
गस्तीमा प्रहरी ः सोमबार बिहान ईलाका प्रहरी कार्यालय माडीमा साइकल हस्तान्तरण पछि साइकलमा गस्ती गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सहकुल बहादुर थापा (अगाडि), ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मलकुमार थापा (दोस्रो) र अन्य प्रहरीहरु । तस्विर ः आनन्द पोखरेल÷सञ्चारपत्र
माडी, २८ वैशाख
चितवनको माडी नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय माडीमा गस्तीको लागि राखिएको म्यान लामो समयदेखि बिग्रिएर थन्किएको छ । गत वैशाख ६ गते भएको नागरिक सुनुवाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय माडीले प्रभावकारी काम गर्न नसकेको जन गुनासो आएको थियो ।
प्रहरीले आफूहरुसँग गस्तीको लागि सवारी साधन नभएको कारण काम प्रभावकारी रुपमा गर्न नसकेको बताएका थिए । ईलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक निर्मल कुमार थापाले कार्यालयको गस्ती भ्यान बिग्रिएर थन्काइएका कारण प्रहरीले जन चाहना अनुरुप काम गर्न नसकेको गुनासो पोखे । ‘म असारमा आउँदा यो भ्यान थन्किएको थियो, चल्छ कि भनेर चलाउन खोजेँ’ थापाले भने, –‘स्टार्ट भएपछि भ्यानको रेडियटर तातेर फुट्ला जस्तो भएपछि स्टार्ट बन्द गरेर नचलाइ राखेँ ।’
गस्तीका लागि भ्यान नहुँदा माडीको आफ्नो क्षेत्रमा अप्ठेरो पर्दा पनि समयमा नै पुग्न नसकिएको थापाले बताए । सोमबार ईलाका प्रहरी कार्यालय माडीको लागि स्थानीय बासिन्दाहरुको सहयोगमा १५ वटा साइलक हस्तान्तरण गरिएपछि भने आफूहरुलाई थोरै भएपनि राहत मिल्ने थापाले बताए । उक्त साइकलमध्ये ६ वटा साइलक ईलाका प्रहरी कार्यालय माडीमा र अन्य नौ वटा साइकल तीन÷तीन वटाका दरले अन्य तीन वटा प्रहरी विटमा पठाइने थापाले बताए ।

