«

»

पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा चितवनका सभासद्

fnj pgm photoतिलकराम रिमाल
भरतपुर, ३ साउन
नेपाल पत्रकार महासंघले संविधानको प्रारम्भिक मस्यौदामा राखिएका विषयहरु सच्याउन दवाव दिईरहेका बेला जनतासँग राय सुझाव लिन चितवन आएका सभासद््हरुले भने प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने बताएका छन् ।
संविधान मस्यौदा समितिको कार्यदलका सदस्य समेत रहेका चितवन क्षेत्र नं. ३ का सभासद्् कृष्णभक्त पोखरेलले नेपाल पत्रकार महासंघ चितवनद्वारा आइतबार नारायणगढमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्ण प्रेस स्वतन्त्रताका लागि आफू प्रतिबद्ध भएको बताए । मस्यौदा संविधानको प्रस्तावनामा उल्लेख भएको ‘प्रेस स्वतन्त्रता’ ले समग्र पत्रकारहरुको भावनामा चोट पुगेको भए आफूले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ राख्न पहल गर्ने बताए । मस्यौदा तयार पार्दा स्वतन्त्र प्रेसलाई अंकुश लगाउने उद्देश्य नरहेको उनको दावी थियो ।
‘प्रेसलाई पूर्ण शब्द नराख्दैमा प्रेस स्वतन्त्रता हनन् त होला जस्तो लाग्दैन । यद्दपि पूर्ण प्रेस स्वतन्त्रताका लागि भने म सधैँ प्रतिबद्ध छु ।’– पोखरेलले भने ।
एमालेबाट विजयी सभासद्् पोखरेलले प्रेस पूर्ण स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा एमाले र आफू रहेको पनि उल्लेख गरे । यो संविधान सहमतिको दस्तावेज भएको बताउँदै पोखरेलले पत्रकारहरुको मागका पक्षमा आफू सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले संविधानको प्रारम्भिक मस्यौदामाथिको टिप्पणी तथा हुनुपर्ने व्यवस्था सहितको सुझाव प्रस्तुत गरेका थिए । संविधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख हुनुपर्ने बताउँदै उनले आमसञ्चार माध्यममाथि कुनै प्रकारको हस्तक्षेप वा नियन्त्रण कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भनि संविधानमै समेटिनुपर्ने बताए ।
संविधान प्रष्ट र सरल भाषामा लेखिनुपर्ने बताउँदै उनले यसमा लेखिएका वाक्यांशले फरक अर्थ दिन नहुने सुझाव दिए । पत्रकारिता क्षेत्रको संरक्षण संवद्र्धनका लागि सूचनाको हक स्थापित गर्न संविधानले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै उनले संकटकालमा पनि आम सञ्चारको हक निलम्बनको व्यवस्था राखिरहन उपयुक्त नभएको सुझाव दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पहिले उल्लेख भैसकेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ बाट पूर्ण शब्द हटाउँदा यसलाई संकुचित गरिएको अर्थ लाग्न जाने देखिएकाले प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रता’ आवश्यक रहेको बताए । हरेक संविधानको प्रस्तावनामा संविधानको वैधताको स्रोत र लक्ष्य उल्लेख गरिने बताउँदै उनले अहिलेको मस्यौदामा ‘पूर्ण’ हटाई ‘प्रेस स्वतन्त्रता’ मात्र उल्लेख हुनुले संविधानले अपेक्षा गरेको प्रेस स्वतन्त्रताको लक्ष्य नै अपूर्ण हुन जाने दावी गरे । विषयविज्ञले दिएको सुझावका आधारमा पत्रकार महासंघले तय गरेको टिप्पणी र सुझावलाई अध्ययन गरेर संविधानमा समेटिएन भने नेपालको पत्रकारिताले गति लिन नसक्ने उनको भनाई थियो ।
कार्यक्रममा सम्वाद मञ्च चितवनका सहसंयोजक रमाकान्त सापकोटा, व्यवस्थापिका संसदका उपसचिव मुरारी महत, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारी, आदिवासी जनजाती महासंघ चितवनका अध्यक्ष सन्तकुमार चौधरी, स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्यप्रकाश कँडेल लगायतले संविधानको प्रारम्भिक मस्यौदामाथि टिप्पणी र सुझाव पेश गर्दै पूर्ण प्रेस स्वतन्त्रताका लागि पत्रकार महासंघले तय गरेका सुझावहरुप्रति आफूहरुको समर्थन रहेको उल्लेख गरे ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संविधान प्रष्ट हुनुपर्ने सुझाव समग्र सञ्चारकर्मीहरुको रहेको थियो । कार्यक्रम पश्चात सभासद्् पोखरेलले पत्रकारले उठाएका सवालहरुलाई सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच मस्यौदामा राय सुझाव लिन चितवन आएका अन्य सभासद््हरुले पनि पूर्ण प्रेस स्वतन्त्रताका लागि आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धता विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं. ४ बाट विजयी सभासद्् रामकृष्ण घिमिरेले प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस र आफू रहेको बताउँदै प्रेसका विषयमा अर्काे अर्थ नलाग्ने गरी संविधानमा स्पष्ट र सरल भाषा लेख्नुपर्ने बताए । ‘प्रेस पूर्ण स्वतन्त्र हुनुपर्छ, त्यसका लागि प्रेससँग सरोकार राख्ने संघ संगठनहरुले उठाएका माग संविधानमा राख्न सक्रिय भएर लाग्ने छु’ घिमिरेले भने ।
विगतको ईतिहास कोट्याउँदै घिमिरेले प्रेस कमजोर हुँदा ज्ञानेन्द्र जस्ता तानाशाह जन्मने खतरा रहेको पनि बताए । जतिजति बेला देशमा संकट उत्पन्न हुन्छ त्यसबेला प्रेसले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै घिमिरेले प्रेसलाई संकुचित बनाउन नहुने बताए ।
एकीकृत नेकपा माओवादीका समानुपातिक सभासद् सन्तु दराईले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । पत्रकारहरुले उठाएका विषयवस्तु संविधानमा समावेश गर्नुपर्नेमा उनले जोड दिए । प्रेस स्वतन्त्रतालाई देखावटी मात्रै नभएर स्पष्ट रुपमा संविधानमा उल्लेख गर्नुपर्ने दराईको भनाई थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् चितवन क्षेत्र नं. ५ का सभासद् बिक्रम पाण्डेले प्रेसलाई पूर्ण स्वतन्त्र बनाउनुपर्ने बताए । पाण्डेले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि बताए । सञ्चार उद्यमी समेत रहेका पाण्डेले विगतभन्दा अबको संविधानले प्रेसलाई अरु बढी स्वतन्त्र बनाउँछ भन्ने पक्षमा आफू रहेको भनाई छ ।
जनमत लिन चितवनबाट प्रत्यक्ष निर्वाचित, समानुपातिक, मनोनित गरि १३ जनालगायत १५ जना सभासद् चितवन आईपुगेका छन् । आज र भोली जिल्लाका १० ठाउँबाट राय सुझाव संकलन गर्ने कार्यक्रम रहेको छ ।