भण्डारमा समोसा खान जान्थ्यौँ, विज्ञापन छापेर कटाउँथ्यौँ । हाम्रो भन्दा बढी तलब थियो कम्प्युटर अप्रेटरको । उनी भन्थे, मोजा फुकालेर आउनु कम्प्युटर कोठामा, भाइरस सर्छ । अहिले हाँसो उठेर आउँछ । सम्पादक अर्यालको उत्साह, नेतृत्व र स्वाभिमानी अभिमानले त्यो पुस्तालाई आज चितवनले गर्व गर्ने ठाउँ बनाएको छ । आज दाजु कँडेल जमेर बसेका छन् पत्रकारितामा । एकलजी अचेल सामाजिक अगुवा पनि हुनु भएको छ । कुराकानी हुँदा अर्याल सर भन्ने गर्नुहुन्छ, जे होस् त्यो टिम सफल छ नि भाइ, छाडेर गए पनि खुशी छु ।
आडम स्मिथले भनेका थिए, यो संसार बसाइँ सर्नेहरुले बदलेको हो । नत्र यथास्थितिमा हुन्थ्यो संसार । यो नियम सबैमा लागू हुन्छ । नारायणगढ बन्दीपुरे साहुहरुको हातमा थियो कुनै बेला । राजनीतिमा पनि यिनै बन्दीपुरे घरानाहरु हाबी हुन्थे । समय बदलियो, बाग्लुङबाट चितवनमा पढ्न आउनेहरु उतै पढ्न थाले । सम्झनाका केही समाचारहरु अझै ताजा छन् । धर्मराज सरले नै ब्युटी पार्लरको समाचार लेख्न लगाउनु भएको थियो । त्यतिखेरका ब्युटीपार्लरका सञ्चालकहरु भन्थे, अझै क्षत्रीबाहुनका बुहारीहरु पार्लर आउने कल्चर बसेको छैन । आज खोज्ने हो भने आधा भन्दा बढी पार्लर सञ्चालक क्षत्रीबाहुनकै छोरीबुहारी होलान् । समाज फेरिँदो छ र समाज अनुसार पत्रकारिता फेरिनु पर्छ भन्ने मान्यतामा हिँड्नेहरु सफल भएका छन् । त्यही सफलताको सूचक मान्छु म, धादिङबाट आएका एकल सिलवालले पत्रकारितामा एउटा नयाँ स्वाद ल्याए । हरेक समाचारमा भावुक भएर कवि मन प्रस्तुत हुने सिलवाल, निष्ठुर भएर काँटछाँट गर्ने जिम्मा पाएका उपसम्पादक कँडेल र सम्पादन मात्र होइन, एउटा कि दीर्घ छापिँदा भाषा बिगारेको भनेर रिसाउने सम्पादक अर्यालको स्कुलिङ साँच्चै एउटा नमूना थियो । दैनिक पत्रिका धेरै पटक मरेको अवस्थामा पुग्थ्यो र साँझ प्रेसमा पुगेर साहुजीलाई हम्किँदै भोलिको भाका राख्दै छाप्न लगाइन्थ्यो । आज चितवन पोष्टको सफलतामा हामी चार भाइको नाम कसले जोड्छ र ? भावुक भएर के काम, पुराना कुरा सम्झेर के काम ? भन्ने लाग्नु अन्यथा पनि होइन ।
चितवनको पत्रकारिता सफल हुनुमा यतिमा सीमित छैन । चितवनमा सम्भावना देखिएपछि बुटवलका पत्रिकाहरुले पनि डेरा जमाए । पोखराका पत्रिकाले पनि काम गर्न थाले । चितवनमा एकजना प्रतिनिधि राखेर पत्रिका गाडीमा पठाउने काम भयो । धेरै पत्रिकाले चितवनमा डेरा पत्रकारिता जमाउन खोजे । कालान्तरमा ती सबै प्रयास असफल भए । यतिसम्म कि नवलपरासीमा प्रेस राखेर पोखराको आदर्श समाजले