«

»

सम्पादकीय: नियमित अनुगमनको आवश्यकता

चाडबाड नजिकिंदै गर्दा बजारमा दैनिक उपभोग्य सामानमा व्यापारीहरुबाट हुनसक्ने अनियमित कार्यलाई रोक्न र त्यस्तो कार्य निरुत्साहित गर्न चितवन प्रशासनले बजार अनुगमन गर्न थालेको छ । अनुगमनको क्रममा केही व्यापारीहरुले नियम बिपरितका कार्य गरेको उजागर भएको छ । कहीँ सडेगलेका, कहीँ उपभोग्य मिति नाघेका अखाद्य वस्तु बजारमा फेला परेको समाचार पनि आइरहेका छन् । उपभोग्य सामान गुणस्तरिय नहुनु एउटा समस्याको रुपमा रहेको छ भने वास्तविक मूल्य भन्दा बढी मोल लिएर सामान विक्रि गर्नु अर्को समस्या हो । विशेष गरि प्रशासनले चाडबाडको समयमा बजार अनुगमन गर्ने कार्यलाई परम्परा धान्ने कामको रुपमा निरन्तरता दिनुलाई मात्र आफ्नो कर्तव्य ठानेको जस्तो देखिने गरेको छ । एक दुई दिन, एक दुई ठाउँमा गरिने हल्का अनुगमनले उपभोक्तामाथि हुने गरेका अनियमित कार्यलाई पूर्ण रुपमा उजागर गर्न सक्दैन ।
बजारमा हुने अनियमित कार्यलाई रोक्न जिल्ला प्रशासन, नगरपालिका जस्ता सरकारी निकायहरु छन् । नागरिक स्तरबाट उपभोक्ताको अधिकारको पक्षमा काम गर्न भनि विभिन्न संघसंस्थाहरु गठन भएका छन् । तर पनि बजारको नियमित र उपयुक्त ढंगले अनुगमन हुन सकेको पाईंदैन । अधिकार प्राप्त र सरोकारवाला निकायहरु प्रायः चाडबाडको समयमा मात्रै बजार अनुगमनका लागि निस्किएका हुन्छन् । बजार अनुगमनको लागि जाने टोलीले पूर्व अनुसन्धान गरेको पनि खासै पाईंदैन । अधिकारीहरु बजार अनुगमन जस्तो सम्वेनशील कार्यमा जाँदा पनि हल्का ढंगले प्रस्तुत भएको पाइन्छ । अनुगमनको लागि गएको टोलीले के कसरी अनुगमन गर्ने हो भन्ने पूर्व योजना नहुँदा अनुगमन फितलो हुनगएको बारेमा प्रश्नहरु उठ्ने गरेका छन् ।
अनुगमनको बारेमा सत्य तथ्य जानकारी जनतालाई दिनु प्रशासनको कर्तव्य हो । चितवनको सन्दर्भमा अनुगमनबाट आएका परिणाम मिडियालाई उपलब्ध गराउन कुनै कन्जुस्याइँ गरेको पाईंदैन । तर समय समयमा जे जसरी बजार अनुगमन गर्नुपर्ने हो त्यो ढङ्गले गर्न नसकेको यथार्थ छर्लङ्ग छ । केवल दशैं तिहारको मुखमा मुख्य बजारका एक दुई ठाउँमा हुल बाँधेर अनुगमन गर्न जाने र मिडियाहरुमा हल्लीखल्ली मच्चाउने कार्यले मात्रै उपभोक्ताहरुमाथि न्याय हुन सक्दैन । जिल्लाको बजार क्षेत्रदेखि कुना कुनामा नियमित र कडाइका साथ अनुगमन हुन जरुरी छ । ग्रामीण क्षेत्रमा झन् उपभोक्ताहरु बोल्न नसक्ने र ठगिने क्रम तीब्र छ । मूल्य तिरेपछि गुणस्तरिय वस्तु पाउने उपभोक्ताको अधिकारमाथि हाम्रो देशमा गम्भीर खेलवाड हुँदै आएको छ । सवै व्यापारी व्यवसायीले गलत गरेका छन् भन्ने होइन । इमान्दार व्यवसायीहरुले उपभोक्ताको अधिकारका लागि सम्बन्धित निकायलाई सहयोग गर्दा र उपभोक्ताहरुबाट वस्तुको गुणस्तरबारे सकेसम्म प्रश्न नउठ्ने तथा उठिहालेपनि कम भन्दा कम प्रश्न उठ्ने वातावरण निर्माण गर्न सके उनीहरुको पनि प्रतिष्ठा बढ्छ । सम्बन्धित निकायले गलत निर्णय नगर्ने र व्यवसायिक संघ संगठनहरुले पनि गतल गर्नेलाई जोगाउनतर्फ होइन सुधार गर्नेतर्फ आफ्नो क्रियाशिलता बढाउने गर्नसके उपभोक्ता मारमा पर्ने छैनन् । चितवनको मुख्य बजार नारायणगढ त झन् छिमकी जिल्लाहरुको पनि किनमेलको केन्द्रकै रुपमा रहेको छ । गुणस्तरमा यहाँको बजारको राम्रो सन्देश अन्त पु¥याउन सके उपभोक्ताहरुको अधिकार संरक्षण हुने मात्रै होइन व्यवसाय पनि दिगो हुने निश्चित छ ।