«

»

आन्दोलन शान्तिपूर्ण बनाउन प्रशासनको छलफल

sarbadaliyaसञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ भदौ
पछिल्लो समय विभिन्न आन्दोलनका कार्यक्रम हुन थालेपछि चितवनलाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले सरोकारवाबीच छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार गरेको सर्वदलीय र सर्वपक्षीय छलफलमा शान्तिपूर्ण आन्दोलनका लागि सरोकारवालाका माझ प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले अनुरोध समेत गरेका थिए ।
थारुहरुले गरेको आन्दोलनको प्रभाव चितवनमा पनि परेकाले प्रशासनले थप आन्दोलनका कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन वार्ता अगाडि बढाएको हो । कैलालीको टीकापुरमा आन्दोलन अराजक बनेकाले त्यस्तो स्थिति चितवनमा हुन नदिनका लागि सम्वादका माध्यमबाट छलफल सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सिंहले बताए । उनले आन्दोलनमा होमिएका सबैलाई संयमित भई आन्दोलन गर्न अनुरोध समेत गरेका थिए ।
प्रशासन कार्यालयमा भएको बैठकमा सिंहले शान्तिपूर्ण रुपमा माग राख्न पाउने अधिकार सबैको भएपनि हिंसात्मक रुप नदिन अनुरोध गर्दै भने–‘आफ्नो जायज माग राखौं, संयमित भई अघि बढौँ ।’
बैठकमा बोल्दै चितवनका राजनीतिक दलका प्रमुखहरुले आन्दोलनमा उत्रिएका थरुहट अगुवाहरुलाई संयमित भएर आफ्नो माग राख्न आग्रह गरेका थिए । उनीहरुले अहिले पनि आन्दोलनमा दलहरुले साथ दिएको भन्दै शान्तिपुर्ण रुपमा आफ्नो मागलाई अगाडि राख्न सुझाए ।
नेपाली काँग्रेसका सभापति टेकप्रसाद गुरुङले जनजाति र थरुहट आन्दोलनको जायज मागप्रति राजनीतिक दलहरुको समर्थन रहेको भन्दै यस्ता माग पूरा गराउन सबैले प्रयत्न गर्ने बताए । ‘जायज माग राख्दा आन्दोलन अराजक बन्नुहुँदैन भन्नेमात्रै हाम्रो कुरा हो ।’– गुरुङले भने ।
नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलियाले थारु अगुवाहरुसंग छलफल गरि जायज मागलाई संवोधन गराउन केन्द्रसंग अनुरोध गर्न सकिने बताए । उनले चितवनमा अहिले जस्तो जातीय सद्भाव कायम राख्न आन्दोलनका अगुवाहरुसंग आग्रह गरेका थिए ।
बैठकमा एनेकपा माओवादीका घनश्याम दाहाल अविनाशले आन्दोलनलाई शान्तिपूर्ण बनाउन प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण भएको बताए । ‘आन्दोलनकारी भन्दा प्रशासन बढि संयमित हुनुपर्ने भन्दै उनले आन्दोलन अराजकतर्फ मोडिनुमा प्रशासनको व्यवहारले काम गर्छ’–उनले भने ।
राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल्सिनाले चितवनमा अहिलेसम्मको सद्भाव कायमगरि शान्तिपूर्ण रुपमा आफ्नो माग राख्नुपर्ने बताए । चितवनमा भएका आन्दोनलाई अराजक बन्न नदिन आन्दोलनमा सहभागी नभएको राजनीतिक दलहरुको पनि साथ हुने भएकाले यसलाई निरन्तरता दिन आन्दोलनमा लाग्नेहरुको जिम्मेवारी महत्वपूर्ण हुने तिमल्सिनाको जोड थियो ।
बैठकमा बोल्दै थारु कल्याणकारिणी सभा, चितवनका सभापति विश्राम महतोले थरुहट आन्दोलनमा प्रशासनले दमन नगरे हिंसात्मक घटना नहुने भन्दै प्रहरीलाई संयमित बनाउनुपर्ने बताए । उनले पर्चा पम्प्लेट च्यात्ने काम प्रहरीले गर्ने गरेको गुनासो गर्दै यस्तो अवस्था सिर्जना भए आन्दोलनकारी भड्किन सक्ने बताए । उनले अहिलेसम्म चितवनका थारुहरु संयमित भएर आन्दोलनमा उत्रिएकाले कैलाली जस्तो दुखदायी घटना हुन नसक्ने प्रतिवद्धता पनि व्यक्त गरे । ‘सबै पक्षले संयमता अपनाए अप्रिय घटना हुन सक्दैन ।’–उनले भने ।
आदिवासी जनजाती महासंघ, चितवनका अध्यक्ष पदमबहादुर गुरुङले दलीय चिन्तन र भावनाबाट माथि उठेर आन्दोलनमा दलहरुले साथ दिए हिँसात्मक घटना नहुने उल्लेख गरे ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले नेतृत्वसँग समन्वय गर्नुपर्ने बताउँदै थारु कल्याणकारी सभाका सल्लाहकार ललित चौधरिले विश्वास गुमे सम्झौता पनि तोडिने भएकाले स्थानीय प्रशासन बढि जिम्मेवार भएको बताए ।
उद्योग वाणिय संघ चितवनका अध्यक्ष कल्याण जोशीले बन्दको मार सबैभन्दा बढि उद्योगी व्यवसायीहरुले भोग्नु परेको भन्दै आफ्नो हकहितका लागि कुरा गर्दा अरुको हकहितमा पनि ध्यान दिन आन्दोलनकारीहरुलाई अनुरोध गरेका थिए ।
छलफल कार्यक्रममा थारु कल्याणकारी सभा, चितवनका सभापति विश्राम महतो, सल्लाहकार टिकेन्द्र चौधरि, नेकपा मालेका सचिव परशुराम लामिछानेलगायतले सामाजिक सद्भाव कायम राख्दै आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए ।
यसैबीच चितवनमा सामाजिक, साम्प्रदायिक सहिष्णुता कायम गरि शान्तिपूर्ण आन्दोलन गरिने जानकारी थारु कल्याणकारी सभाले दिएको छ । उनीहरुले थरुहट तराईमा थरुहट स्वायत्त प्रदेशको माग गर्दै भईरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनलको दमनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गदैृ अबका आन्दोलन थप व्यवस्थित गर्ने जनाएको छ । चितवनमा भएका थरुहट आन्दोलनलाई स्मरण गर्दै पहिले भएका सम्झौताहरु कार्यान्वयन गर्न पनि उसले माग गरेको छ ।