«

»

पत्रकार महिलामाथि भएको हिंसासम्बन्धी नाटक ‘जीवन चलिरहन्छ’

काठमाडौँ, १६ मङ्सिर । ‘एक पत्रकार महिला बलात्कृत हुन पुगिन्, न्याय पाउन उनलाई आठ वर्ष लाग्यो । जब यो कुरा नाटक निर्देशक राजकुमार पुडासैनीले पत्रिकामा पढे, तत्काल उनको मनमा यसलाई नाटकको रुप दिएर सबैलाई सचेत गराउन विचार आयो ।’

त्यही विचारले जन्मिन पुग्यो ‘जीवन चलिरहन्छ’ । ‘सायद गाउँमा नै शिक्षा, रोजगारी, स्वास्थ्यलगायतका सेवा राम्रो हुँदो हो त म काठमाडौँ आउनै पर्ने थिएन र ममाथि त्यस्तो घटना घट्ने नै थिएन’ पीडित महिला पत्रकारको यो भनाइले निर्देशक पुडासैनीको मन छोएको रहेछ ।

उहाँले भन्नुभयो, ‘पीडितसम्बन्धी धेरै अध्ययन र कुराकानी पछि नै यो नाटक लेख्ने निर्णय गरेको हुँ ।’

निर्देशक पुडासैनीले आज यही विषयमा पत्रकारलाई जानकारी गराउन आयोजना गरेको कार्यक्रममा भन्नुभयो, “मलाई यो नाटक लेख्न प्रेरणा दिने नै तपाइँहरू हो । त्यसैले यसको पहिलो दर्शक पनि तपाइँहरू नै हुनुपर्छ ।”

उक्त नाटकको पहिलो प्रदर्शनी आगामी शनिवार १९ गते टुँडिखेलमा हुने भएको छ । नाटक २९ गतेसम्म देखाइनेछ । पहिलो दिन ४ः०० बजे र त्यसपछिका दिन साँझ ५ः०० बजे नाटक प्रदर्शनी हुनेछ ।

नाटकमा सरिता गिरी, सिर्जना अधिकारी, कमलमणि नेपाललगायत कलाकारको अभिनय देख्न सकिनेछ । नाटकबाट सङ्कलन भएको रकम क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)लाई हस्तान्तरण गर्ने निर्देशक पुडासैनीले जानकारी दिनुभयो ।

डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छाबिन्दु तुलाधरले भन्नुभयो, “हामीले पत्रकार महिलाका लागि भनेर कोष स्थापना गरेका छौँ । कोही पत्रकार महिला हिंसामा परेमा त्यही कोषबाट सहयोग गर्दै आएका छौँ ।”

अहिले कोषमा रु एक लाख ५० हजार रहेको जानकारी उहाँले दिनुभयो । रासस