«

»

काउलेमा सहयोग हस्तान्तरण

भूकम्पपीडितहरुलाई राहत वितरण गरिँदै

भूकम्पपीडितहरुलाई राहत वितरण गरिँदै

भरतपुर, २७ वैशाख
साउदी अरेवियामा रहेका नेपाली कामदारसहितको विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा काउलेका भूकम्पपीडितहरुलाई शनिबार खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको छ ।
चितवनको काउले गाविसमा पर्ने छापडाँडा लगायतका क्षेत्रमा मितेरी फाउण्डेशनको समन्वयमा करिब दुई लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो । वैशाख १२ गते आएको महाभूकम्पबाट काउलेका छापडाँडा लगायत क्षेत्रका ८० घरधुरी प्रभावित भएका छन् । हालसम्म काउलेको ती गाउँहरुमा राहत नपुगेकाले प्रभावित क्षेत्रमै पुगी राहत वितरण गरिएको फाउण्डेशनले जनाएको छ । जोगीमाराबाट १८ किलोमिटर उकालो चढेपछि ती प्रभावित क्षेत्रमा पुग्न सकिन्छ ।
साउदी अरेवियाको एएलइ हेभी लिफ्ट कम्पनीमा कार्यरत विष्णुबहादुर बि.क.लगायत कामदारहरुले संकलन गरेको रकमबाट म्याग्दी गुर्जाका दिलबहादुर छन्त्यालले काउलेका ८२ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरेका थिए । छन्त्यालसहित एसओएस बालग्राम भरतपुरका सहायक निर्देशक राजेन्द्र लम्साल, फोरम फर नेशन विल्डिङकी रुपा उप्रेती, सेभ द पिपुलकी दिव्या अर्याल, सरोज भण्डारी, भरतपुर–७ का नेत्र जि.सी. र सुरेश धिमालले राहत वितरण गरेका थिए ।

11127885_881969348526051_4617510422939423926_o

छापडाँडाका भूकम्पपीडितहरुलाई राहतको प्रतिक्षामा

उनीहरुले संयुक्त रुपमा  खाद्यान्न सामग्री वितरण गरेको मितेरी फाउण्डेशनका अध्यक्ष एकल सिलवालले जानकारी दिए । वितरण गरिएको सामग्रीमा चामल, दाल, च्यूरा, भूजा, त्रिपाल, म्याट, लत्ताकपडा, तेल, नून, चाउचाउ, लत्तापकपडा, स्टेशनरी, सावुन, सेनिटरी प्याड र औषधि छन् ।
यसैगरी सशस्त्र प्रहरी सीमा सुरक्षा बल आपटारीका प्रहरी उपरिक्षक शम्भु उप्रेतिको समन्वयमा काउलेको भूकम्प प्रभावित अर्को क्षेत्र बुचिबाङमा पनि राहत सामग्री वितरण गरिएको छ । हाम्रो टोल विकास संस्थाका अध्यक्ष महेन्द्र अधिकारी र आमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष कृष्णकुमारी गिरीले प्रभावित क्षेत्रमै पुगी राहत वितरण गरेका थिए ।
राहत हस्तान्तरण कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, प्रहरी उपरिक्षक शम्भु उप्रेती, पत्रकारहरु हरिप्रसाद पोखरेल र जनकराज सापकोटा, युएनडीपीका भाष्कर काफ्ले, साहित्यकार अमर न्यौपाने, जीवनाथ पराजुली, लगायतको सहभागिता रहेको थियो ।

11169724_881969545192698_3679196865252968641_o

काउलेको बुचिबाङमा भूकम्पका कारण भत्केको घर