«

»

अवैध रुपमा आयातित इन्धनमा कडाइ

भरतपुर, ६ फागुन
नाकाबन्दीको समयमा पनि जिल्लामा इन्धन आपूर्ति गरिरहेको ठोरी नाकाबाट आयात हुने इन्धनलाई नाका सहज भएसँगै प्रहरीले कडाइ गरेको छ । पर्साको ठोरी नाकाबाट चितवनको माडी हुँदै नाकाबन्दीको समयमा दैनिक एक लाख ५० हजार लिटर पेट्रोलियम पदार्थ जिल्लामा भित्रिने गरेको थियो ।
नाका खुले पनि बजारमा इन्धन सहज नहुँदा कालाबजारियाले व्यापक रुपमा इन्धनको बिक्री गरिरहेका छन् । तर जिल्ला प्रहरी कार्यालय चितवनले फागुन २ गतेयता १४ हजार लिटर डिजेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्तबहादुर कुँवरले बताए ।
डिजल मुख्य रुपमा ठोरी नाका हुँदै आएको हो । त्यसैगरी पूर्वी र पश्चिम चितवनका विभिन्न ठाउँबाट पनि डिजेल बरामद गरिएको उनले बताए । प्रचलित मूल्यअनुसार बरामद डिजल १० लाख ५० हजार रुपैयाँ पर्दछ । डिजेल राखिएका भाडा ७० हजार मूल्य बराबरका छन् । डिजेललाई मूल्य बढाबढ प्रक्रियाबाट लिलाम बिक्री गरी रकम भन्सारमा दाखिला गरिने उनले जानकारी दिए ।
उनको अनुसार ठोरी नाका जाने बाटो चितवनको गीतानगर र माडीमा रहेका प्रहरीका इकाइहरुले सो बाटो हुँदै इन्धन ढुवानीका लागि जाने सवारीलाई रोक्ने गरेका छन् । ठोरी नाकाबाट सरकारीस्तरबाट इन्धन ल्याउने व्यवस्था छैन ।
नाकाबन्दीको समयमा सो नाकाबाट चितवनको बाटो हुँदै जिल्लाका अतिरिक्त गण्डकी, धौलागिरी र बागमती अञ्चलका विभिन्न जिल्लामा इन्धन पुगेको थियो । नाकाबन्दीको समयमा प्रहरी प्रशासनले उजुरी नपरेको भन्दै अवैध आयातित इन्धनमा खासै वास्ता गरेको थिएन । नाका सहज बनेसँगै प्रहरीले अवैध रुपमा आउने इन्धनलाई कडाइ गरेको हो ।