राम्रै मिहिनेत नगरेको होइन । तर सफल हुन सकेन । यो बीचमा चितवनका पत्रकारहरु राष्ट्रिय अनुहार पनि बने । जिल्लामा अब्बल लेखनसँगै राष्ट्रिय हस्ताक्षर बनेका थुप्रै अनुहारहरु आज पत्रकार कम र सामाजिक तथा राजनीतिक प्राणी बढी भएका छन् । त्यसैले पनि पछिल्लो समय चितवनमा गुणस्तरको पत्रकारिता जति फस्टाएको छ, नारायणी अञ्चललाई समेटेर राष्ट्रिय अनुहार हुन पनि चुकिरहेको छ ।
लामो समय जापान बसेर आएका हरिप्रसाद पोखरेलको निकै मिहिनेत छ चितवनको पत्रकारितामा । पत्रिकाको लेखा राख्नेदेखि दैनिक पत्रिकाको प्रकाशकसम्म हुँदा उनले जापानमा पसिना बगाएर कमाएको पैसा पनि लगानी गरेका छन् । जीवनका उर्वर जवानी त स्वयम्सेवी पत्रकारितामा लगानी गरेकै थिए । रेडियोको स्टेसन म्यानेजर पनि भएका पोखरेलले सञ्चारपत्रको प्रकाशन गरेर गरेको प्रयास त्यही ५० को दशकबाट सुरु भएको सहकार्यको एउटा इँट हो । चितवनमा नारायणी दैनिक प्रकाशन गरेर कार्यकारी सम्पादक भएका कृष्ण गिरी सत्तामा रहँदा र नरहँदा पनि सादगी जीवन बिताउने अर्का अनुहार हुन् । काठमाडौं, वीरगञ्ज र चितवनको दैनिक, साप्ताहिक र रेडियो पत्रकारिताका थुप्रै आयाम भोगेका गिरीले नेपाल पत्रकार महासंघमा वाम वर्चश्व राख्नसमेत निकै मिहिनेत गरेका छन् । आज वीपीको समाजवाद ठूलो कि पुष्पलालको साम्यवाद भन्ने बहस बढेको मात्र छैन, विचारमा बिपी हार्दै गएका छन् र ६५ प्रतिशत कम्युनिष्ट मुलुकमा छन् । यस्तै गरी चितवनको पत्रकारितामा वाम वर्चश्वको नेतृत्व गरेका गिरी र पोखरेलको अभियानमा फुक्काफाल भएर नमन् गर्न मन लागेको छ । चितवन अखण्ड होस् कि नेपालको राजधानी । त्यो त जग्गाका कारोबार गरेर अकुत कमाउने र दलहरुलाई चन्दा दिनेहरुको चासो हो । पत्रकारिता गरेर न मेयरको सपना बोक्ने, न कुनै पार्टीको केन्द्रीय सदस्य नै ताक्ने चाहना छ यो पुस्तासँग । यो पुस्ता एकल सिलवालजस्तै हंशमुख भएर पीडा लुकाउन चाहन्छ, सूर्यप्रकाश कँडेलजस्तै तस्बिर जस्ताको तस्तै बाहिर ल्याउन चाहन्छ । अनि रमेशकुमार पौडेलजस्तै निफिरी भएर रमाउन चाहन्छ । चितवनमा एउटा व्यवस्थित सञ्चारगृहको जग बसाउने अभियान सुरु भएको छ । गिरी र पोखरेलको यो अभियानमा सिलवाल, कँडेल र पौडेलको पनि साथ भइदिए हुने थियो भन्ने चाहना न हो । सबै चाहना कहाँ पुरा हुन्छ र ? जीवनभर पत्रकार भइरहनेहरुका लागि खुशीको खबर हो, पत्रकारिताको सम्भावनाको सन्देश बोकेर मिडियामा लगानी गर्न इच्छुक मनहरुलाई सञ्चारपत्रले सम्भावनाको श्वेत पत्र जारी गर्न सकोस् । शुभेक्षा अविराम ।
