«

»

चितवनमा मृत्यु हुनेको संख्या चार पुग्यो, तीन दिन विद्यालय वन्दको घोषणा

IMG_20150426_104210चितवनमा भर्खरै भूकम्पको ठूलो धक्का महशुस भएको छ । सर्वसाधारणहरु डराएर रोड र चौरमा एकत्रित भएका छन् । महाभूकम्प गएको २५ घण्टापछि फेरि ठूलो झट्का महशुस गरिएको हो । शनिबार ११ बजेर ५६ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो । 

आइतबार १२ बजेर ५६ मिनेट जाँदा आज बनेपालाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको छ । यसबीचमा करिव सय भन्दा धेरै साना झट्का महशुस गरिएको थियो । शनिबारको भूकम्पले नेपालको ऐतिहासिक धरहराको संरचना ध्वस्त भएको थियो भने बसन्तपुर पाटन र भक्तपुर दरबारस्क्वायरका संरचनाहरु पनि भत्किएका थिए ।

भूकम्पका कारण १९ सय बढीको ज्यान गइसकेको छ भने हजारौँ घाइतेको उपचार भइरहेको छ । 

भूकम्प आएलगत्तै नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायले चासो देखाइरहेका छन् ।

भूकम्पका कारण चितवनमा हालसम्म चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, चितवनको आज आइतबार जिल्ला विकास समिति चितवनको प्राङ्गणमा भएको आकस्मिक वैठकमा प्रहरी प्रमुख सहकुल बहादुर थापाले भूकम्पबाट भएको प्रारम्भिक क्षतीको विवरण प्रस्तुत गर्दै सबै सुरक्षा निकायलाई उच्च सुरक्षा सतर्कताको अवस्थामा राखिएको जानकारी दिए ।

समितिले भूकम्पबाट जोखिममा परेका चितवनका स्थानहरु लोथर, सिद्धि, कठार, काउले, र चण्डीभञ्ज्याङमा उद्धार र राहत टोली तत्काल पठाउने निर्णय गर्दै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्रशासनिक निकाय, रेडक्रसकर्मी र राजनीतिककर्मीको टोली त्यसतर्फ परिचालन गरिसकेको छ । चितवनलाई थप जोखिमबाट बचाउन आवश्यक पर्ने सबै सुरक्षाका योजनाहरु अगाडि सारिएको चितवनका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले बताए । वैठकमा

IMG_20150426_111145दिइएको जानकारी अनुसार भूकम्पका कारण रत्ननगरका दामोदर मिश्र, काउलेकी सोमद्रा विक, चण्डीभञ्ज्याङकी मंगली चेपाङ र खैरहनी सिमलटाडीका डोलराज परियारको मृत्यु भएको हो । यसैगरी विभिन्न स्थानमा १२ जना घाइते भएको र उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भईरहेको छ । वैठकले चितवनका विद्यालयहरु तीन दिनसम्म सार्वजनिक विदा गरी उद्धार कार्यमा खटिन सबैलाई अनुरोध गरेको छ । 

चितवनमा खाद्यान्न, औषधि र पानीको उचित प्रवन्ध मिलाइएको छ । दैवी प्रकोप राहत कोषमा रकम संकलन पनि सुरु भएको छ । वैठकमा नारायणस्थित भेटघाट रेष्टुरेण्ट, राम मिष्ठान्न भण्डार र वैष्णव मिष्ठान्न भण्डारले एकमुष्ट ५१ हजार रुपैयाँ चितवनका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
भूकम्पका कारण उपचार गराउनुपर्ने विरामीलाई यहाँले स्वास्थ्य संस्थाले निशुल्क उपचारको व्यवस्था गर्ने भएका छन् ।
यसैबीच महाभुकम्पका कारण घाईते भएकोहरुको उपचारका लागि भरतपुरको नारायणी सामुदायिक हस्पिटलका तीन जना चिकित्सक सहितको १५ जना स्वास्थ्यकर्मिको टोली गोरखा गएको छ । अस्पतालका प्रबन्ध निर्देशक पुष्प धितालको नेतृत्वमा टोली गएको अस्पतालले जनाएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरि घाईतेहरुको उपचारका लागि आवश्यक औषधी सहित गोरखा पुगेको प्रबन्ध निर्देशक धितालले जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले शनिबार मात्रै ४ रेक्टर माथिका ५८ भूकम्प गएको बताएका छन् । यो ७:३७ सम्मको मापन हो । उनले भूकम्प गएको ७२ घण्टासम्म साना साना झट्का जाने सम्भावना भएको बताए । केन्द्रको मापन अनुसार शनिबार ११:५६ मा गोर्खालाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टरको भूकम्प गएको बताए । त्यसपछि लगातार गोर्खा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उनले ७२ घण्टासम्म साना झट्का महसुस हुने भन्दै सचेत रहन आग्रह गरेका छन् ।