चितवन । चितवन क्षेत्र नं. १ मा एमालेको ‘बागी’ उम्मेदवार बन्न लागेका जागृतप्रसाद भेटवालले उम्मेदवारी नदिने भएका छन् । भेटवालले उम्मेदवारी नदिने भएपछि एमाले चितवनको विवाद पनि टुंगिएको छ । यसअघि एमाले स्थायी कमिटीले सुरेन्द्र पाण्डेलाई उम्मेदवार चयन गरेपछि भेटवालले यसको विरुद्ध ‘बागी’ उम्मेदवारको घोषणा गरेका थिए । उनको ‘बागी’ उम्मेदवारीलाई एमाले नेता विजय सुवेदी र दावा लामा लगायतका नेताले समर्थन गरेका थिए ।
भेटवाललाई एमाले केन्द्रीय नेताहरुले ‘समानुपातिक’ मा लाने ‘पक्का’ गरेपछि एमालेको विवाद टुंगिएको एमाले स्रोतले बतायो । एमालेको विवाद टुंगिएसंगै एमाले चितवनमा खुशीयाली छाएको छ । एमाले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरु अहिले यही खुशीयालीमा जिल्ला पार्टी कार्यालयमा नाचगान गरिरहेका छन् । एमालेले अघि सारेका आधिकारिक उम्मेदवारहरु अहिले पार्टी कार्यालयमा जम्मा भईसकेका छन् । ‘बागी’ उम्मेदवार बन्न लागेका भेटवाल पनि पार्टी कार्यालय पुगेर क्षेत्र नं. १ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डेको पक्षमा लागेका छन् । भेटवाल थप अस्वस्थ भएको अवस्थामा पनि पार्टी कार्यालय पुगेका हुन् । एमाले चितवनले अहिले आफ्ना उम्मेदवारलाई बाजागाजा सहित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लैजाने तयारी गरिरहेको छ ।
