«

»

शान्ति समिति चितवनको संयोजकमा अविनाश

362719943631चितवन, बैशाख ९,

स्थानीय शान्ति समिति चितवनको संयोजकमा एमाओवादीका नेता घनश्याम दाहाल ‘अविनाश’ले जिम्मेवारी पाएका छन् । समितिको बुधबार सम्पन्न वैठकले दाहाललाई संयोजकमा चयन गरेको हो । समितिमा संयोजकको पदावधि छ महिना रहने व्यवस्था छ । यसअघि समितिको संयोजकमा एमालेबाट शान्ति समितिमा प्रतिनिधित्व गरेका तेजेन्द्रबहादुर खड्का थिए । वैठकमा खड्काले एमाओवादीका दाहाललाई संयोजकको पद हस्तान्तरण गरे ।

शान्ति समितिमा दाहाल ११ औँ संयोजक हुन् । यसअघि एमाओवादीका मधुसुधन सापकोटा, एमालेका कृष्णभक्त पोखरेल, नेकपा–माओवादीका भूमिश्वर कँडेल, नेपाली काँग्रेसका देवेन्द्र गुरुङ, मालेका तबहादुर विक, राष्ट्रिय जनमोर्चाका पुष्पकमल सुवेदी, राप्रपा नेपालका बद्रि तिमल्सिना, राप्रपाका विष्णु वाग्ले, नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ र एमालेका तेजेन्द्रबहादुर खड्काले क्रमशः संयोजकको नेतृत्व सम्हालिसकेका छन् ।

वैठकमा पदभार ग्रहण गर्दै संयोजक दाहालले शान्ति समितिको सान्दर्भिकता र आवश्यकता अनुसार थप भूमिकासहित यसको गतिविधि बढाइने बताए । शान्ति समितिलाई अझै क्रियाशिल र थप भूमिका प्रदान गरेर द्वन्द्व समाधानको बाटो पहिल्याउनुपर्ने पनि दाहालको भनाइ थियो । विगतका कामलाई निरन्तरता दिँदै सबैको सल्लाह अनुसार शान्ति समितिलाई थप सक्रिय बनाइने वैठकमा संयोजक दाहालले प्रतिबद्धता व्यक्त गरे । दाहालको सफल कार्यकालका लागि वैठकमा शान्ति समितिका पदाधिकारीहरुले शुभकामना व्यक्त गरेका थिए ।  
कार्यक्रममा पूर्व संयोजकहरु तेजेन्द्रबहादुर खड्का, जितनारायण श्रेष्ठ, बद्रि तिमल्सिना, विष्णु वाग्ले, पुष्पकमल सुवेदी र भूमिश्वर कँडेल थिए । यसैगरी शान्ति समितिका सदस्यहरु भिमबहादुर कार्की, बालकृष्ण पौडेल, हरिप्रसाद पोखरेल, मुकुन्दराज दहाल, राजेन्द्र पौडेल, रुक्मिणी पौडेल, माया नेपाली लगायतले पनि दाहाललाई शुभकामना व्यक्त गर्दै शान्ति समितिको आगामी भूमिकाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।   
यसैबीच शान्ति तथा पुननिर्माण मन्त्रालयले चितवनसहितका पाँचवटा जिल्लाका शान्ति समितिलाई उत्कृष्ट जिल्लाका रुपमा मूल्याँकन गरेको छ । शान्ति समितिले विगतमा गरेका गतिविधि र सक्रियताका आधारमा चितवनसहितका पाँच जिल्लालाई उत्कृष्ट जिल्लाका रुपमा घोषणा गरिएको निवर्तमान संयोजक तेजेन्द्रबहादुर खड्काले जानकारी दिए । मन्त्रालयले चितवनसहित सुनसरी, गोरखा, सुर्खेत, कञ्चनपुरलाई उत्कृष्ट जिल्ला घोषणा गरेको हो । उत्कृष्ट जिल्ला भएवापत मन्त्रालयले थप एक लाख रुपैयाँको कार्यक्रम गर्न जिल्लालाई स्वीकृति दिएको पूर्व संयोजक जितनारायण श्रेष्ठले बताए । श्रेष्ठ र खड्काले शान्ति समितिको संयोजन गरेको अवधिलाई आधार मानेर मन्त्रालयले जिल्लालाई उत्कृष्ट मूल्याँकन गरेको हो ।